विज्ञान विषयका विद्यार्थीहरु बीच अन्तरक्रिया

- भञ्ज्याङ न्युज
तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुबीच अन्तरक्रिया गरेको छ । कक्षा ११ मा मुख्य विषय विज्ञान लिएर अध्ययन गरेका विद्यार्थीहरुलाई परिमार्जीत पाठ्यक्रमका विषयमा जानकारी गराउने उद्देश्यले उक्त अन्तरक्रिया गरिएको हो ।
कक्षा ११ र १२ का कार्यक्रम संयोजक चिरन्जिवी वस्नेतको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा कक्षा ११ को परिमार्जीत पाठ्यक्रम अनुसार विज्ञान विषय सरहमा गणित अनिवार्य पठनपाठन गर्ने सर्न्दर्भमा विद्यार्थीहरुको राय संकलन गरिएको थियो ।
छलफलमा सहभागी ‘वायो’ र ‘फिजिकल’ दुबै समुहका सबै विद्यार्थीहरुले गणित विषयलाई अनिवार्य विषयको रुपमा अध्यापन गर्ने क्याम्पसको प्रस्तावलाई स्वागत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागि विद्यार्थीले उठाएका जिज्ञासा तथा नयाँ पाठ्यक्रमका विषयमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सहजीकरण गरेका थिए ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा विज्ञान विषयका सहायक प्राध्यापकहरु सागर न्यौपाने, प्रकाश गैह्रे र रविन केसीले विज्ञान समूहमा गणित विषय अध्ययन गर्दा स्नातक तहमा मिल्न सक्ने अध्ययनका अवसरको विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।