बन्दीपुरमा पूर्वाधार विस्तारसंगै बदलिंदै ग्रामीण बस्ती
एक वर्षमा ७.२ किलोमिटर सडक कालोपत्र, २५ मोटरेबल र १२ झोलुङ्गे पुल निर्माण

बन्दीपुर : पर्यटकीय गन्तव्यका रूपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले ग्रामीण बस्तीको पहुँच विस्तारदेखि सार्वजनिक सेवा र कृषि उत्पादनसँग जोडिएका पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।
सडक स्तरोन्नति, पुल निर्माण, सिँचाइ विस्तार र सार्वजनिक संरचना विकासलाई प्राथमिकता दिएको गाउँपालिकाले पछिल्लो एक वर्षमा ७.२ किलोमिटर सडक कालोपत्र गरेको छ भने १० किलोमिटर सडक ग्राभेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएयता सडक सञ्जाल विस्तारसँगै आवागमन सहज बनाउने र आधारभूत सेवामा नागरिकको पहुँच बढाउने गरी भौतिक पूर्वाधार निर्माणका काम अघि बढाइएको छ ।
गाउँपालिकाको विवरणअनुसार हालसम्म ३७.२ किलोमिटर सडक कालोपत्र, ७० किलोमिटर ग्राभेल र ७९ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण भएको छ । बस्तीलाई सडक सञ्जालसँग जोड्ने, पुराना सडक स्तरोन्नति गर्ने र आवश्यकताका आधारमा कालोपत्र गर्ने कामलाई निरन्तरता दिइएको अध्यक्ष थापाले बताए ।
सडक विस्तारसँगै खोलानाला र नदीका कारण आवागमनमा हुने अवरोध घटाउन पुल निर्माणमा पनि लगानी गरिएको छ। गाउँपालिकाका विभिन्न स्थानमा हालसम्म २५ वटा मोटरेबल पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । यसले सडक पुगेका बस्तीबीच सम्पर्क विस्तार गर्न र स्थानीयको दैनिक आवागमन सहज बनाउन सहयोग पुगेको गाउँपालिकाको भनाइ छ ।
सिँचाइदेखि नदी नियन्त्रणसम्म
बन्दीपुरले सडकलाई मात्र पूर्वाधार विकासको आधार नबनाई कृषि उत्पादन र विपद् जोखिम न्यूनीकरणसँग जोडिएका संरचनालाई पनि प्राथमिकता दिएको छ । गाउँपालिकाका अनुसार हालसम्म एक हजार ८६२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ । पछिल्लो एक वर्षमा थप छ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
सिँचाइ विस्तारले वर्षामा मात्र निर्भर रहनुपर्ने अवस्थालाई कम गर्दै कृषि उत्पादनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । त्यसैगरी बाढी तथा नदी कटानको जोखिम न्यूनीकरणका लागि हालसम्म पाँच किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । पछिल्लो एक वर्षमा मात्रै एक किलोमिटर नदी नियन्त्रण गरिएको छ ।
जलस्रोत संरक्षण तथा स्थानीय आवश्यकताका लागि हालसम्म छवटा ताल निर्माण तथा संरक्षणसम्बन्धी काम भएको छ भने पछिल्लो एक वर्षमा तीनवटा पोखरी निर्माण गरिएका छन् । सार्वजनिक क्षेत्रको व्यवस्थापन र स्थानीय बासिन्दाका लागि सुविधायुक्त वातावरण तयार गर्न पार्क निर्माणलाई पनि प्राथमिकता दिइएको छ । एक वर्षमा चारवटा पार्क थपिएका छन् भने गाउँपालिकाभर हालसम्म ४९ वटा पार्क निर्माण भएका छन् ।
शिक्षा, स्वास्थ्य र सार्वजनिक सुविधामा लगानी
भौतिक पूर्वाधारको विस्तारलाई नागरिकको आधारभूत सेवासँग जोड्दै गाउँपालिकाले विद्यालय तथा स्वास्थ्य संस्थाका भवन निर्माणमा पनि लगानी गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि हालसम्म छवटा विद्यालय भवन र सातवटा स्वास्थ्य चौकी निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
स्थानीयको दैनिक आवागमन तथा सामाजिक गतिविधिलाई सहज बनाउन ७४ वटा सामुदायिक भवन र ५४ वटा प्रतीक्षालय निर्माण गरिएका छन् । पछिल्लो एक वर्षमा मात्रै चारवटा प्रतीक्षालय निर्माण भएको अध्यक्ष थापाले जानकारी दिए । घरबाट निस्कने फोहोर पानी तथा वर्षाको पानीको व्यवस्थापनका लागि हालसम्म ७८ किलोमिटर ढल निर्माण गरिएको छ ।
बढ्दो बस्ती र पर्यटकीय गतिविधिसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भएकाले गाउँपालिकाले एउटा डम्पिङ साइट र एउटा स्यानिटरी ल्यान्डफिल्ड निर्माण गरेको जनाएको छ। सामुदायिक वनसम्बन्धी चारवटा कामसमेत पछिल्लो एक वर्षमा सम्पन्न भएका छन् ।
अध्यक्ष थापाले उपलब्ध स्रोतसाधनलाई आवश्यकताका आधारमा परिचालन गर्दै सडक, पुल, सिँचाइ, शिक्षा, स्वास्थ्य र सार्वजनिक संरचनाको विकासलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार पूर्वाधार विस्तारले नागरिकको दैनिक जीवन सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउनेछ ।
पर्यटकीय सम्भावना बोकेको बन्दीपुरमा सडक पहुँच, पार्क, प्रतीक्षालय र अन्य सार्वजनिक संरचनाको विकासले पर्यटकको आवागमन तथा बसाइलाई सहज बनाउने अपेक्षा गरिएको छ । यद्यपि, निर्माण भएका संरचनाको नियमित मर्मतसम्भार, गुणस्तर कायम र प्रभावकारी उपयोग सुनिश्चित गर्नु पनि गाउँपालिकाका लागि उत्तिकै महत्त्वपूर्ण हुनेछ ।










