व्यास नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि शुल्क सहितको कार्ड
नगर स्थापनाको ३२ वर्ष बितिसक्दा पनि व्यवस्थित ल्याण्डफिल्डसाइड बनेन

दमौली : तनहुँको व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि शुल्क सहितको कार्ड लागु गरेको छ। नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारीलाई सरसफाई सेवा शुल्कका लागि सदस्यता कार्ड उपलब्ध गराई कार्ड लागु गरेको हो ।
नगरपालिकाले पहिलो चरणमा सरकारी कार्यालयबाट कार्ड लागु गराउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विहीबार शुल्क सहितको सदस्यता कार्ड उपलब्ध गराई सुरुवात गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी गराइन् । उनले भनिन्, ‘फोहरमैला व्यवस्थापन कार्ड पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय तनहुँलाई उपलब्ध गराइएको छ । पहिलो चरणमा सरकारी कार्यालयमा कार्ड वितरण गर्न लागिएको हो ।’
प्रत्येक महिना दुई सय रुपैयाँ राजश्व लिने गरी सरकारी कार्यालयमा सरसफाई शुल्कको सदस्यता कार्ड वितरण गरिने व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैह्रले बताए । उनका अनुसार दोश्रो चरणमा सबै सरकारी तथा गैरसरकारी कार्यालयमा शुल्क सहितको वितरण हुने र तेश्रो चरणमा ब्यक्तिगत आवासमा फोहरमैला व्यवस्थापन निर्देशिका बमोजिम शुल्क निर्धारण गरेर कार्ड वितरण गर्ने तयारी भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ ९२० ख मा भएको व्यवस्थासंगै नगरपालिकाले यो अभियान सञ्चालनमा ल्याएको हो। व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापन निर्देशिका अनुसार दमौली बजार क्षेत्रका उद्योगी, व्यवसायी, आवासीय क्षेत्रका घरधुरीको लगत संकलन गरी शुल्क सहितको सरसफाई कार्ड लागु गर्ने लागिएको छ ।
नगरको बजार क्षेत्रबाट दैनिक उत्सर्जन हुने फोहरमैलालाई सहज रुपमा व्यवस्थापन गर्ने र संकलित फोहरमैलाबाट आम्दानी समेत गर्ने उद्देश्यले शुल्क सहितको सरसफाई कार्ड अभियान सञ्चालन गरिएको उपप्रमुख दरैले बताइन। उनका अनुसार हाल दमौलीमा रहेका सरकारी कार्यालय, वडा नं. १, २, ३, ४ का शहरी क्षेत्रमा वार्षिक रुपमा शुल्क लिएर फोहर उठाउँदै आएको छ ।
‘लगत संकलन र कार्ड वितरणको कार्य पूरा भएपछि नगरपालिकाले बजार क्षेत्रका घरधनी तथा कोठामा बस्नेहरुबाट समेत फोहर उठाए बापत शुल्क लिने तयारी गरिएको छ’, उपप्रमुख दरैले भनिन्, ‘फोहरमैला संकलन गरेबापत उठाइने राजश्वबाट नगरपालिकाले फोहरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको तलबको व्यवस्था गर्ने र बाँकी रहेको रकम थप फोहरमैला व्यवस्थापनका क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ ।’
व्यवस्थित ल्याण्डफिल्डसाइड बनाउन नसकेको व्यास नगरपालिकाले नगरको बजार क्षेत्रबाट दैनिक संकलन हुने फोहरमैलाई वर्गीकरण गरी संकलन गर्दै आएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै रूपमा संकलन गरी व्यवस्थापन गर्दै आएको छ ।
यस्तै, नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले फोहर व्यवस्थापनको अभियानमा सघाउन नगरवासीलाई आग्रह गरेका छन्। न्यौपानेले घरबाट फोहर राख्दा नै कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै राखेर कुहिने फोहरलाई कुहिने गाडीमा र नकुहिने फोहरलाई नकुहिने गाडीमा राखेर सरसफाई तथा फोहर व्यवस्थापनको अभियानमा सहयोग गर्न आग्रह गरेका हुन् ।
स्थापनाको ३२ वर्षसम्म पनि फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नसक्नु कमजोरी भएको भन्दै न्यौपानेले भने, ‘हामीले दीर्घकालीन रुपमा यस व्यवस्थापनका लागि हामी जग्गा खरिदको प्रक्रिया अगाडि बढाइसकेका छौ ।’
नगरपालिकाले सिसा, प्लाष्टिक, कागज जस्ता चिजहरु छुट्याएर त्यसलाई मेसिनले कम्प्रेस गरी केही आम्दानी समेत गरिसकेको उनले बताए। उनले भने, ‘विगतका ३२ वर्षमा व्यास नगरपालिकाले फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न बाँकी रहेको र अनेकौँ समस्या झेल्दै आएको विषय यहाँहरुलाई अवगतै छ । तर हामीले त्यसलाई सामना गर्दै कृष्ण भण्डारी जो फोहर व्यवस्थापनको विज्ञ हुनुहुन्छ र उहाँले धनगढी, वालिङ लगायतका क्षेत्रहरूमा सफलतापूर्वक फोहोर व्यवस्थापन तथा सेग्रीगेसनको काम उदाहरणीय रुपमा सम्पन्न गरिसक्नुभएको छ ।’
फोहरमैला व्यवस्थापनका लागि सामना गर्नुपरेका समस्या समाधानमा सहयोगका लागि नगरपालिकाले छ महिनाअघि सरसफाइविज्ञका रूपमा कृष्ण भण्डारीलाई नियुक्त गरेको छ । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो ।
सरसफाइविज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहेका छन् । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहर छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेको भनाइ छ । फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि वडा नं १३ मा जग्गा खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ ।
यस्तै, नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने कामसमेत गरिरहेको छ । बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर संकलन हुँदै आएको छ । नगरपालिकाले भान्सा, घरबाट निस्कने फोहर, घरबाहिरबाट निस्कने फोहर, विद्यालयबाट निस्कने फोहर, बजारबाट निस्कने फोहर, अस्पतालबाट निस्कने गरी दैनिक १२ मेट्रिकटन फोहर संकलन गर्दै आएको छ । यसमध्ये करिब १० मेट्रिकटन नकुहिने र २ मेट्रिकटन कुहिने फोहर संकलन हुँदै आएको नगरपालिकाले जनाएको छ ।










