आँवुखैरेनीका अध्यक्षको पहिलो निर्णय : “सामाजिक सुरक्षा भत्ता टोलटोलमा पुर्याउने, निःशुल्क एम्बुलेन्स सेवा”
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले पदभार ग्रहणसँगै महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले गाउँपालिका भित्र छ वटै वडामा सामाजिक सुरक्षा भत्ता टोलटोलमा बितरण गर्ने, गर्भवती महिला, ६० बर्ष नाघेका जेष्ठ नागरिक, आकष्मिक बिरामी, दर्ीघरोगी असहाय, अशक्त लाई पनि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् ।
यस्तै, आबश्यक परेको खण्डमा गाउँपालिका अध्यक्ष ले प्रयोग गर्ने सवारी साधनलाइ समेत बिरामी बोक्नको लागी निशुल्क प्रयोग गर्न दिने उनले घोषणा गरेका छन् । गाउँपालिका सहित सबै वडा कार्यलयमा सेवामैत्री निर्माणको लागि कार्यलय जाने सेवाग्राहीलाई सफा र शुद्ध चिसो तातो खानेपानी को ब्यब्स्था गर्ने, कार्यलय परिसरमा १ जना कर्मचारी सहितको हेल्पडेक्स स्थापना गरी सेवाग्राहीलाइ सहज बनाउने बताएका छन् ।
नवनिर्वचित अध्यक्षले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सडक तथा पुर्वाधार, कृषि, खेलकुद लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धताका साथ चुनावमा होमिएका थिए । गाउँपालिकामा करिव ९ हजार २७८ मत खसेकोमा चुमानले ३ हजार ९४० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत प्राप्त गरे । चुमानले १ हजार ७१० मतान्तरले थापालाई पराजित गरेका हुन् ।










