वन डिभिजन कार्यालय तनहुँद्वारा चार अजिङ्गरको उद्धार
तनहुँ : बिगत छ महिनाको अबधिमा डिभिजन वन कार्यालय तनहुँले चार वटा अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाख यता जिल्लाका विभिन्न स्थानबाट कार्यालयले अजिङ्गारको उद्धार गरेको हो । कार्यालयले गत बिहीबार मात्रै व्यास नगरपालिका–१२ स्थित कमलबारीमा भेटिएको अजिङ्गरको उद्धार गरेको थियो ।
दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिङ्गको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले बताए । उद्धार गरिएका अजिङ्गरको बस्तीदेखि टाढा, घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही दिन अघि व्यास–२ अमरापुरी, व्यास–१३ बेलबास लगायतका स्थानमा भेटिएका अजिङ्गरको उद्धार गरिएको उने बताए ।
विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड अन्तर्गत सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको थियो ।
कार्यालयका सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरु कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले अजिङ्गरको उद्धार गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरिसृपको रुपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले बताए । ‘अजिङ्गर हत्तपत्त भेटिने जीव होइन’, उनले भने, ‘यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका स–साना पाठापाठी खाएर नोक्सान पु¥याउने गर्दछ ।’