तनहुँको बन्दिपुरमा निजामती कर्मचारी संगठनको प्रशिक्षण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश कार्य समितिले तनहुँको बन्दिपुरमा दुइ दिने प्रशिक्षण कार्यक्रम गरेको छ। नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश कार्य समितिका अध्यक्ष अशोक खनालको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले उद्घाटन गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा पेशागत महासंघका केन्द्रीय अध्यक्ष पुण्य ढकाल, नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी, नेपाल निजामती कर्मचारी संगठनका महासचिव जिवन काफ्ले, सचिव विष्णु अधिकारी, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज घनश्याम कोईराला, नेकपा एमाले तनहुँका उपसचिव प्रदिपराज अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य राममणी ढुंगाना, केन्द्रीय सदस्य विजयकुमार श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा ट्रेड युनियन, मानवअधिकार र सामुहिक सौदाबाजी विषयमा पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल, जनताको बहुदलीय जनवाद सम्बन्धमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडी, निजामती कर्मचारी संगठनको वर्तमान समसामयीक गतिविधि र आगामी कार्यदिशाको विषयमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, राष्ट्रसेवक सहकारीको विकासक्रम र संगठनसँगको अन्तरसम्बन्ध विषयमा संगठनका महासचिव जीवन काफ्लेले सहजिकरण गरेका थिए ।
यस्तै, संघ, प्रदेश र स्थानीय तहविचको अन्तरसम्बन्धको विषयमा संगठनका गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष तथा कानुन, नीति तथा प्रशिक्षण विभागका प्रमुख डोलराज पराजुली, सकारात्मक सोच र तनाव व्यवस्थापन विषयमा डा. विनोद पौडेल, राजनीति र प्रशासन : सम्बन्ध र सिमा विषयमा संगठनका पुर्व सचिव विनोद बहादुर कुँवर तथा बैठक व्यवस्थापन तथा माइन्युट लेखन सम्बन्धमा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज घनश्याम कोइराला लगायतले सहजिकरण गरेको संगठनका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज विजयकुमार श्रेष्ठले जानकारी गराए ।










