म्याग्देमा सञ्चालित हाइवेका होटलको अनुगमन

म्याग्दे : चाडपर्वको अवसरमा यात्रुहरूको चाप बढेसँगै पृथ्वी राजमार्गका हाइवे होटलमा आइतबार अनुगमन गरिएको छ। अनुगमन टोलीले मनोमानी दरमा खाना बेच्ने, प्याकेटमा उल्लेखित अधिकतम खुद्रा मूल्य भन्दा बढी मूल्य असुल्ने, गुणस्तरीय सेवा नदिने र सेवाग्राहीसँग झर्कोफर्को गर्ने जस्ता उजुरीका आधारमा निरीक्षण गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योती आचार्यका अनुसार अनुगमन टोलीले म्याग्दे गाउँपालिकाको वडा नं. ०१, ०२ र ०३ का राजमार्ग क्षेत्रमा यात्रुहरूको चाप बढी हुने हाइवे होटल र खाजा घरमा आकस्मिक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा होटलहरूको भान्सा संरचना र सरसफाइमा ध्यान नदिएको, जुठा भाँडा र किचनको असंगठित अवस्था पाइएको थियो। अनुगमनका क्रममा व्यवसायीहरुलाई प्याकेटका खानेकुरामा अंकित मूल्य भन्दा बढी मूल्यमा बिक्री नगर्न, र उपभोक्तामैत्री व्यवहार गर्न सचेत गराएको प्रमुख आचार्यले बताए ।
अनुगमन टोलीले फेला पारेका लगभग २ हजार ५०० रुपैयाँका म्याद नाघेका खाद्य वस्तु तत्काल नष्ट गरेको थियो । अधिकांश व्यवसायीलाई निर्देशन पालना गर्न ७ देखि ३० दिनको समयसिमा दिइएको छ । गम्भीर उजुरी भएका होटल संचालकलाई ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ ।
अनुगमन गरिएका व्यवसायहरूमा होटल फोरेस्ट भ्यु, बाराही हाइवे रेष्टुरेन्ट, पोखरा हाइवे रेष्टुरेन्ट, रबिना रेष्टुरेन्ट, सफल होटल, र समी र समिक खाजा घर रहेका छन् ।










