प्रथम ऋषिङ अन्तरपालिका अध्यक्ष कपको उपाधि शुक्लागण्डकीले उचाल्यो
राजकुमार आले (दुलेगौंडा)

तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको ऋषिङ अध्यक्ष कप पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि तनहुँको शुक्लागण्डकी नगरपालिकाले जितेको छ । सोमबार भएको फाइनल खेलमा घिरिङ गाउँपालिकालाई ३-० सोझो सेटमा पराजित गर्दै शुक्लगण्डकी च्याम्पियन बनेको हो ।
फाइनल खेलमा शुक्लागण्डकीले घिरिङलाई २५-२२, २५-१५ र २५-१२ ले हराएको थियो । विशाल ठकुरीको कप्तानीमा मैदान उत्रेको शुक्लागण्डकीले उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । शुक्लागण्डकीले उपाधिसंगै १ लाख ३५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको घिरिङले ८० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
यस्तै, प्रतियोगितामा शुक्लागण्डकीका प्रदिप गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शुक्लागण्डकीकै प्रेम कुमाल वेष्ट स्पाइकर र भिमादका विवश आले वेष्ट लिफ्टर घोषित भए । उनीहरुले क्रमशः एक हजार नगदसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
विजेता टिम तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कप जिल्लास्तरीय भलिबल प्रतियोगितामा पनि विशालकै कप्तानीमा तनहुँ च्याम्पियन बनेको थियो ।