पर्यटनका नाममा हुने भ्रष्टाचार

के.बि मसाल

अहिले जनप्रतिनिधिहरुको मुखैमा झुण्डिएको छ पर्यटनको विकास । सभा गोष्ठी र सेमिनारमा बोल्ने क्रममा पर्यटनको विकास भनेर थाक्दैनन् । आफ्नो स्थानीय तहमा योजना तर्जुमा गर्दा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा बजेट बिनियोजीत गरेका हुन्छन । पूर्वाधारको काम गर्दा भरसक्य अमानतमा नै गर्न खोज्दछन । त्यसपछि काम लगाउदा आफ्नो पार्टीको मान्छे, त्यसमा पनि आफु निकटको नातागोता त्यो नभए आफ्नो वसको मानिसलाई काम दिने गरिन्छ । यो हो नियोजित भ्रष्टाचार । नियम वा कानुनविरुद्ध नैतिक पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम मात्र भ्रष्टाचार नभएर जनप्रतिनिधि अर्थात अधिकार प्राप्त निकायले आर्थीक लेनदेनको रुपमा काम दिने पनि भ्रष्टाचार हो ।

गाउँगाउँमा सिहदरबार पुगेको आभाष नेपाली जनताले गरेसंगै अब पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ भन्ने अपेक्षा सबै नागरिकहरुमा थियो । पर्यटन क्षेत्रको पुर्वाधारको नाममा केही सडक, कृत्रिम ताल पोखरी, मठमन्दिरको मर्मत संभार र अन्य काम पनि भएका पनि छन । तर, के ति निर्माण भएका काम गुणस्तरका छन त ? सडक निर्माण हुन नपाउँदै भत्किन सुरुहुन्छ । निर्माण भएका ताल पोखरीहरुमा तार जाली समेत छैनन् । प्रत्येक वर्षमानिसहरुको मृत्यु हुने गरेको छ। धेरै ठाउँमा बन्न लागेका पूर्वाधार निर्माण कार्य सम्पन्न नहुँदै अलपत्र अवस्थामा रहेका छन ।

यस्ता अनेकौ पर्यटनको क्षेत्रमा भएका पूर्वाधारका कामहरु छन । निर्माण भएका त्यस्ता कामहरुमा न त आम नागरिकहरुको चासो छ, न त विकास निर्माणको अनुगमन गर्ने निकायको ! जनअपेक्षा अनुरुप साँच्चिकै पर्यटन क्षेत्रको विकास भएको छ त ? कतिपय पूर्वाधारका योजनामा नियोजित भ्रष्टाचार हुने गरेको छ । यस्लाई कारवाहि गर्ने कस्ले ? सचेत नागरिकहरुले प्रश्न उठाउन थालेका छन । यसरी भ्रष्टाचार गर्दा कानुनीरुपमा हुनुपर्ने सम्पूर्ण कुराहरु कागजीरुपमा मिलाइएको हुन्छ । खासगरी यसरी भ्रष्टाचार गर्दा परिणाम र गुणस्तरजस्ता कुराहरुबाट कटौती गरी मोटो रकम भ्रष्टाचारको निम्ति छुट्याइएको हुन्छ । नियोजितरुपमा भ्रष्टाचार गर्ने व्यक्तिहरुले मिलाइएका कागजी प्रक्रिया देखाउँदै निर्णयकर्ताहरुलाई सहजै आफ्नो प्रभावमा ल्याई निर्णय गराउने कार्य गर्दछन् । कतिपय निर्णयकर्ताहरु मिलेमतोमै सहभागि हुन्छन् ।

कति नागरिकहरुलाई थाहा नहुन पनि सक्दछ । पर्यटन क्षेत्रको पूर्वाधार विकास निर्माण कामको लागि डोजर र एक्साभेटर आफ्नै गाउँका जनप्रतिनिधिहरुले किनेका छन भनेर ? यदि छैन भने पत्ता लगाउनुस त तपाईको गाउँमा सडक निर्माण गर्न लागेको अथवा खोलामा बालुवा गिट्टी निकाल्न लागेको डोजर र एक्साभेटर कस्को हो ? अहिले निर्माण क्षेत्रमा आवश्यक पर्ने लोडर, क्रेन, रोलर, कम्प्याक्टर, फ्रकलिफ्ट, एक्साभेटर लगायत सम्पूर्ण उपकरण जे आवस्यक पर्दछ सबै जनप्रतिनिधिहरुले छोराछोरी, ज्वाई, भान्जा जस्ता नाता पर्नेहरुका नाममा खरिद गरेका छन् । डोजर र एक्साभेटर नकिन्ने स्थानीय तहमा जनप्रतिनिधिहरु बिरलै भेटिन्छन् । भूमाफियाहरुले खोला किनार कब्जा गर्ने र जनप्रतिनिधिहरु डोजरका मालिक र ठेकेदार भएका छन् ।

जग्गा दलालले खोला कब्जा गर्दा बाढी बस्तिमा पस्न थालेको छ । गाउँमा न्याय दिने जनप्रतिनिधिहरु तिनै दलालसंग मिलोमतो गरेका छन् । पीडित जनताको कुरा जनप्रतिनिधिहरुले सुन्दैनन् । अहिले पर्यटन क्षेत्रको पूर्वाधार विकासको नाममा पहिला सडकलाई योजनामा ल्याउने गरिन्छ । जुन योजना जनताको लागि भन्दा पनि जनप्रतिनिधिहरुको डोजर र एक्साभेटरको लागि हो की भने जस्तो देखिन्छ । अर्को तर्फ डोजर र एक्साभेटरले गर्दा गाउँमा धेरै मानिसहरु बेरोजगार भएका छन् । तर ती वेरोजगारहरुलाई थाहा हुँदैन जनप्रतिनिधिहरुको डोजर र एक्साभेटरले काम गरेको बिल बन्दा उनिहरुले नै काम गरेको किर्ते बिल भरपाई बन्दछ भन्ने कुरा । डोजर र एक्साभेटरको यस्तो अदृष्य आतङ्क छ बिकासको नाममा हुने गरेको भ्रष्टाचार ! यो कस्ले छानबिन गर्ने ?

डोजर प्रयोगलाई मात्र विकास ठान्ने र कतिपय जनप्रतिनिधिले त डोजर र एक्साभेटर आफैं किनेर विकास बजेटमै हालीमुहाली गरेका छन् । तर विकासका नाममा अन्धाधुन्ध डोजर प्रयोग गरेको असर अहिले एकपछि अर्को गरी देखिन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि त डोजरे विकास झनै मौलाएको छ । अहिलेको विपद र प्रकोपको कारण पनि अधिकांश ठाउँमा डोजर र एक्साभेटर भएको छ । डोजर र एक्साभेटरले गर्दा प्रत्येक वर्ष बर्खायाम सुरु भएसंगै देशका विभिन्न ठाउँमा बाढिपहिरो र डुबान जस्ता प्रकृतिक विपदतीबाट ठुलो धनजनको क्षति हुने गरेको छ । अव्यवस्थित ढंगले स्काभेटर प्रयोग गरेर सडक निर्माण गर्दा ठाडो जमिनमा छिटै पहिरो जाने गरेको छ । तर राज्यलाई त्यो कुरा थाहा हुँदाहुँदै पनि जथाभावी डोजर र एक्साभेटर चलाउन भने रोकिएको छैन । जनप्रतिनिधिहरुले विकासको नाममा गर्ने भ्रष्टाचार डोजर र एस्काभेटर एउटा उदहारण मात्र हो । भ्रष्टाचार हुनुमा सर्वव्यापी र सर्वस्वीकार्य एउटै प्रकृतिका कारणले मात्र हुँदैनन् ।

भौगोलिक क्षेत्र, समाज, कार्य क्षेत्र, व्यक्ति, आर्थिक एवं सामाजिक परिवेश आदिले भ्रष्टाचारको वातावरण तयार भएको हुन्छ । त्यस्तै देशको शासकीय स्वरुप एवं स्वभाव र प्रशासनिक कार्यपद्धत्ति र संस्कारले समेत भ्रष्टाचारको अवसर सिर्जना भएका हुन्छन् । स्थानीय तहको सन्दर्भमा भ्रष्टाचार हुनुमा केही कारण सूचिबद्ध गर्न सकिन्छ । ती हुन्न गरिबि, सम्पन्न र विपन्नबीच चर्को अन्तर । गैरआर्थिक आर्जनविरुद्धमा कमजोर सरकारी निगरानी, फजुल खर्च, धन हुनेलाई सम्मान गर्ने सामाजिक मान्यता, भ्रष्टाचारविरुद्ध सहकार्यको कमि, साथै भ्रष्टाचार नियन्त्रणका लागि सोच, नीति, योजना, रणनीतिको नियमितताका लागि राजनीतिक सहमति र प्रतिबद्धताको कमी पनि अर्को एउटा कारण हो । सबैभन्दा मुख्य कारण भ्रष्टाचारमा राजनीतिक नेतृत्वकै सहभागिता हो । राजनीतिक दलहरुको आडभरोसाकै कारण भ्रष्टाचारीहरु पक्राउ नपर्ने समस्या मुख्य हो । के हो भ्रष्टाचार ? भ्रष्टाचार भन्नाले दुइ शब्द भ्रष्ट र आचारको सन्धि हो । जहाँ भ्रष्टको अर्थ खराब र आचारको अर्थ आचरण अर्थात बानी-व्यवहार हुन्छ । त्यसैले भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । समग्रमा भ्रष्टाचारलाई पतीत आचारण र दूषित मर्यादाका रुपमा व्याख्या गर्न सकिन्छ । त्यसैले भ्रष्टाचार गर्नु जघन्य अपराध हो । स्थानीय पालिकाहरुमा भ्रष्टाचारको जरो यतिसम्म तल पुगेर संस्कार र परम्परा बनेको छ कि मानौँ हरेक जनप्रतिनिधीहरु भ्रष्टाचार नगरी टिक्नै सक्दैन ।

सार्वजनिक अधिकारप्राप्त व्यक्तिले अधिकारको दुरुपयोग गरी पर्यटनको क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भ्रष्टाचार हुने गरेको छ । सार्वजनिक सम्पत्तिबाट व्यक्तिगतरुपमा सम्पत्ति आर्जन गर्ने मनसायबाट गरिने भ्रष्टाचार नियोजित भ्रष्टाचार हो । यस्ता भ्रष्टाचारीहरुले आफूलाई प्राप्त सार्वजनिक हितको अधिकार भ्रष्टाचार गर्नमै केन्द्रित गर्दछन् । सार्वजनिक निकायमा हुने सेवा र वस्तुको खरिद प्रक्रियादेखि ठूला-ठूला विकास निर्माणका आयोजना, परियोजना निर्माणसम्मको प्रक्रियामा यस्ता भ्रष्टाचारीहरुले प्रारम्भिक अवस्थाबाट नै भ्रष्टाचार गर्नका निम्ति वातावरण सिर्जना गरिरहेका हुन्छन् । यस्ता कार्यको प्रक्रियामा अपनाइने विभिन्न विधिभन्दा पहिल्यै भ्रष्टाचार गर्नका निम्ति बस्तुको तथा सेवा खरिद प्रक्रियामा प्रतिस्पर्धा गर्न आउने, अयोजना, परियोजना निर्माणमा प्रतिस्पर्धा गर्न आउने कम्पनी प्रतिनिधिसँग मिलेमतो गरी उसैलाई मिल्नेखालको आवश्यक कागजी प्रकृया तयार गर्न लगाइन्छ र उसैमार्फत खरिद गरी भ्रष्टाचार गर्ने गरिन्छ ।

स्थानीय तहमा विकास निर्माणमा सबैभन्दा ठूलो समस्या भनेकै भ्रष्टाचार हो । चाहे पर्यटनको विकासको क्षेत्रमा निर्माण हुन लागेका पूर्वाधार हुन अथवा अन्य विकास निर्माणका काम हुन । अर्को कुरा पनि के साँचो हो भने भ्रष्टाचार आम नागरिकबाट हुने होइन । सार्वजनिक पदासिन व्यक्तिहरुले पदको दुरुपयोग गरेर नीजि लाभ लिने प्रक्रियाको थालनीसँगै शुरु हुन्छ भ्रष्टाचारको श्रृंखला । त्यसैले भ्रष्टाचार अन्य अपराधजस्तो चेतनाको अभावमा हुने होइन । दण्ड सजायको अभावमा मौलाउने अपराध हो । जसले जीवनको अधिकांश समय पढने लेख्ने र चेतना निर्माणमा लगाएको हुन्छ, उसैबाट भ्रष्टाचार हुने गरेको छ । भ्रष्टाचार विरुद्ध कडा नीतिविना सामाजिक चेतना वा अन्य माध्यमबाट भ्रष्टाचार न्यूनीकरण हुन सक्दैन । त्यसो त भ्रष्टाचार न्यूनीकरणमा सचेतनाको भूमिका नै छैन भन्ने होइन, आम नागरिकले भ्रष्टाचार के हो र कसरी हुन्छ भन्ने थाहा पाए भने उनीहरुले र्सार्वजनिक निकायलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्न सक्छन् । तर मुख्य कुरा भ्रष्टाचार पद र पहुँचमा भएकाहरुले नै गर्ने भएकाले उनीहरुलाई कानुनी कठघरामा ल्याउन नसकिएको अवस्था छ । काही भ्रष्टाचारीहरु कानुनी रुपमा समातिए भने पनि पद र पहुँचमा छुटने गरेका छन ।

सामान्यतः भ्रष्टाचारलाई गैरकानुनी क्रियाकलाप, पतीत व्यवहार, भ्रष्ट आचरणका रुपमा बुझने गरिन्छ । गलत सोच एवं पतीत व्यवहारका दृष्टिमा यसलाई कमाउने माध्यमका रुपमा पनि लिने गरिन्छ। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार रिसवत लिने दिने, बिनामूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने, दान, दातव्य, उपहार वा चन्दा लिने, कमिसन लिने, राजस्व चुहावट गर्ने, गैरकानुनी लाभ वा हानि पुर्‍याउने, गलत लिखत तयार गर्ने, गलत अनुवाद गर्नेसम्मलाई भ्रष्टाचारको दायरामा पारेको छ । त्यसका अतिरिक्त सरकारी कागजात सच्याउने, सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्ने, प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्ने, गैरकानुनी व्यापार व्यवसाय गर्ने, नपाएको ओहदा पाएँ भन्ने, झूटा विवरण दिने, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्ने, गैरकानुनी दबाब दिने, गलत प्रतिवेदन दिने, गैरकानुनी रुपमा सम्पत्ति आर्जन गर्ने आदि कसुर गर्ने कार्य भ्रष्टाचार हो । भ्रष्टाचार न्यूनीकरण गर्न कानुनको अभाव छैन । भ्रष्टाचारका सबै स्वरुप र आयामहरुलाई अपराधको रुपमा परिभाषित गरी दण्डनीय बनाउने, भ्रष्टाचार सम्बन्धी कसुरको सम्बन्धमा सुपुर्दगी, पारस्परिक कानुनी सहायता र भ्रष्टाचारजन्य कसुरबाट आर्जित सम्पत्ति फिर्ता गर्ने सम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थाको अभाव छैन । भ्रष्टाचार लगायत अन्य गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति जफत गर्ने कानुन पनि छ । यसरी हेर्दा भ्रष्टाचारीहरुलाई कारबाहि गर्न कानुनको अभाव छैन ।

जबसम्म समाजमा भ्रष्टाचारबाट कमाएको सम्पत्तिको सम्मान गर्ने प्रवृत्ति रहन्छ तबसम्म भ्रष्टाचार पनि कायमै रहन्छ । अर्को तर्फ भ्रष्टाचार उन्मूलन गर्न जनता पनि जागरुक हुनर्ुपर्दछ । सार्वजनिक विषयमा चासो र चियोचर्चो आम नागरिकहरुबाट चासो राख्न आवश्यक छ । स्थानीय तहमा खटिएका कर्मचारीले सामान्यतः प्रत्यक्ष रुपमा घुस माग्ने आचरण नभए पनि सेवाग्राहीको कमिकमजोरी र सेवाग्राहीका सहयोगीका रुपमा आउने मध्यस्थकर्ताबाट भ्रष्टाचारका लागि वातावरण तयार हुने गर्दछ । साथै कार्यालयको कमजोर अवस्थाले पनि भ्रष्टाचारका लागि उपयुक्त आधार हुने गरेको छ । कमजोर अवस्थालाई आधार बनाई कर्मचारी आफ्नो जिम्मेवारीमा सक्रिय नहुने, जिम्मेवारी पन्छाउने, ढिलासुस्ती गर्ने, अनावश्यक प्रक्रिया सृजना गर्ने, गोप्यताका नाममा अन्यौल सिर्जना गर्ने, झूटा सूचना वा आश्वासन दिनेजस्ता काम हुने गर्दछ । जसले सेवाग्राही वा सेवाग्राहीका सहयोगीका रुपमा स्थानीय तहको कार्यालयमा जाने मध्यस्थकर्तालाई भ्रष्टाचारमा संलग्न गर्न बाध्यात्मक अवस्था सृजना हुने गरेको छ ।

पर्यटन विकासको महत्वपूर्ण पक्ष वातावरणसँग गाँसिएको हुन्छ । अव्यवस्थित तथा विनायोजना गरिने पर्यटनको विस्तारले वातावरणको क्षय तथा अन्य मूल्य, मान्यतामा ह्रास ल्याउँछ । त्यसैले पर्यटन विकासमा यस्तो अवस्था सृजना हुन नदिन नीति निर्माणको चरणाबाट नै ध्यान पुर्‍याउन आवश्यक हुन्छ । पर्यटनको कला, संस्कृति, रहनसहन, प्राकृतिक सम्पदा, स्थान विशेषको भौगोलिक, धार्मिक, सांस्कृतिक, सामाजिक वस्तुस्थिति आदिसँग सम्बन्ध रहन्छ । पर्यटन प्राकृतिक वातावरण, ऐतिहासिक, सांस्कृतिक सम्पदाजस्ता कुराहरुसँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । पर्यटनको दिगो विकास यसको उपयोग, प्रयोग र उपस्थितिसँग सम्बन्धित हुन्छ । दिगो पर्यटन विकासको अवधारणाको तीन अन्तरसम्बन्धित पक्षहरु क्रमशः वातावरण, सामाजिक सांस्कृतिक अवस्थिति र आर्थिक स्तर हुन् । दिगो पर्यटनको अवधारणा पर्यावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्थितिमा न्यून प्रभाव पार्दै उपलब्ध साधनको उच्चतम प्रयोग गरी स्थानीय समुदायलाई उच्च फाइदा पुर्‍याउन पर्दछ ।

नेपालमा सबै स्थानीय तहले बिना भ्रष्टाचार पर्यटनको क्षेत्रमा आवश्यक पूर्वाधारको विकास हुन सक्यो भने मात्र दिगो पर्यटन विकास हुन्छ । पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण आधार भौगोलिक पूर्वाधार हो । पर्यटनको क्षेत्रमा गुणस्तरीय पूर्वाधारसहित सेवा दिन सक्नु पर्दछ । पर्यटन क्षेत्रको पूर्वाधार विकासमा भ्रष्टाचार भएन भने मात्र पर्यटनको क्षेत्रको पूर्वाधार राम्रो हुन्छ । आजभोली स्थानीय तहमा हुने भ्रष्टाचारको स्वरुप, शैली, स्वभावमा परिवर्तन भएका छन् । भ्रष्टाचारीहरु मिलिभगत शैलीमा अझ मजबुत र संगठित हुँदै गएका छन् । भ्रष्टाचार नियन्त्रण कार्यमा संलग्न भएका संस्थालाई छल्ने, निष्फल गराउने संगठित प्रयास भएका छन । अब सञ्चारकर्मी, स्थानीय संघसंस्था, नागरिक समाज, बौद्धिक वर्ग भ्रष्टाचार नियन्त्रणका कार्यमा अग्रसर हुनुपर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker