बन्दीपुरमा मेलमिलाप सम्बन्धी प्रशिक्षण

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको न्यायीक समितिले मेलमिलापकर्ता, वडा अध्यक्ष, वडा सचिव तथा स्थानीय नागरिक अगुवाहरूलाई मेलमिलापसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक पञ्चमाया गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सम्बोधन गरेका थिए ।
अध्यक्ष थापाले स्थानीय तहमा मेलमिलाप प्रक्रियाको महत्त्वलाई जोड दिए । उनले साना–ठूला विवादहरूलाई कानुनी प्रक्रियामा लैजानु अघि मेलमिलापमार्फत समाधान गर्नु समय र स्रोतको बचत मात्र होइन, सामाजिक सद्भाव कायम गर्ने मूल आधार भएको बताए ।
उपाध्यक्ष पञ्चमाया गुरुङले मेलमिलाप प्रक्रियाले महिलालगायत समुदायका आवाजलाई न्यायिक प्रक्रियामा प्रभावकारी बनाएको बताइन् । उनले भनिन्, ‘स्थानीय विवादहरूलाई सुल्झाउन मेलमिलाप सबैभन्दा सहज र शान्तिपूर्ण उपाय हो । हामी मेलमिलापकर्तालाई आवश्यक तालिम र सहजीकरणका लागि निरन्तर प्रयासरत छौ ।’
कार्यक्रममा तनहुँ जिल्ला अदालतका न्यायधीश कमलराज बिष्टले मेलमिलाप प्रक्रियाबारे कानुनी पृष्ठभूमि, अधिकार र व्यावहारिक पक्षमा सहभागीहरूलाई विस्तृत जानकारी गराए । उनले भने, ‘मेलमिलाप भनेको केवल सम्झौता होइन, यो समुदायमा पुनःसंयोजन र आपसी विश्वासको पुनःनिर्माण प्रक्रिया हो । यसको सफल कार्यान्वयनका लागि कानुनी ज्ञानसँगै समवेदना र निष्पक्षता जरुरी रहन्छ ।’
कार्यक्रममा आत्मदेव जोशी र राजेश कुमार कटवाल, जिल्ला न्यायाधिवक्ता खेमराज पाठक, श्रेष्तेदार नन्दप्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, वडा अध्यक्षहरू, वडा सचिवहरू, मेलमिलापकर्ता, नागरिक अगुवा तथा अन्य सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले मेलमिलाप प्रक्रियामा आउने व्यवहारिक समस्याहरू, समाधानका उपायहरू र कानुनी पहुँचको विषयमा प्रश्नोत्तर समेत गरेका थिए ।










