सम्पदाको पहिचानका लागि ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रम चलाउँदै तनहुँको देवघाट गाउँपालिका
नारायण खड्का

पर्यटकीय सम्भावना बोकेका तर प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारका अभावले ओझेलमा परेका सम्पदाको प्रवर्द्धन गर्न तनहुँको देवघाट गाउँपालिकाले अभियाननै चलाएको छ । पवित्र धार्मिक तिर्थस्थलका रुपमा परिचित देवघाट क्षेत्रको विकासका लागि ग्रामीण पर्यटकीय गतिविधिले थप टेवा पुग्ने भन्दै गाउँपालिकाले ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका सम्पदाहरुको प्रवर्द्धन अभियान चलाएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत नरहरी सापकोटाले बताए ।
यही अभियान अन्तरगत गाउँपालिकाको वडा नं. १ र २ को सिमा क्षेत्रको कोटा स्थित कालीगण्डकी नदीको किनारमा रहेको छरछरे झरनाको प्रवर्द्धन तथा प्रचारप्रसारका कार्यक्रम अगाडि बढाएको अधिकृत सापकोटाले बताए । ग्रामीण क्षेत्रमा सञ्चालन हुने बजार तथा मेलालाई महोत्सवका रुपमा रुपान्तरण गरी पर्यटकीय सम्पादाहरुको प्रचारप्रसार गर्ने योजना गाउँपालिकाको रहेको उनले बताए ।
जिल्लाकै विकट क्षेत्रका रुपमा परिचित देवघाट गाउँपालिकाको कोटा, वैदी, छिपछिपे लगायतका ग्रामीण बस्तिमा रहेका धार्मिक, प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक स्थलहरुको प्रवर्द्धन तथा प्रचारप्रसारको मुख्य आधार मेला महोत्सव बन्ने गरेको वडा नं. १ का अध्यक्ष भिमबहादुर गुरुङ बताउँछिन् । ग्रामीण क्षेत्रमा मेला महोत्सव आयोजना गर्दा शहर बजार क्षेत्रका नभई अन्य जिल्लाबाट समेत पर्यटकहरु पुग्ने हुँदा पर्यटकीय सम्पदाहरुको प्रवर्द्धन तथा स्थानीय बासिन्दाको आर्थिक समृद्धिका लागि मेला महोत्सव गर्न थालिएको वडाअध्यक्ष गुरुङ बताउँछन् ।
पवित्र धार्मिक तिर्थस्थल देवघाट धामसंगै गाउँपालिका भित्र रहेका अन्य पर्यटकीय सम्पदाहरु जस्तै छरछरे झरना, करादीप, ऐतिहासिक स्थल घण्टाचुली, प्याउली गढी लगायतका क्षेत्रलाई जोड्ने गरी भैतिक पूर्वधारका काम अगाडि बढाइएको अध्यक्ष गुरुङले बताए ।
कालीगण्डकी नदीको किनारमा अवस्थित एकान्त स्थल, रमणीय, हरियाली र अत्यन्त मनमोहक छरछरे झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको भन्दै महोत्सवको माध्यमबाट प्रवर्द्धन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
‘गण्डकी प्रदेशकै उत्कृष्ट मानिने छरछरे झरनामा सहासिक खेल क्यानोनिङ खेल्न सकिने हुँदा यसलाई सोही अनुसार विकास गर्न लागिएका छौं’, गाउँपालिकाका अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले छरछरे झरनासंगै पर्यटकीय सम्भावना बोकेका अन्य सम्पदाहरुलाई समेत प्रवर्द्धन गर्ने लक्ष्यका साथ गालिगण्डकीमा र्याफ्टिङ, पदमार्गको विकास प्राकृतिक क्षेत्रको संरक्षण लगायतका कार्यक्रमलाई प्रथमिकतामा राखेका छौं ।’
जनजातिहरुको बहुल्यता रहेका क्षेत्रमा स्थानीयको भाषा, कला, संस्कृति, परम्परागत रितिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्न मेला महोत्सवले टेवा पुग्ने गर्दछ । धार्मिक, साँस्कृतिक, प्राकृतिक लगायतका क्षेत्रको विकासका लागि छुट्टाछुट्टै नभई सबै क्षेत्रलाई एउटै माला र श्रृंखलामा जोडेर पर्यटकीय गतिविधि अगाडि बढाउनुपर्ने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान बताउँछन् ।
‘गण्डकी प्रदेश सरकारले पनि पर्यटनबाटै समृद्धि हाँसिल गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाएको छ’, मन्त्री चुमानले भने, ‘पर्यटन सम्बन्धी कार्यक्रम तथा योजनाहरु अगाडि बढाउँदा एक्लाएक्लै नभई तीनवटै सरकारको संयुक्त प्रयासमा अगाडि बढ्न सके सबै क्षेत्रको सहज रुपमा विकास र प्रवर्द्धन हुन्छ ।’
देवघाट गाउँपालिकाको समन्वयमा ग्रामीण क्षेत्रमा सञ्चालन गरिने मेला महोत्सवमा स्थानीय स्तरमै उत्पादित उपजका खानाका परिकार खुवाउनुका साथै बिक्री वितरण गर्न थालिएको छ । नयाँ ठाउँबाट आउने पाहुनालाई गिठ्ठा, भ्याकुर, तरुल, सिस्नो, काउली, सामा लगायतका कन्दमुल तथा खानाका परिकार खुवाउने गरिन्छ।
धार्मिक, साँस्कृतिक, प्राकृतिक महत्व बोकेको कालिकगण्डकी नदीको तिरैतिर शाल्रि्राम करिडोर विस्तार गरिएको छ । यही करिडोर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका सम्पादाहरुलाई प्रवर्द्धन गरी स्थानीयलाई गाउँमै स्वरोजगार बनाउन समेत सकिने भएकाले तनहुँको देवघाट गाउँपालिकाले सोही अनुसारका गतिविधिलाई अगाडि बढाउन थालेको छ ।
आधारभूत आवश्यकता सहज रुपमा उपभोग गर्न नपाउँदा बसाइ सराइले उजाडिदै गएका ग्रामीण बस्तिलाई पुन चलायमान बनाउन र बाँझिएका उर्वर भूमिमा सिंचाईको व्यवस्था गरी कृषि, पशुपालन लगायतका क्षेत्रलाई समेत ग्रामीण पर्यटकी गतिविधिसंग जोड्न अहिले गाउँपालिका लागि परेको छ ।