व्यास नगर समता विद्यालयमा शुभकामना आदानप्रदान

दमौली : तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो ।
नगरप्रमुख न्यौपानेको विशेष इच्छाशक्ति र प्रतिबद्धताले विद्यालयको स्थापनामा गरी सञ्चालनमा ल्याइएको हो । उनको लामो शैक्षिक अनुभव र सामाजिक जिम्मेवारीप्रतिको गहिरो समर्पणका कारण नै व्यास नगरपालिकाका विपन्न र अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा र आवासको व्यवस्था गर्न सहज बनेको छ ।
नगरप्रमुख न्यौपानेले भने, “म आफैं शिक्षा क्षेत्रबाट आएको भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो विद्यालयको स्थापना गरेको हुँ ।”
हाल विद्यालयमा ५५ जना विद्यार्थीहरू अध्ययनरत छन्, जो सबै आर्थिक रूपमा कमजोर र अभिभावकविहीन बालबालिका हुन्। ती विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक खर्च, आवास, र भोजनको व्यवस्था व्यास नगरपालिकाले गरिरहेको छ ।
नगरप्रमुख न्यौपानेले विद्यालयलाई थप सशक्त बनाउन र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।
उपप्रमुख इन्दिरा दरैले विद्यालयको महत्व र यसको उज्ज्वल भविष्यप्रति सकारात्मक धारणा व्यक्त गरिन् ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद नौपाने, शिक्षा अधिकृत नवीन पराजुली, शिक्षक, स्थानीय समाजका अगुवाहरू, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।










