तनहुँ प्रहरीद्वारा चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो । फरार प्रतिवादी पक्राउ अभियान विगत दुइ वर्षदेखि सञ्चालित छ ।

प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको चार महिनामा १५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फछर्योट भएको र १०२ मुद्दा फछर्योट हुन बाँकी छ । प्रहरीले यसअवधिमा विभिन्न मुद्दाका ८९ जनालाई पक्राउ गरेकामा एक जना फरार छ । पक्रिएकामध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएको प्रहरीले जनाएको छ । चार महिनाकै अवधिमा ११ जनालाई लागुऔषधसहित पक्राउ परेका र उनीहरुबाट ११४ थान डाइजेपाम, ११४ थान फेनरागन, ११३ थान नुफिन र १० किलो ८५५ ग्राम गाजा बरामद भएको छ । प्रहरीले सोही अवधिमा १५५ रोपनी क्षेत्रफलमा उम्रिएका २२ हजार ३०७ गाजाका बोट नष्ट गरेको जनाएको छ । पाँच वटा जुवा मुद्दामा ६८ जनालाई पक्राउ गरी रु ११ लाख ७५ हजार ९१० नगद बरामद गरेको प्रहरीले कोरोना भाइरस नियन्त्रणका लागि तपाईको मास्क खै अभियानअन्तर्गत ४७ वटा कार्यक्रममार्फत नौ हजार ५३५ लाई मास्क वितरण गरेको थियो । अवैध नदीजन्य पदार्थ नियन्त्रणतर्फ चार महिनाको अवधिमा एक डोजर, दुइ स्काभेटर, दुइ जेसिबी, दश टिपर र ३७ ट्रयाक्टर गरी ५२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर रु चार लाख ७६ हजार ५०० जरिवाना असुल गरिएको पनि बताइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker