भानुमा मूल्याङ्कन अभिलेखीकरण पुस्तिकाको प्रयोग सम्बन्धी अभिमुखीकरण

भानु । तनहुँको भानु नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले मूल्याङ्कन अभिलेखीकरण पुस्तिकाको प्रयोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ। शाखाले आधारभूत तह कक्षा १–३ मा सुधारात्मक मूल्याङ्कन प्रणाली अन्तर्गत मूल्याङ्कन अभिलेखीकरण पुस्तिकाको प्रयोग सम्बन्धी अभिमुखीकरण गरेको हो।
गण्डकी प्रदेश शिक्षा तालिम केन्द्र तनहुँका अधिकृत दामोदर कार्कीले सहजिकरण गरेको कार्यक्रममा भानुका सामुदायिक विद्यालयका ५० जना शिक्षकहरु सहभागी रहेका थिए ।
विद्यालयस्तरीय एकीकृत पाठ्यक्रमले निर्दिष्ट गरेबमोजिम आधारभूत तह कक्षा १–३ सुधारात्मक मूल्याङ्कन प्रणाली लागु गर्ने प्रावधान भएबमोजिम सोको प्रभावकारी कार्यान्वयनका लागि यस कार्यक्रमको आयोजना गरिएको भानुका नगरशिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए।
आगामी दिनमा कक्षा १–३ का बालबालिकाको मूल्याङ्कन यसै अभिलेखीकरण पुस्तिका मार्फत नै हुनेछ भने नगर स्तरीय परीक्षा समितिबाट पनि यसका लागि कुनै औपचारिक परीक्षा नहुने उनले बताए ।
बालबालिकाको मूल्याङ्कनका लागि कक्षाकार्य, गृहकार्य, परियोजना कार्य, समूह कार्य, इकाइ परीक्षा, हस्तलेखन प्रतियोगिता लगायत विभिन्न सह–कार्यकलाप तथा अतिरिक्त क्रियाकलापहरु आयोजना हुनेछ भने आवधिक परीक्षाको रुपमा प्रथम त्रैमासिक, अर्धवार्षिक वा वार्षिक परीक्षाको रुपमा औपचारिक परीक्षाको आयोजना नहुने शिक्षा अधिकारी पौडेलले जानकारी गराए।
शिक्षा अधिकारी पौडेलका अनुसार प्रत्येक विद्यालयले कक्षा शिक्षकका लागि एकथान पाठ्यक्रम, एकथान शिक्षक निर्देशिका, एकथान पाठ्यपुस्तक र प्रति विद्यार्थी एउटाका दरले यो अभिलेखीकरण पुस्तिका अनिवार्य रुपमा उपलब्ध गराउनु पर्नेछ । साथै अभिलेखीकरणका लागि आवश्यक पर्ने रजिष्ट्रर कागज कलम कलर पेन्सिल तथा पाठ्यक्रमले माग गरेका शैक्षिक सामग्री उपलब्ध गराउनु पर्नेछ । पाठ्यक्रम र शिक्षक निर्देशिकाका सम्बन्धमा विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रको वेवसाइट www.moecdc.gov.np बाट डाउनलोड गर्न सक्नेछन् । अभिलेखीकरण फाराम नगरपालिकाले कक्षा १–३ का सबै बालबालिकाका लागि निःशुल्क उपलब्ध गराइरहेको छ र यस शैक्षिक सत्रमा पनि वितरण गरिएको छ ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि पाठ्यक्रमले निर्धारण गरेका सिकाइ सक्षमता, शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कनका साधनहरु प्रष्टसँग यसमा उल्लेख गरिएको छ । कक्षा शिक्षकले बालबालिकाको दैनन्दिन व्यवहार र प्रगतिको अवलोकन, लेखाजोखा र मूल्याङकन गरी यसको तोकिएको ढाँचामा अभिलेखीकरण गरिएको हुने उनले बताए । यसको सफलतापूर्वक कार्यान्वयन गर्नका लागि विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षक वर्ग तथा अभिभावक वर्गको सकारात्मक सहयोग प्राप्त भैरहनेमा उनले विश्वास व्यक्त गरेका छन् ।
यसको प्रभावकारी कार्यान्वयन गर्ने क्रममा तोकिएको फारामको प्रयोग गर्न वा उपलब्धिस्तरको रेटिङ गर्न वा सुत्र अनुसार सिकाइ उपलब्धिको क्यालकुलेशन गर्न वा व्यवहारकुशल सीपको बारेमा जानकारी लिन, विषयगत रुपमा समष्टिगत अभिलेख तयार गर्न, ग्रेडसिट तयार गर्नका लागि कुनै समस्या परेमा वा कुनै अन्यौलता भएमा वा कुनै सहजीकरणको आवश्यकता भएमा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा सम्पर्क राख्नुहुन शिक्षा अधिकारी पौडेलले अनुरोध गरेका छन् ।
यसका लागि नगरपालिकाबाट समेत समय समयमा अनुगमन तथा सुपरीवेक्षण भैरहने विश्वास दिलाउँदै बालबालिकाको मूल्याङ्कन वस्तुनिष्ट, मर्यादित र स्तरीय रुपमा हुने उनले बताएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker