आदिकविमा गणितको शैक्षिक सामग्री निर्माण कार्यशाला

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा गणितको शैक्षिक सामग्री निर्माण कार्यशाला गरिएको छ । क्याम्पसको शिक्षाशास्त्र विभाग र क्याम्पसमा गणित विषय अध्ययनरत विद्यार्थीहरूको साझा संस्था एविसि गणित विद्यार्थी र्सकलको संयुक्त आयोजनामा शनिबार उक्त कार्यशाला गरिएको हो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कार्यशालालाई सम्बोधन गर्दै नेपालका विश्वविद्यालय र क्याम्पसहरूमा गणित विषयको अध्ययन गर्ने विद्यार्थीहरूको घट्दो संख्याले गणित विषय शिक्षकको जनशक्तिको निकट भविष्यमा हुने चरम अभावलाई संकेत गर्ने बताए। उनले क्याम्पसले विद्यालय स्तरमा गणितको अध्ययनलाई सहज र गुणस्तरीय बनाउन आफ्नो विद्यार्थीहरूका माझ महत्वका साथ तालिमका कार्यक्रमहरू अगाडि ल्याउनुपर्ने सुझाए ।
आदिकवि भानुभक्त क्याम्पसले आफ्ना गणित विषयका विद्यार्थीहरूलाई आयोजना गरेको र भविष्यमा गर्ने यस्ता तालिमले भावीदिनहरूमा गणितका शिक्षक उत्पादन गर्ने र समुदायमा गणित विषयको अध्ययनमा आकर्षा थप्ने उनले बताए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष खर सिं दरैले विद्यार्थीहरूको ज्ञान सिप क्षमता अभिवृद्धिका लागि क्याम्पस सञ्चालक समितिले स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए ।
क्याम्पसको शिक्षाशास्त्र विभागका प्रमुख सहायक प्राध्यापक गजेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले कार्यशालामा सहभागी विद्यार्थीहरूले विद्यालय स्तरमा कक्षागत रुपमा गणित विषय अध्ययन अध्यापनमा प्रयोग गरिने शैक्षिक सामग्रीहरूका किसिम र त्यसको निर्माणको विधि, ती सामग्रीहरूको उपयोगिता र त्यसको निर्माणमा प्रयोग हुने स्थानीय कच्चा पदार्थका बारेमा प्रयोगात्मक शैलीमा अवधारणा, ज्ञान र सीप सिकाइने बताए ।
विद्यार्थीहरूले तयार गरेको शैक्षिक सामग्रीलाई आगामी दिनमा विद्यालय शिक्षामा उपयोग गर्न विद्यालयहरूलाई उपलब्ध गराउने व्यवस्था क्याम्पसले मिलाउने भएको छ । हाल गण्डकी प्रदेशका आधा दर्जनभन्दा पनि कम संख्या क्याम्पसहरूमा पाँच दर्जनभन्दा पनि कम विद्यार्थीहरू स्नातक तहमा गणित विषयको अध्ययन गर्दै आइरहेका छन् ।
क्याम्पसले विद्यार्थीहरूमा गणित विषयको अध्ययन अध्यापन सीपमा निखार ल्याउन गणित विषयको शैक्षिक सामग्री निर्माणका लागि वर्षमा ४ वटा यस्ता कार्यशालाहरू सञ्चालन गर्ने कार्यक्रम तय गरेको हड्खलेले जानकारी गराए । यस कार्यशालाले स्नातक तहमा गणित विषय अध्ययनरत विद्यार्थीहरूलाई गणितका शैक्षिक सामग्रीको निर्माण र प्रयोगमा काबिल बनाउने लक्ष्य राखेको छ । कार्यशाला विद्यार्थी र क्याम्पसको संयुक्त लगानीमा सञ्चालन गरिएको छ ।
कार्यशालामा ४५ जना विद्यार्थी र ५ जना गणित विषयका प्राध्यापकहरूको सहभागिता रहेको छ । कार्यशालामा क्याम्पसका प्राध्यापकहरूले शैक्षिक सामग्री निर्माणको सहजीकरण गरेका छन् भने, कार्यशालामा विद्यार्थीहरूलाई १० समूहमा विभाजन गरिएको छ। यस कार्यशालामा आदिकवि भानुभक्त माध्यमिक विद्यालयका कक्षा १० का पाँच विद्यार्थीहरू पनि सहभागी रहेका छन् ।