स्कटल्याण्ड तिर बरालिंदा !
देव बस्न्यात

मानव जीवनका लागि यात्रा केवल गन्तव्यमा पुग्नु मात्र होइन, त्यो त आफूभित्रको अज्ञात सन्दर्भ खोज्नु हो जुन आफूभित्रको चेतनाको यात्राको स्मरण पनि हो । भौगोलिक रूपमा टाढा भए तापनि हृदयले नजिक बनाउने स्थानहरूमध्ये एक हो– स्कटल्याण्ड ।
ब्रिटेनको उत्तर भागमा अवस्थित यो मुलुक स्वाभिमानी इतिहास, समृद्ध संस्कृति, शान्त प्रकृति र प्राचीन परम्पराको संगम हो । यही ठाउँको चारदिने यात्रामा म लगायत नेपाल, भारत, अमेरिका, बांग्लादेश र दक्षिण अफ्रिकाबाट आएका लगभग ५० जनाको टोलीले २०२५ जुलाई १४ देखि १७ सम्म अनुभव सँगालेका छौं ।
यस यात्राले मलाई न केवल एक पर्यटकको दृष्टिले, बरु एक चिन्तक, एक नेपाली अनि एक भोगकर्ता भएर गहिराइमा सोच्न बाध्य बनायो– हामी कहाँ छौँ, हामी के गुमाइरहेका छौँ, र हामीले के सिक्न सक्छौँ ?
इतिहासको सुरुवातसँगै यात्रा आरम्भ
७८ हजार ८५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्कटल्याण्ड कहिल्यै पनि केवल एउटा भूगोल मात्र रहेन । सन् ८४३ मा स्थापना भई सन् १७०७ मा इङ्ल्याण्डसँग एकीकरणमा गइसकेको यो मुलुक १९९८ देखि पुनः आन्तरिक स्वायत्ततासहितको गणतन्त्रमा परिणत भएको पाउँछौँ । यसको राजधानी एडिनबर्ग हो, जुन प्रकृति र परम्पराको अनुपम मिश्रण हो ।
हाम्रो भ्रमण रेडिङ (च्भबमष्लन)बाट सुरु भयो । विहनको ४ बजे हामी रेलमार्ग हुँदै साउथहलको गुरुद्वारा, त्यहाँबाट कोचमा चढी स्कटल्याण्डतर्फ प्रस्थान ग¥यौँ । यात्राको पूर्व तयारीदेखि नै हामीले सांस्कृतिक विविधता र ब्यवस्थापनको संयोजनको सुगन्ध पाउन थालिसकेका थियौँ ।
ग्रेट्ना ग्रीनः जहाँ प्रेमले सिमाना छिचोल्दछ
पहिलो दिनको पहिलो गन्तव्य थियो ग्रेट्ना ग्रीन, जुन अंग्रेज प्रेमी–प्रेमिकाका लागि विवाहको आदर्शस्थल रहँदै आएको रहेछ । ब्ल्याक स्मिथको रेस्टुरेन्टमा लञ्च गर्दै हामीले यो सानो शहरको ऐतिहासिकता र मानव मनोविज्ञानको सम्बन्ध महसुस ग¥यौ । एउटा लोहारको गाउँले प्रेमको स्वतन्त्रताको सन्देश कसरी युगौँदेखि बोकेको छ भन्ने कुरा आत्मसात गरियो । यात्रा यति नै भोगिने कुरा हो– जहाँ इतिहास बोकेको ठाउँले हाम्रो आत्मामा नयाँ अर्थ भर्छ ।
ग्लासगोः आधुनिकताको छायाँमा संस्कृतिको उज्यालो
त्यसपछि हामी पुग्यौँ स्कटल्याण्डको सबैभन्दा ठूलो सहर ग्लासगो । पहिलो नजरमै यो सहर सांस्कृतिक गहना झैँ लाग्यो। क्याथेड्रल, म्युजियम, ब्युचानन स्ट्रिट, विश्वविद्यालय र चौडा गल्लीहरूले युरोपको आधुनिकताको सन्तुलित अनुहार देखाइरहेका थिए । यही सहरमा पुराना भवनहरू, पार्कहरू, चर्चहरू र संग्रहालयले एउटै स्थानमा सहअस्तित्वको पाठ सिकाउँछ। ग्लासगोको आधुनिकता केवल संरचनामा नभई विचार र दृष्टिमा पनि देखियो ।
लोच लोमण्ड र नेभिस रेन्जः प्रकृतिको न्यानो काख
यात्राको दोस्रो दिन हामी लोच लोमण्ड एण्ड ट्रोसेक्स नेशनल पार्क तर्फ लाग्यौँ । त्यहाँ एल्म तालको जलविहारले जीवनका हरेक हलचललाई बिर्साउने किसिमको शान्ति दियो । तालको दायाँबायाँ फैलिएका हरियाली र हिमश्रृंखलाले प्रकृतिको सम्पूर्ण कविता लेखिरहेका थिए ।
त्यसपछि हामी फोर्ट विलियम हुँदै स्कटल्याण्डको नेभिसपर्वत श्रृंखलाको १३४५ मिटर अग्लो नेभिज फोर्ट विलियम अवन्टी शिखरमा चढ्यौं र लेक भ्यालीलाई राम्रोसंग अवलोकन ग¥यौं । केवलकारमा सवार भएर उकालो र ओरालो लाग्दा प्रकृतिले निरन्तर सौन्दर्य बाँडिरहेको थियो। नेभिज रेन्ज बेस क्याम्प पुग्दा स्कटिसहरुको अपनत्व वोधहुने ह्विस्कीको सामन्य परिचयका साथ ह्वीस्कीको स्वाद चखाउने र ह्वीस्कीको पारखीहरुलाई स्कटिस ह्वीस्कीको अविस्मरणीय याद दिलाईरहन कोशेली ग्रहण गर्न उत्पेरित गर्ने र गराउने स्कटल्याण्डवासीको जीवनशैलीप्रति हामी अझ नजिक भइदियौँ ।
कमाण्डो मेमोरियल र क्यालेडोनियन क्यानलः वीरताको स्मरण र प्रविधिको चिनारी
फोर्ट विलियम नजिकै अवस्थित कमाण्डो मेमोरियलले दोस्रो विश्वयुद्धका वीर योद्धाहरूको बलिदान सम्झायो। स्मारक चुपचाप उभिएको थियो, तर सन्देश गर्जिरहेको थियो– “स्वतन्त्रता सजिलै पाइँदैन“। त्यसपछिको गन्तव्य क्यालेडोनियन क्यानल थियो, जुन इन्जिनियर थोमस टेलफोर्डद्वारा १९औँ शताब्दीमा बनाइएको थियो । ८ वटा लक प्रणालीद्वारा सञ्चालित यो जलमार्ग अझै कार्यशील देख्दा प्रविधि र मानव बुद्धिको समन्वय झल्किन्छ ।
फालकिर्क ह्वील र केल्पिजः नवप्रवर्तन र परम्पराको कथा
तेस्रो दिनको यात्रा फालकिर्क ह्वीलबाट सुरु भयो– जुन एक अत्याधुनिक घुम्ने बोट लिफ्ट हो । सन २००२ मा ग्रेट ब्रिटेनकी महारानी एलिजावेथका करकमलबाट उद्घाटित यस्तो प्रविधि संसारमा एकमात्र यही स्थानमा रहेको बुझ्दा आश्चर्यचकित भइन्छ। त्यसैको केही दूरीमा रहेको केल्पिजमा– ३० मिटर अग्ला दुई घोडाको मूर्ति अवलोकन गर्न पाईन्छ। जुन मूर्तिहरु मनुष्य र अश्वबीचको सम्बन्धको जीवन्त मूर्त रूप हो। स्कट कलाकार एन्डी स्कटको यो सिर्जनाले हामीलाई कलाको शक्तिप्रति सजग तुल्यायो ।
एडिनबर्ग क्यासलः इतिहासको जीवित संग्रह
अन्ततः हामी एडिनबर्ग पुग्यौं– स्कटल्याण्डको राजधानी र संस्कृति, सत्ता र सुरक्षा प्रणालीको केन्द्रबिन्दु। तीनतिर भिरले घेरिएको एडिनबर्ग क्यासल नेपालको गोरखाको माझकोटजस्तै लाग्यो । राजाहरूको मुकुट, ताज, पुराना हातहतियार, संग्रहालय, पुस्तकालय र युद्धबन्दी राख्ने कारागारसम्म– यो दरवार केवल इँटा र ढुङ्गाको थुप्रो नभई इतिहासको जीवन्त अभिलेख हो । ‘रोयल माइल’ को ढुङ्गे सडक, जसमा सवारी निषेध छ, त्यहाँको परम्पराको संरक्षणबारे हामीलाई गहिरो पाठ सिकायो। नेपाली शहरहरू– विशेषगरी काठमाडौँको दरवारमार्ग वा बन्दीपुरले यसबाट केही कुराहरु ग्रहण गर्न सक्दछन् ।
विण्डर्मियर लेक र अन्तिम विदाइ
यात्राको अन्तिम दिन हामी लेक विण्डर्मियर पुग्यौँ । कुम्ब्रियाको यो नेशनल पार्कमा पर्ने विशाल ताल अत्यन्तै स्वच्छ, शान्त र आत्मीय लाग्यो । तालमा बोटिङ, त्यसपछिको स्टीम ट्रेन यात्राले १९औँ शताब्दीको युरोपेली परिवहन अनुभूत गरायो। यहाँका ढुङ्गे घरहरू देख्दा मलाई बाग्लुङ, अर्चलचेोर र बारपाकको सम्झना आइरह्यो ।
भ्रमणको अन्त्य, सोचको सुरुवात
चार दिनको यो यात्रा सकियो । बाटोमा हामी १३ सय किलोमिटरभन्दा बढी यात्रा ग¥यौं, तर अनुभूतिको हिसाबले हजारौं किलोमिटर अघि बढ्यौँ । स्कटल्याण्डले सिकायो– परम्परालाई आधुनिकताको आधार बनाएर कसरी संरक्षण गर्न सकिन्छ । इतिहास केवल पुस्तकमा होइन, जीवनशैलीमा कसरी जिउन सकिन्छ । अनि प्रकृतिसँगको सहअस्तित्व कसरी सम्भव छ । स्टार्स टुर एण्ड ट्राभल्सका को–अर्डिनेटर र चालकप्रति हार्दिक आभार व्यक्त गर्दै, यात्राका सबै मित्रहरूको सहकार्यले यो अनुभवलाई अझै विशेष बनायो ।
यस यात्राले मलाई ‘पर्यटक’को हैसियतमा हैन, ‘साक्षी’को रुपमा इतिहास, संस्कृति र प्रकृतिको सम्मान गर्न सिकायो । त्यसैले भनिन्छ– यात्रा सधैं गन्तव्य खोज्दैन, कहिलेकाहीँ त आफूभित्रको नयाँ बाटो देखाउँछ ।










