पर्यटन र दिगो विकास, सम्भावना र चुनौती विषयक अन्तरक्रिया
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले बन्दिपुरमा पर्यटन र दिगो विकास, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । बन्दिपुर पर्यटन विकास समिति सहकार्यमा गाउँपालिकाले पर्यटकीय सम्भावनाका र चुनौतीका विषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया गरेको हो ।
‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पूर्वाधार समृद्ध बन्दिपुर गाउँपालिका निर्माणको मुल आधार’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

गाउँपालिकामा स्थानीय निर्वाचनबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसंगै गाउँपालिकाको समग्र पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धनका सम्भावना र चुनौतीका विषयमा गाउँपालिकाका पर्यटन व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
पर्यटन व्यवसायीहरुसंग हातेमालो गरी बन्दिपुरको समग्र पर्यटन क्षेत्रको विकासमा अगाडि बढ्न गाउँपालिका तयार रहेको र यस क्षेत्रको सम्भावना र चुनौतीका विषयमा समन्वय र सहकार्य गर्न अध्यक्ष थापाले आग्रह गरे ।

यस्तै, बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि ऐतिहासिक सम्पदाको संरक्षणमा गाउँपालिकाले ध्यान दिनुपर्ने बताए । उनले बन्दिपुरमा निर्माण गरिने कुनै पनि पूर्वाधार पर्यटन र वातावरण मैत्री बनाउन आवश्यक रहेको बताए ।










