भानु-१३ को चन्द्रावतीमा धार्मिक अनुष्ठान तथा पितृ मोक्ष सत्संग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिका-१३, चन्द्रावती साविक सतिस्वांरा-२ अवस्थित प्राचिन एवं ऐतिहासिक श्री नैनेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणको सहयोगार्थ धार्मिक अनुष्ठान तथा पितृ मोक्ष सत्संग तथा धार्मिक महोत्सव तथा ज्ञान महायज्ञ २०७८ सञ्चालन गरिने भएको छ । उक्त धार्मिक कार्यक्रमका विषयमा जानकारी गराउन सोमबार दमौलीमा पत्रकार सम्मेलन गरी असोज १४ देखि २६ गतेसम्म आयोजना हुने जानकारी गराइएको छ ।
करिब दुइ सय वर्ष पुराना यस मन्दिर पछिल्लो समय भग्नावशेष बन्दै गएकाले मन्दिरको जिर्णोद्वार गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले धार्मिक अनुष्ठान तथा पितृ मोक्ष सत्संग कार्यक्रम आयोजना गरिएको मुल आयोजक समितिका आर्थिक संयोजक देशबन्धु खड्काले जानकारी गराए । धार्मिक कार्यक्रमबाट करिब एक करोड रुपैयाँ बराबरको दान संकलन गरी मन्दिुरको जिर्णोद्वारमा खर्च गरिने उनले बताए ।
यस्तै, उक्त पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले धार्मिक तथा ऐतिहासिक महत्व बोकेका मठमन्दिरको संरक्षण र प्रचार प्रसार गरी स्थानीयको आर्थिक उपार्जनको पाटो जोडन् ध्यान पुर्याउनु पर्ने बताए ।
उक्त धार्मिक अनुष्ठान तथा पितृ मोक्ष महोत्सव तथा ज्ञान महायज्ञमा पण्डित श्री कपिल देव भट्टले कथा वाचन गर्ने बतइएको छ । साथै महापुराण अवधिभर सामुहिक पितृ तर्पण, अन्नदान, भुमिदान, ब्राहृमण भोजन र पितृको फोटो राखि पुजा गर्न सकिने ज्ञान महायज्ञ मुल समारोह समितिका सचिव कुवेर खनालले बताए । कार्यक्रमको मुख्य आयोजक श्री नैनेश्वर महादेव मन्दिर र सहआयोजकमा चन्द्रावती युवा क्लब एवं नारी विकास आमा समुह रहेका छन् ।










