तनहुँमा जग्गाको पुनः नापी प्रक्रिया अघि बढाउन व्यास नगरपालिकाको माग
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले जग्गाको पुनः नापी प्रक्रिया अगाडि बढाउन माग गरेको छ । तनहुँ जिल्लामा बिगत २९/३० सालमा भएको जग्गा नापीपछि थप जग्गा नापी नभएकाले अन्य पालिकाहरुसंग समेत समन्वय गरी पुनः नापी प्रक्रिया अघि बढाउन नेपाल सरकारसँग माग गर्ने भएको हो ।
व्यासको कार्यपालिका बैठकले नगरपालिका भित्र नापी प्रक्रिया चलिरहेको भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापी सम्बन्धमा तनहुँ जिल्ला भूमी आयोगका अध्यक्ष रामचन्द्र अधिकारी, मालपोत कार्यालय तनहुँका प्रमुख केशवराज सुवेदी, नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहसँग अन्तरक्रिया गरी अब नापी प्रकृया अघि बढाउँदा भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई प्राथमिकतामा राख्ने भएको छ ।
यस्तै, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको क्षेत्रगत वर्गीकरण अनुसार व्यास नगरपालिकाका कुल ७८ हजार ९३९ जनसंख्या रहेको देखाइएको कार्यापालिका बैठकमा जानकारी गराइएको थियो ।
व्यासको वडा नं. ६, ७, ८, ९, ११, १२, १३ र १४ समेत गरी आठ वडा ग्रामीण वडा रहेका र यी वडाहरुमा ३७.५० प्रतिशत मानिसको बसोबास रहेको बताइएको छ ।
यस्तै, वडा नं ५ र १० अर्ध शहरी वडामा १९.३५ प्रतिशत र वडा नं. १, २, ३, ४ शहरी वडामा ४३.१४ प्रतिशत मानिसको बसोबास रहेको विवरण कार्यपालिकामा पेश गरिएको थियो ।
आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट बनाउँदा नगरपालिकाले वडामा रहेको जनघन्त्वलाई आधारमानि समतामुलक बजेट कार्यक्रम तर्जुमा गर्ने निर्णय कार्यापालिका बैठकले गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को लागि पारित रु. १ अरब ६८ करोड ९१ लाख २७ हजार बजेट मध्ये हालसम्म ३८.८२ प्रतिशत आय प्राप्त भई २४.३१ प्रतिशत व्याय भएको बताइएको छ ।
बजेट तर्जुमा समिति, राजश्व परामर्श समितिको संशोधित प्रस्ताव अनुसार आ.ब. २०८०/०८१ का लागि रु. १ अरब ६७ करोड ६६ लाख २७ हजार नगर सभामा पेश गर्ने निर्णय कार्यापालिका बैठकले गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतमा बसेको बैठकले विधायन समितिबाट प्रस्तावित शिक्षा ऐन लगायत विभिन्न ऐनको संशोधन प्रस्ताव नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।
नगर सभामा प्रस्ताव गरिने विभिन्न प्रस्तावहरुलाई मस्यौदा गरी पेश गर्न जीवन गुरुङ ‘कुमार’को संयोजक रहने गरी प्रस्ताव समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा कृष्ण प्रसाद न्यौपाने, चन्द्र माया परियार, सुशिला दुरा, रनसिंह नेपाली रहेका छन् ।










