तिहारमा मखमली फूलको माला

के.बि. मसाल

नेपालीहरुको मुख्य पर्व दसै सकिना साथ तिहार सुरु भएको छ । गाउँघरमा धेरै जसोको आगनमा मखमली, गोदावरी र सयपत्रि फूलहरु फुलिसकेका छन । तिहारमा बढि खपत हुने फूलहरुमा मखमली, सयपत्री र गोदावरी हुन । तिहारमा दिदी बहीनीले आफ्ना दाजु भाइलाई मखमलीको फूल र सयपत्रि फूलको माला, सप्तरंगी दुवोको टिका लगाउने प्रचलन रहेको छ । मखमली फूल कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । त्यसैले तिहारमा यी फूलको माला महत्वपूर्ण मानिन्छ । तिहार पर्वमा गणेशको पूँजा गर्ने, यमराजको आव्हान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, कटुस आदिको प्रयोगले दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायु हुने धार्मिक तथा पौराणिक मान्यता रहेको छ ।
तिहारको बेला मखमली, सयपत्री र गोदावरी फूलले वातावरण सुसज्जित भएको हुन्छ। तिहारको भाइटीकामा खासगरी मखमली फूल विशेष प्रयोगमा आउँछ । तिहारमा सप्तरंगी टीकाजस्तै मखमली फूलको पनि विशेष महत्व हुन्छ । शरद ऋतु लागेपछि ढकमक्क फूल्ने अनेक फूलहरु मध्ये मखमली र सयपत्री फूललाई तिहार पर्वमा बिशेष मानिन्छ । जसको सबै पत्रहरु रंगीन हुन्छन भने पात चाहि हल्का हरियो र पातलो हुन्छ । विश्वमा सयपत्री फूलका ४९ थरि प्रजाति छ भने सबैभँदा ठूलो र गोलो आकारमा चाहि अफ्रीकी देशमा पाइन्छ । घर–घरमा सयपत्रीको वासना चल्न थाल्दा, सयपत्रीसँगै मखमली र गोदावरी फूलले गाउँनै ढकमक्क हुँदा तिहार पर्व सुरु भएको झल्को हुन्छ। झिलिमिली बत्तिको पर्व तिहारका बलेको बत्ति साक्षी राखेर दिदी बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै टिका लगाई सुक्ने तर रङ्ग नजाने नविग्रने मखमली फूलहरुको माला घाटीमा पहिराई दिने, मिठो चिल्लो खान दिने तिहार नेपालीहरुको दोस्रो ठूलो रैथाने पर्व हो। दिदी बहिनी र दाजु भाइको पर्व तिहारमा मखमली, सयपत्री र गोदावरी गरि तीन प्रकारका फूलहरुको विशेष महत्व हुने गर्दछ ।
संस्कृतमा रक्त मल्लिका भनिने मखमली फूूल देख्नमा पनि सुन्दर हुन्छ। मखमली फूल नेपालीहरुको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवन को प्रतीकको रुप मा लिने गरिन्छ । दक्षिण अमेरिकी महादेशको ब्राजिल, पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको फूल मखमली हो । दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला तिहार पर्वको अभिन्न अंग बनि सकेको छ । सुपारी जस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैं सयौं फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रंगमा मखमली विशेष लोकप्रिय छ। नझर्ने नओइलाउने र लामे समय टिक्ने हुनाले दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।
हाम्रो देश भौगोलिक विविधता र जलवायु समेत उपयुक्त भएकोले फूल व्यवसायका लागि अत्यन्त उपयोगी छ । वैज्ञानिक ढंगले प्रमुख उद्योगका रुपमा फूल व्यवसाय स्थापित हुन सक्छ । हाम्रो देशमा ५ हजार ८३३ प्रजातिका फूल फुल्ने बिरुवा छन् । तीमध्ये २४६ प्रजाति फूल अन्य मुलुकमा पाइदैनन् । नेपालमा अहिले धेरै जिल्लामा व्यवसायिक फूलको खेति गर्न थालेका छन । तिहारको समयमा प्रयोगमा आउने फूल बजारमा बिक्री भएपनि त्यसको उत्पादन गाउँमै हुन्छ । तिहारमा व्यवसायिक रुपमा कारोबार हुने फूलको ९० प्रतिशत शहर बजार नजिक भएका जिल्लाहरुमा उत्पादन हुँदै आएको छ। तिहारमा प्रयोग हुने ८० प्रतिशत सयपत्रीको माला स्वदेशी उत्पादनले धान्छ भने बाँकी २० प्रतिशत भारतबाट आयात हुने गरेको छ । सयपत्री फूलफुल्ने समय पहिलाको भन्दा छिटो भएका कारण केही वर्ष अघिसम्म ढकमक्क फुल्ने सयपत्रि र मखमली पूmल हिजोआज लोपन्मुख बन्दै गएको छ ।
फूलको महत्व तिहारमा मात्र नभएर जहिले पनि हुन्छ । फूलले घर तथा वरपर रहेको विषाक्त ग्यास, दुर्गन्ध हटाइ वातावरण सुगन्धित तुल्याउँदछ । जसले शरीरमा स्फूर्ति ल्याउनुका साथै मनमा प्रशन्नता र शान्ति प्रदान समेत गर्दछ । अर्को तर्फ फूलले नकारात्मक उर्जालाई नष्ट समेत गर्दछ । फूलको खेती कम भएपनि माग भने क्रमस बढन थालेको छ । शहर बजारमा आजभोली फूलका बिरुवा घरआगन, बगैंचा, पार्क, स्कुल, निजी कार्यालयमा सजाउने क्रम बढदो छ, यो राम्रो पक्ष हो । मौसमी फूल र घरभित्र सजावटका बिरुवाको माग पनि बढदो छ । हरेक गोष्ठी, सेमिनार, उत्सव, महोत्सव, विवाह, व्रतबन्ध तथा अन्य शुभकार्य हुन वा शोक तथा श्रद्धान्जली जस्ता दुःखका क्षणमा पनि पूmलको आवश्यकता बढदै गएको छ ।
तिहारको मौसम सयपत्री, मखमली र गोदाबरी फूल फुल्ने समय हुन्छ । फूलहरुको आ–आफ्नै महत्व हुन्छ । जबसम्म फूल बोटमै हुन्छ, तबसम्म फूलको महत्व धेरै हुन्छ तर टिपेपछि महत्व हराउँदछ । तर, तिहारमा फुल्ने फूल भने टिपेपछि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । मखमली मात्र नभएर सयपत्री पनि तिहारमा विशेष महत्व हुन्छ । सयपत्री फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री फूललाई हिन्दी भाषामा गेंदा र अंग्रेजीमा मेरी गोल्ड भनिन्छ । फूलहरु ठाउँ, समय र मौसमअनुसार विभिन्न जाति र प्रजातिका हुन्छन । ब्रह्मकमल, घण्टीफूल, सुनाखरी, पारीजात, नागकेशर, कुसुम, केतकी फूल, मौलसीरी, जुही, कदम्ब, चमेली, जाहीजुही, वसन्ती, चम्पा, मालती, बैजयन्ती, इन्द्रजौको, पलाँस, कुमुद, करबरी, चणक, वनमाला, कमल, चम्पा, गुलाव, लालुपाते, गोदाबरी, गुराँस, सुनगाभा, मखमली, लाहुरी, सयपत्री आदि हामीकहाँ प्रयोग हुने मुख्य फूलहरु हुन। मखमलीको माला दाजुभाइको दीर्घायुको रुपमा, सयपत्री र गोदावरी सुखमय जिन्दगीको कामना गर्दै र जाहिजुही र चमेली मनोकाङ्क्षा पूरा होस,अर्थात सफलता प्राप्त होस भनी दिदीबहिनी, दाजुभाइ र चेली माइतीबीचमा एकअर्कालाई दिने प्रचलन छ ।
सयपत्रीको उदगम थलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भूभाग, मेक्सिको तथा दक्षिण अमेरिकी महादेश हो । नेपालमा कसरी र कहिले यी सयपत्री फूल आयो भन्ने भरपर्दो आधार भने भेटिएको छैन । अहिले अनेकौं थरीका सयपत्री फूल पाइने गरेको छ । परापूर्वकालदेखि सयपत्री फूल संस्कृति फूल भएको छ । तिहारलाई सिंगार्ने सयपत्रीका फूलहरु दुई समूहमा छुटयाउन सकिन्छ । सानो कदको, सानै फूल फुल्ने र सजिलै माला उन्न मिल्ने तथा फूल पनि नझर्ने नओइलाउने र रंग पनि नखुइलिने सयपत्रीहरु फ्रेन्च मेरिगोल्ड समूहमा पर्छन् । यस समूहका सयपत्री फूलका बाहिरी पुष्पिका फैलिएर फक्रन्छन् । तसर्थ यिनको वैज्ञानिक नाम पनि टागेटिस पाटुला रहेको छ। पाटुलसको ल्याटिन अर्थ फैलनु हुन्छ । सयपत्री फूलहरु गाढा चम्किलो रंगमा विशेष गरेर सुन्तला पहेंलोमा गाढा कलेजी वा रातो रंगमा सजिएका हुन्छन् । ठूलो खाले सयपत्री फूललाई सामान्यत अफ्रिकन मेरिगोल्ड भनिन्छ । यस किसिमका सयपत्री फूलहरु डल्लो आकारमा फक्रन्छन् । सुन्तला वा फिका पहेंलो रंगमा यी सयपत्री फुल्दछन् ।
गोदावरी फूलको सौन्दर्य विश्वमा सम्मानित छ। जुन फूललाई हामी गोदावरी भन्छौं, त्यसलाई इस्लामिक संसारमा गुलदाउदी भनिन्छ । धर्मगुरु दाउदको नाममा यो समर्पित छ । यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत अन्यत्र यसको प्रचलित नाम हो क्रिसान्थेमम । ग्रीक भाषामा क्रायोस भनेको सुन वा सुनौलो र एन्थेमोनको अर्थ फूल हो । त्यस अर्थमा सुवर्ण फूल हो गोदावरी । तर गोदावरी अनेकौं रंग र आकारमा फक्रिन्छ। इसापूर्व १५औं शताब्दीमा गोदावरीलाई बगैंचामा फुलाएर यसको इतिहास रच्ने श्रेय चीनलाई जान्छ । त्यसपछि आठौं शताब्दीमा यसले जापानलाई दिवाना बनायोर राजकीय सम्मान प्राप्त ग¥यो र राष्ट्रिय फूल बन्यो । जापानी सम्राटको राजगद्दीलाई क्रिसान्थेमम थ्रोन भन्ने चलन छ । यता चीनमा गोदावरी फूलकै नाममा शहरहरु पनि नामकरण भएका छन । अमेरिकाको शिकागो शहरको आधिकारिक पूmल पनि गोदावरी हो । गोदावरी सुन्दर एवं आकर्षक फूल हो । विशेष गरी असोज तथा कार्तिक महिनामा गोदावरी फूल पूर्णरुपमा फुल्छ । गोदावरी जापानको राष्ट्रिय फूल हो ।
गोदावरी सबैको घरमा फूलउन सकिन्छ । गोदावरी फूल निकै महत्वपूर्ण मानिन्छ । यो फूलको सजावट करिब एक हप्तासम्म ताजा रहन्छ । यसका भिन्न–भिन्न पातलाई सुन्दर फूलदानीमा सजाउँदा घरको शोभा बढछ। गोदावरीलाई चाइनिजहरुले औषधिका रुपमा प्रयोग गर्न खेती नै गरेको पाइन्छ । जापान पढन गएका विद्यार्थीले यो फूललाई उपत्यकाको गोदावरी गाउँमा रोपेपछि यो पूmलको नेपाली नाम गोदावरी रहन गएको हो । गोदावरी पूmल चीनमा ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा २ सय प्रजातिमा पाइन्छन् । नेपालका ठूला चाडपर्व दसंै तथा तिहारको हाराहारीमा फुल्ने गोदावरी फूलको महत्व बढदै गएको छ ।
फूलको अनुपम सौन्दर्य देखेर हरेक मान्छेको मन मोहित बन्छ । फूल हेर्न, समीपमा जान, स्पर्श गर्न, जानकारी लिन र सुगन्धको अनुभूति गर्न लालायित हुन्छन धेरै मानिस । फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतीक पनि मान्न सकिन्छ । फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो । धार्मिक, साुस्कृतिक, सामाजिक, शारीरिक, मानसिक, भावनात्मक र वातावरणीय महत्व र फाइदाहरु धेरै छ । फूल ब्यवसायबाट मानिसहरुको सामाजिक आर्थिक स्तर बढदै गएको छ । पछिल्लो समय नेपालमा व्यावसायिक फूल खेती तर्फ आकर्षण बढिरहेको छ । फूलमा आत्मनिर्भर बन्दै छ । आर्थिक आर्जन हुने सुन्दरता छर्ने र आनन्द दिने फूलको   व्यावसायिक उत्पादन बढदै गएको छ ।
नेपालमा फूल व्यवसायलाई विकास र बिस्तार गर्न सकिन्छ । नेपाली माटो र हावापानीमा उत्पादन हुन सक्ने फूलका विभिन्न प्रजातिहरुको विविधताको पहिचान गरी विद्यालय तथा विश्व विद्यालयहरुमा फूल सम्बन्धी अध्ययन गर्ने पाठयक्रम र फ्लोरिकल्चर विभाग स्थापना गर्न सकिन्छ । यसै गरी स्थानीय सरकारहरुले व्यक्तिगत र व्यावसायिक रुपमा फूल उत्पादन गर्न चाहनेहरुलाई परामर्श, सहयोग र तालीम दिने, फूल खेतीमा लागेकालाई प्रोत्साहन, आर्थिक प्राविधिक सहयोग, यातायात बजारको व्यवस्थापन गरी अध्ययन अनुसन्धान र आधुनिक प्रजनन प्रविधि प्रयोगबाट नेपालको माटो सुहाउने फूलका बीउहरु उत्पादन गर्न पर्दछ । नेपालमा पछिल्लो समय फूल खेतीको व्यवसाय फस्टाउदै गएको छ । सौखका रुपमा मात्रै छिटफुट फुल खेती हुँदै आएको नेपालमा पछिल्लो समय व्यवसायीक फुल खेती गर्नेहरु बढदै गएका छन । फुल व्यवसायबाट आत्मनिर्भर बन्न सकिने भएपछि यस व्यवसायमा आउने नयाँ व्यवसायीको संख्या पनि बढदै गएको छ ।
हाम्रो देशको भौगोलिक अवस्थाको कुरा गर्दा यहाँका हिमाल पहाड तराई जुनसुकै क्षेत्र पनि प्राकृतिक सम्पन्नताले भरिपूर्ण रहेका छन् । विकट हिमाली तथा पहाडी इलाकामा प्राकृतिक रुपले फुल्ने सुनाखरी लालीगुराँस वा उपत्यका र तराईका फाँटमा फूल्ने मखमली सयपत्री हुन् । अब पूmलको व्यवसाय शुरु गरि सकेका तथा शुरु गर्न चाहने कृषक तथा व्यवसायिहरुलाई नर्सरी व्यवस्थापन मौसमी तथा बेमौसमी फूल उत्पादन तालिम लगायतका कार्यक्रमहरु सन्चालन गर्नु आवश्यकता भईसकेको छ ।
त्यसै गरी फूल व्यवसाय गर्न चाहनेहरुका लागि बजार माग तथा मौसमी मागलाई दृष्टिगत गरी पूmल सजावटका तालिम सन्चालन गर्नुपर्ने देखिन्छ । भने अर्कोतिर विदेशबाट आयात भैरहेका फूलका विरुवाहरुलाई स्वदेश मै उत्पादन गर्नका लागि विदेशी प्रविधि ज्ञान र सीपलाई बेराजगार युवायुवतीहरुले व्यवहारमा उतार्न पर्दछ । फूल आबस्यक पर्दा खोज्ने मात्र होइन, फुर्सदको समयमा सबैले आफ्नो घर आगन र करेसाबारीमा लगाउने बानीको बिकास गर्दै जान पर्दछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker