सिमलताल पहिरोः बेपत्तामध्ये १३ वटा शव भेटिए

नवलपुर : चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चारवटा शव भेटिएका जानकारी दिनुभयो । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । आज यहाँ चारवटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

आज बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै आजै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताउनुभयो । माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गर्नुभएको थियो । माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ख– २४९५ र परियार वीरगञ्जबाट काडमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ख– १५१६ नम्बरको बसमा सवार यात्रु भएको जनाइएको छ ।

शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिनुभयो । अन्सारी वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रु भएको उहाँले बताउनुभयो । यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको सोमबार बिहान पहिचान भएको छ ।

गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गर्नुभएको थियो । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुनुहुन्छ । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उहाँका बुवा इस्लम मियाले पहिचान गर्नुभएको छ । मिया गणपति डिलक्समा काठमाडौँबाट गौर जाँदै हुनुहुन्थ्यो ।

पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ ।

हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँँच्न सफल भएका थिए । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker