तनहुँमा कोभिड-१९ संक्रमितको उपचारका लागि समन्वयात्मक भूमिका निर्वाह गरिने
तनहुँमा ३३२ जना संक्रमित मध्ये ३२ जना निको भए, २९७ जना सक्रिय संक्रमित, ३ जनाको मृत्यु, ७ जनाको आइसोलेशनमा उपचार हुँदै

- भञ्ज्याङ समाचारदाता/दमौली
पछिल्लो समय दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तनहुँमा पनि ह्वात्तै बढ्को छ। कोरोना भाइरस संक्रमण न्युनिकरण र संक्रमितको उपचारका लागि पर्ने आवश्यक तयारी तथा व्यवस्थापनका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठले संक्रमितको उपचार व्यवस्थापनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने योजना बनाएका छन् ।
संक्रमित उपचारका लागि आइसोलेशन कक्ष, आइसियु कक्ष, अक्सिजन सिलिन्डरको व्यवस्थापन संगसंगै गम्भिर प्रकृतिका संक्रमितहरुलाई अस्पतालसम्म ल्याउनका लागि सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र अस्पतालका चिकित्सकबिच समन्वय गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी गराएका छन् ।
उनले भने, ‘संकट व्यवस्थापन केन्द्रको बैठकले आफ्ना पालिकामा रहेका संक्रमितहरुसंग स्वास्थ्य शाखा प्रमुख निरन्तर सम्पर्कमा रहने र संक्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लैजानुपर्दा सम्बन्धित अस्पतालका प्रमुखसंग स्वास्थ्य शाखाले समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
स्थानीय पालिकाका, पालिकाका स्वास्थ्य शाखा प्रमुखले अस्पतालका प्रमुखहरुसंग प्रभावकारी रुपमा समन्वय नगर्दा भानु नगरपालिकाका एक संक्रमित पुरुषले आइतबार दमौली अस्पतालको गेटमै एम्बुलेन्स भित्र ज्यान गुमाउनु परेको छ । आगामि दिनमा यस्ता घटना नदोहोर्याउन र संक्रमितलाई सहज रुपमा उपचार सेवा प्रवाह गर्नका लागि सम्बन्धित सरोकारवाला निकाय, व्याक्तिले समन्वयत्वमक भूमिका खेल्नुपर्ने देखिएको छ ।
यस्तै, बैठकले जिल्लाका अस्पतालमा उपचार गराउने सम्बन्धमा अस्पतालमा उपलब्ध सेवा र शैय्यालाई मध्यनजर गरी पठाउने एवं सबै स्थानीय तहमा रहने स्वास्थ्य संस्थाका आइसोलेशनमा विरामीको अवस्था र दिनुपर्ने सेवाको आधारमा संक्रमतिको उपचारको प्रवन्ध गर्ने निर्णय गरिएको छ । यदि संक्रमितलाई थप उपचारका लागि पोखरा तथा अन्य अस्पतालमा पठाउनु पर्दा स्वास्थ्य कार्यालय तनहुँका प्रमुखसंग समन्वय गरी पठाउनुपर्ने व्यवस्था गरिएको प्रजिअ आचार्यले बताए ।
जिल्लाका अधिकांश कोरोना भाइरस संक्रमितहरु आवश्यक सुरक्षा सावधानी अप्नाएर होम आइसोलेशनमै बस्दै आएका छन् । जिल्लाबाहिरा तथा अन्य देशबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइन तथा संस्थागत क्वारेन्टाइमा बस्दै आएका छन् । यसरी होम आइसोलेशनमा बस्दै आएका संक्रमित र क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे नगरेको समयसमयमा अनुगमन गर्ने र मापदण्ड पालना नगरेको पाइएम कानून अनुसारको कारवाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्न सबै पालिकालाई आग्रह गरिएको छ ।
यस्तै, स्थानीय तह अर्न्तर्गत रहेका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र संक्रमितलाई जुनसुकै बेला अस्पताल लैजानु पर्दा सम्बन्धित स्वास्थ्य शाखाका प्रमुखको निर्देशनमा एम्बुलेन्स चल्ने व्यवस्था मिलाउन व्यवस्थापन केन्द्रले सम्पुर्ण पालिकालाई अनुरोध गरेको छ। यस्तो अवस्थामा पनि स्थानीय तह अर्न्तर्गत सञ्चालित एम्बुलेन्सले अटेर गरेमा कानुन बामोजिमा कारवाही हुने केन्द्रले जनाएको छ ।
कोरोना भाइरस संक्रमितहरु दिनानुदिन बढ्दै जानेक्रममा उनीहरुको व्यवस्थापनका लागि १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सकेसम्म धेरै आइसोलेशन बेडको प्रवन्धन गर्न स्थानीय कार्यपालिकासंग समन्वय गर्ने केन्द्रबाट निर्णय भएको प्रजिअ आचार्यले बताए । कोरोना संक्रमितको उपचारदेखि लिएर शव व्यवस्थापनका लागि प्रत्येक संस्थामा प्रयाप्ता स्वास्थ्य सामाग्री र औषधिको प्रबन्ध गर्न आग्रह गरिएको छ ।
प्रत्येक स्थानीय तहले आ-आफ्नो क्षेत्रमा संक्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्न आवश्यक पर्ने सवारी साधन, शव वाहन, पिपिई सेट, डेडवडी व्याग लगायतका सम्पुर्ण सामाग्रीको व्यवस्था स्थानीय तहले गर्ने कानूनी प्रवन्ध भएकाले आग्रिम तयारीमा रहन व्यवस्थपन केन्द्रले आग्रह गरेको छ ।
यस्तै, पालिकामा भएको स्वाब संकलन, संक्रमितको अवस्था, संख्या र अन्य महत्वपूर्ण विषयको सूचना यथासमयमै स्वास्थ्य कार्यालय तनहुँलाई जानकारी गराउने र स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालय र अन्य सम्बन्धित निकायमा समयमै सूचना दिन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा सोमबार भानुमा १, व्यासमा १७, शुक्लागण्डकीमा १, भिमादमा २ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसंगै जिल्लाका ३३२ जनामा संक्रमण पुष्टि भएकोमा ३२ जना निको भएका छन् भने २९७ सक्रिय संक्रमित रहेका छन् । ७ जनाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा उपचार भइरहेको छ भने अन्य संक्रमितहरु होम आइसोलेशनमा बस्दै आएका छन् । यस्तै कोरोना संक्रमणबाट तनहुँमा बैशाख महिनामा ३ जनाको मृत्यु भएको छ ।










