डेंगु संक्रमणबाट तनहुँका एक पुरुषको मृत्यु, तनहुँमा ५२० जनामा डेंगु संक्रमण

तनहुँ । वर्षायामसंगै तनहुँमा केहीदिन यता डेंगु संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार तनहुँका एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।

डेंगु संक्रमित तनहुँको व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको ईडीसीडीका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी गराएका छन् । मृतक व्यक्तिमा दीर्घरोगको समस्या समेत रहेको बताइएको छ ।

उनका अनुसार यो अगस्ट महिनाको पाँच दिनमा देशभर ११७ डेंगी संक्रमित थपिएका छन् । जनवरीयता डेंगी संक्रमित हुनेको संख्या दुई हजार ३६५ पुगेकोे छ । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

यस्तै, तनहुँमा सोमबारसम्म ५२० जनामा डेंगु संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय तनहुँका शंकर बाबु अधिकारीले बताए । उनका अनुसार तनहुँको सबै भन्दा बढी आँवुखैरेनी गाउँपालिकमा डेंगु संक्रमित रहेका छन् । व्यास नगरपालिकामा पनि दैनिक संक्रमितको संख्या बढ्दै गएको उनले बताए ।

‘केही दिन यता तनहुँमा डेंगु संक्रमितको संख्या बढ्दै गएको हुँदा सबैलाई सावधानि अपनाउन आग्रह गर्दै आएका छौ’, उनले भने, ‘अहिले आँवुखैरेनीमा डेंगु संक्रमितको संख्या धेरै देखिएको छ । गोरखाबाट समेत आँवुखैरेनी अस्पतालमा परीक्षण तथा उपचारका लागि आउने गरेका कारण डेंगु संक्रमितको संख्या बढी देखिएको हो ।’

तनहुँमा गत वर्ष डेंगु संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने करिब ८ हजार जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष ७३ जिल्लामा डेंगु फैलिसकेको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका जिल्लामा डेंगुका बिरामी देखापरेका छैनन् ।

एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । अब डेंगुका बिरामी बढ्नसक्ने महाशाखाको अनुमान छ ।

एडिस एजेप्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।

२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।

सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

२०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।

डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।

ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker