शुक्लागण्डकी महोत्सव : खादा र ब्याचको सट्टामा स्थानीय उत्पादन पातको माला प्रयोग

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन ।

महोत्सव उद्घाटनका अवसरमा समिबाट बनेका माला आमन्त्रित व्यक्तिहरूलाई लगाइएको थियो । अन्य दिनहरूमा पनि अतिथि र कलाकारलाई स्थानीय माला प्रयोग गरिएको अतिथि सत्कार उपसमिति संयोजक जोशीला थापाले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिका–६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन् ।

उनीहरूले उत्पादन गरेका बाँसका सामग्री महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तालिमको समापनका अवसरमा समि र फूल मिलाएर माला बनाएका थिए । सोही मालालाई महोत्सव आयोजकसँग कुरा गरी प्रयोगका लागि अनुरोध गरिएको हो । आयोजकले प्रतिमाला रु ३० दिएका छन् ।”

महोत्सव मूल संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमलप्रसाद रिमालले स्थानीयले उत्पादन गरी उपलब्ध गराउँछौँ भनेपछि आयोजकले उनीहरूलाई प्रोत्साहनका लागि पनि स्थानीय मालालाई नै प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा अहिले फूल छैन, अतिथि सत्कारका लागि हामीले पनि बाहिरबाट खरिद गरी ल्याउनुपर्ने हुन्थ्यो ।”

तालिम लिएकी मधु थापाले तालिम सकिनेबित्तिकै आफूहरूको उत्पादनलाई प्राथमिकता दिएकामा धन्यवाद दिनुभयो । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री वितरणका लागि स्टल निःशुल्क व्यवस्था गरिएको छ ।

स्थानीयस्तरमा उत्पादित कृषि, घरेलुलगायतका सामग्री बिक्री वितरण र प्रदर्शनीका लागि स्टल निःशुल्क गरिएको सङ्घका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादनले बजार पाओस् भन्नका लागि स्टल निःशुल्क व्यवस्थापन गरेका छौँ । यसले त्यस्ता सामग्रीको प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”

महोत्सवमा अटोमोबाइल, होटललगायत अन्य व्यावसायिक स्टलसमेत गरी कुल एक सय ८० स्टल रहेका छन् । महोत्सवमार्फत शुक्लागण्डकी नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमार्फत नै दगामस्थित घरबास (होमस्टे)को प्रचार–प्रसार र प्रवर्द्धन गरिने उहाँको भनाइ छ ।

फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब रु तीन करोड आर्थिक कारोबार हुने लक्ष्य छ । त्यस्तै दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरका कलाकारलाई समावेश गरिनेछ । यसैगरी महोत्सवको अवसरमा विद्यालयस्तरीय नृत्य, भलिबल, रत्यौली, गण्डकी गायन, र कौरा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker