छाङ्गाडी, छाब्दी वाराही र अद्रिका अप्सरा

विषय प्रवेश
महर्षि वेदव्यासको हजुरआमा माछीदेवीको स्मारक स्वरुपमा देखिने छाव्दी वाराही मन्दिर वेदव्यासको जन्मस्थल दमौली बजारको गणेशमान चोकबाट सात किलोमिटर पूर्वमा रहेको छ । प्रायशः छाब्दी वाराहीमाई मन्दिरमा दर्शन गर्ने भक्तहरुको आउजाउ प्रशस्तै हुने गर्दछ । आफ्ना भाकल पुरा भएपछि भक्तहरु पूजाका लागि छाब्दीवाराही मन्दिर पुग्ने गर्दछन्। छाब्दी वाराही मन्दिर नजिकै छाङ्गाडी खोला छ । अग्लो स्थानबाट छाङ्गा बनाई जमिनमा पानी झर्ने क्रियालाई झरना भनिन्छ । छाब्दी वाराही मन्दिर र रासीखोलाको बीचमा अति सुन्दर झरना छ । मगर भाषामा झरनालाई छाङ्गा र पानीलाई डी भन्ने गरिन्छ । छाङ्गाको पानीबाट छाङाडी भएको हो । कालन्तरमा त्यही छाङाडी शब्द अपभ्रंश भइ छाब्दी बन्न पुगेको मान्न सकिन्छ । यही छाङ्गाको पानी प्राकृतिक रुपमै जमिन भित्र धर्मकुलो बनि छाब्दीवाराही मन्दिर भित्रको कुण्डमा जान्छ भन्ने जनविश्वास रहेको छ । राँसी खोलाको पानी धमिलो हुँदा छाब्दी कुण्डको पानी पनि धमिलो हुने छाब्दी बिकास कोषका सचिव किरण आले बताउँछन्। सोही छाङ्गाको पानी कुण्डमा पुगेकाले यहाँकी माताको नाम नै छाब्दी वाराही रहन गएको हो भन्नेहरुको संख्या पनि प्रशस्तै रहेको पाउँदछौं ।
छाब्दी बाराही कुण्डको नजिकै छाङ्गाडी झरना र अद्रिका गुफा संगसंगै रहेको प्रत्यक्ष अवलोकन गर्न सक्दछौं । तथापि उनै छाब्दी वाराहीमाई अद्रिकाको तपोभूमि एवं जलक्रिडास्थल छाङ्गाडी हेर्न जानेहरु कोही हुँदैनन् । नामादी खोलाको गहिरो खोचमा छाब्दी वाराही मन्दिर अवस्थित छ भने छहरा बनेर बहने छाङाडी खोलासंगै गुफा सटेर रहेको छ । गुफा र छाङ्गाको प्रचारप्रसारको अभावमा यस क्षेत्रमा अद्रिका अप्सरा गुफा र छहरा छ भन्ने विषयमा छाब्दी आउने अधिकाँश पर्यटकहरुले मेसो नै पाएका छैनन् । यहाँ गुफा र छहरा छ भन्ने थाहा पाएमा त्यहाँ पुगेर खेल्न र रम्न आत्तुर हुने महसुस गर्न सकिन्छ। हुन त यहाँ जाने बाटोमा अहिलेसम्म सूचना बोर्ड टाँसिएका छैनन् । त्यहाँसम्म लैजाने पथप्रदर्शकहरु पनि यहाँ भेटिदैनन् । यहाँको मुख्य समस्या भनेको त्यहाँसम्म आवत जावत गर्नका लागि यातायात सुविधाको व्यवस्था छैन। यातायातको असुविधाका कारण छाब्दी वाराही मन्दिरको आडैमा रहेका अद्रिका-मत्स्योदरी गुफा र छाङाडी ओझेलमा परेका छन् ।
छाब्दीवाराही मन्दिरमा रहेका जलकुण्डहरु रजबाम र कत्ले लगायतका माछाहरु निरन्तर पौडीरहेका मनोरम दृष्यहरु हेर्न पाइन्छ । यहाँको कुण्डमा सुनका टिका लगाएका रजबामहरु छन भन्ने जनविश्वास छ । यिनै माछाहरुले बनाएको रमाइला दृष्यहरुमा भक्तहरु पनि रमाई रहेका देखिन्छन् । यहाँ उनै व्यासकी हजुरआमा अद्रिकालाई माछादेवीको स्वरुप मानेर पूजाआजा आराधना गरिन्छ। भक्तहरु देवीलाई खुसी पार्न हरदम प्रयत्नरत रहन्छन् ।
छाब्दी उत्पत्तिको कथा बारे थप प्रकाश पार्न र यहाँका पहरा एवं छाङ्गाहरुमा साहसिक खेलहरु खेल्न उत्प्रेरित गर्न सकियो भने यस स्थानको भविष्य अति उज्ज्वलमय देखिन्छ । आजसम्म छाङ्गाडीको प्रचार प्रसार गर्नमा व्यास नगरपालिका तनहुँ, व्यास नगरपालिकाका १, १२, १३, १४ का वडा कार्यालयहरु र छाब्दी वाराही विकास कोष बेखवर नै रहेका छन् । समग्रमा हेर्दै जाँदा सिङ्गो व्यास नगरपालिका पनि बेखवर छ भन्दा फरक नपर्ला । छाब्दी जस्तो धार्मिक क्षेत्रमा कस्तो गुरुयोजना बनाएर अगाडि बढ्ने हो त्यस विषयमा स्थानीय व्यास नगरपालिकासंग समन्वय गरेर छाब्दी वाराही विकास कोष अगाडि बढ्नु पर्ने बेला आइसकेको हामीले पनि महसुस गरेका छौं।
माघे संक्रान्ति र व्यास स्मृति पर्व बीचको साइनो
माघे संक्रान्तिका दिन सूर्य दक्षिणायणबाट उत्तरायण हुने बेला हो । जाडो हटी न्यानोपनका दिन आएकाले माघे संक्रान्तिलाई हरेक नेपालीहरुले महान चाडका रुपमा मनाउने गर्दछन् । अर्को तर्फ माघेसंक्रान्ति वैदिक सनातन धर्मका प्रणेता व्यासको जन्मदिन हो । प्रायः गुरुवर्गहरुले गुरु पूर्णिमालाई व्यासको अवतरण दिन मानेका पाउँदछौ । तर पनि गुरुपूर्णिमाको दिनलाई जन्मदिन भन्दा पनि व्यासले ज्ञानआर्जन गरेको दिवसका रुपमा मान्नु पर्दछ भन्ने मान्यताले विस्तारै प्रश्रय पाउँदै गएको छ । माघे संक्रान्ति पर्व यहाँका आदिवासी दरै, कुमाल, बोटे, थारु र मगरहरुको त नयाँ वर्षो रुपमा मानिने विशेष पर्व पनि हो । दरै, कुमाल बोटे, मगर र थारु जातिहरु माघे संक्रान्तिलाई नयाँ वर्षको दिन मानेर खुब मनाउने गर्दछन् । नेपालको महान ऋषि योगी नरहरिनाथले देवभूमि भारत एवं आध्यात्मिक नेपाल पुस्तकको-पृष्ठ ४३ मा उल्लेख गरे अनुसार व्यास-जन्म-तिथौ माघी-संक्रान्तौ स्मृतामाञ्जनः । व्यास जन्मोत्सवं यत्र कुरुते प्रतिवत्सरम् । ।५६।। लिपिबद्ध गरेको पाउँदछौं ।
वास्तवमा माघे संक्रान्ति व्यासको जन्म दिन भएकोले यस दिनलाई व्यासस्मृति दिवसको रुपमा मनाउन यहाँका ब्राहृमण क्षत्री लगायतका सबै जातजातिहरु व्यास प्रयागमा उपस्थित हुने गर्दछन् । यसै गरी रेडियो नेपालको हाम्रो संस्कृति कार्यक्रममा विद्वान काशीनाथ न्यौपानेद्वारा लिखित वेदव्यासको जन्मथलो दमौली लेख वि.सं २०४२/६/२६ गतेका दिन रेडियो नेपालबाट प्रशारण भएको थियो । उक्त लेखमा उहाँले दमौलीका स्थानीय जनताहरु, स्थानीय निकायहरु र प्रशासनिक कार्यालयहरुको संयुक्त आयोजनामा “वि.सं. २०३१ माघ १ गतेका दिनदेखि यी महान विभुतीको पूण्य स्मृतिमा….. प्रत्येक वर्षमाघे संक्रान्तिको दिन दमौली बजारमा व्यास जन्म जयन्ति मनाउन थालेका छन्” भनि लेख्नु भएको छ ।
त्यस माथि तनहुँ जिल्लाको दमौली त्रिवेणी बाह्रमगरात भित्रको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । माघे संक्रान्तिका दिन वरपरका सबै गाउँले र शहरीयाहरु दमौलीमा मेला भर्न आउँदछन । ब्राहृमण क्षत्रीहरु सेतीमादी नदीमा माघी स्नान गर्न आउँछन् भने मगर गुरुङहरु रमाइलोका लागि आउने गर्दछन्। स्वर्गका (पर्वतशिखरका) परीहरुलाई अप्सरा (मगरपुत्रीहरु ?) भन्ने गरिन्छ । बाह्रमगरातका मगरकन्याहरुका नामान्तमा बिमलादेवी, हरिकला जस्तै नामहरुको स्थानमा बिमलासरा अर्थात विहीसरा, धनसरा, मनसरा अद्रिसरा लगायत प्रशस्त नामहरु आउने गर्दछन् । कतै कालन्तरमा अप्सराको अप सर्ग लोप भएर सरा मात्र रहन गएको हो कि ? भनेर सोच्न सकिन्छ । तिनै अप्सराहरु व्यासप्रयागमा नुहाउन भनेर आएका थिए
व्यासप्रयाग स्नान मेला र अद्रिका अप्सरा बीचका घटना परिघटनाहरु
सत्य, त्रेता, द्वापर र अहिलेका कलि युगसम्मको समयमा सेतीमादी र बुल्दीको त्रिबेणी महान तीर्थस्थल थियो र छ पनि । दुग्धाभा नदी, माहेन्द्री नदी ब्यास (बुल्दी) नदीको संगममा स्नान गर्न भनेपछि देवीदेवता, मानिस र राक्षसहरु एकदमै लालयित हुने गर्दथे । एक पटक भगवान स्वयं ब्राह्मण लगायतका ऋषि महर्षिहरु सेतीमादी संगममा स्नानका लागि आए । स्वर्गका अप्सराहरु पनि सेतीमादी नदीमा स्नान गर्न र मेला भर्नका खातिर हुलका हुल आएका थिए रे ! ति मध्ये यौवनले मस्त भएकी अद्रिका नामकी एकजना अप्सरा पनि थिइन । अद्रिका यती सुन्दरी थिइनकी भगवानले पनि समयको ख्याल नगरी खुबै मेहनत गरेर अद्रिकाको सृष्टी गरेका हुनकी भन्न मिल्ने देखिन्थ्यो । सुन्दरी अद्रिकालाई देखेर यस क्षेत्रका युवकहरु भुतुक्कै हुन्थे । अद्रिकालाई देख्दा युवकहरु आफ्ना भोक तिर्खा र निन्द्रा पनि चटक्कै बिर्सन्थे । त्यती मात्र हो र ! इन्द्रादि देवीदेवताहरु पनि भुत्तुक्कै हुने गर्दथे। अद्रिकाहरु सेतीमादी नदीमा स्नान गर्न जान लागेको देखेर इन्द्र पनि सेतीमादी तीर्थस्थलमा तीर्थ गर्ने नाममा विशेष विमानमा चढेर आइरहेका थिए । आफ्ना शरिरका अवयव हेरेर अद्रिका आफैमा पनि लालयित बन्ने भइ सकेकी थिइन । आफ्नो सुन्दरतामा दुनियाँ भुलेकोमा उनमा “आफ्नो सुन्दरतामा” किञ्चित पनि अहमता थिएन । सुन्दरीका साथ साथै अद्रिकामा बैंसालु चञ्चलता पनि झल्कन्थ्यो । यसैले उनी सेक्सी पनि थिइन ।
आएका सयौं ब्राहृमण कुमारहरु मध्ये ब्रहृमचार्यमा रहेका एक लक्का जवान ब्राहृमण कुमारलाई लगौंटीले छोपेको भाग भन्दा बाहेक सर्वाङ्ग नाङ्गो देखेर कामात्तुर भएकी अद्रिकाले माछाको व्यवहार प्रदर्शित गर्दै ब्राहृमण कुमारको पाउमा समाएर नदीको गहिरो भागतर्फ तान्दै लगिन रे । माछीको जस्तो अद्रिकाको व्यवहार देखेर ब्राहृमणले अद्रिकालाई तुरुन्तै माछी भैजा भनेर श्राप दिए रे ! श्रापित अद्रिका मादी नदी (यमुना नदी)मा माछी बनेर जल विहार गरी रहेकी थिइन । श्राप मोचन हुने वर पाउँ भनेर ब्राहृमणसंग सहस्र बिन्ती गरिने रे । भूलवस गरेको गल्तीबाट श्राप मोचनका लागि अद्रिका अप्सराले बालब्रहृमाचारी ब्राहृमणसंग क्षमा याचना मागिन । अप्सराले दुःखी हुँदै क्षमायाचना गरेपछि ब्राहृमणको मन पग्लियो। माछी रुपमै रहेर सन्तानोत्तपति गरेमा श्राप मोचन हुने वरदान दिए। ब्रहृमाणसंग बिदाबादी हुँदै अद्रिका अप्सराले हाल व्यास १४ रासीभञ्ज्याङ (खसभाषामा साजबोट) मुनी पातले छाङगा नजिकमा रहेको गुफामा गएर ब्रहृमाजीको तपश्या गरिन । अप्सराको तपश्याबाट खुसी भएका ब्रहृमाले राजा उपरीचरको वीर्य सेवन गरेमा सन्तानोत्पादन हुने र माछी रुपबाट अप्सरा भइ स्वर्गको सुखभोग गर्न पाउने वरदान दिए । तत्कालै अद्रिका अप्सरा माछी बनेर यमुना (मादी) नदीमा विचरण गर्न थालिन । श्रापबाट मोचन हुनकै लागि अप्सरा राजा उपरीचरको वीर्यपानका लागि प्रतिक्षारत भएर मादीनदीमा जीवन व्यतित गर्न बाध्य बनेकी थिइन ।
राजा उपरीचर र मत्स्योदरी बीचको सम्बन्ध
अहिलेको सुन्दर गण्डकी प्रदेश भित्र त्यो बेला एउटा चेदी देश थियो । त्यही चेदी देशका राजा उपरीचर वासु -सुधन्वा -) थिए । राजा उपरीचर वासुलाई न कहिल्यै हिंड्न पर्दथ्यो, न कहिल्यै रथ चढ्न पर्दथ्यो। बरु राजा उपरीचर वासु कही जान पर्यो भने विमान चढेर जाने गर्दथे । उनको गिरिका नाम गरेकी अति सुन्दर रानी थिइन। राजा वासु पितृका आज्ञाले पितृ तर्पणका लागि हरिणको सिकारका लागि द्वैतवनमा जाने साइत जुराए । त्यही बेला रानी गिरिका ऋतुमती बनेकी थिइन । सन्तान प्राप्ति हेतु ऋतुमती रानी गिरिकाले राजा उपरीचरलाई ऋतुदान गरी सिकारमा जान अनुरोध गरिन। पितृका डरले राजा उपरीचरले रानी गिरिकाको चाहना पुरा गर्न सकेनन् । रानीको आग्रहलाई बेपर्वाह गर्दै राजा पितृ आदेश पुरा गर्न द्वैतवनमा सिकार खेल्न गए । त्यहाँको एकान्त वनमा चारैतिर फुलका फूलहरुमा देखिएका भमराहरुको स्पन्दन जस्ता प्राकृतिक कामिनीका स्मरण र त्यहाँको अनुपम छटाले राजामा कामको भोक जगायो । तुरुन्तै राजाको वीर्य स्खलित भयो । स्खलित वीर्यलाई राजाले बाजको मार्फत रानीकोमा पठाए । आकाश मार्ग हुँदै बाज वीर्य लिएर रानी गिरिकाकोमा जाँदै गर्दा अर्को बाजले आक्रमण गर्यो । आक्रमणका प्रभावले बाजले लगेको वीर्य चानसवस यमुना नदीमा खस्न पुग्यो । राजा उपरीचरको वीर्यको भोकले व्याकुल भएकी माछारुपि तिनै अद्रिकाले चेदी देशका राजा उपरीचर वासुको वीर्य सेवन गरेर एक मत्स्यगन्धा नामक कन्या र एक मत्स्यराज कुमारको जन्म दिएको कथा प्रसङ्ग श्रीमद्भागवत गीतामा पढ्न र सुन्न पाइन्छ। लालनपालनका हकले थिंवर माझी मत्स्योदरीको धर्मपिता भए पनि रक्त सम्बन्धको नाताले राजा उपरीचरवासु बाबा नाता कायम हुन आएको पाउँदछौं ।
व्यासजन्म सन्दर्भ र छाब्दी वाराही माई
सुमती नदीमा जन्म लिएकी कृष्णसरा-कालीलाई “नाम्ना कालीति विख्याता तथा मत्स्योदरीति च।।” भनिन्छ । मत्स्योदरी हुर्कदैं जाँदा दिन प्रतिदिन तरुनी बन्दै गइन । रुप र यौवनाले सज्जिदै गएकी मत्स्यगन्धालाई आफ्नो शरिरको काखीबाट आएको माछाको गन्धले अत्यन्तै लज्जित बनाउँदै गएको थियो । माछाको गन्ध नआओस भनेर मत्स्यगन्धाले आमा अद्रिकाले तपश्या गरेको सोही गुफामा आएर आमा अद्रिकाको तपश्या गरिन । अद्रिका खुसी भएर ऋषि पराशरका सेवा गरेमा माछाको गन्ध हटी शरिरमा सुवास छरिने जुक्ति सिकाइ दिइन। यता मत्स्योदरी डुङ्गा चलाउने काम सिक्दै गइन । सेतीमादी र व्यास (बुल्दी) नदीमा पराशरकै प्रतिक्षा गर्न थालिन । बाबाहरुले चलाउने गरेको डुङ्गा चलाउन पनि सिकिन।
बाबा थिंवर र काकाहरु जस्तै डुङ्गा चलाउनमा माहिर बन्दै गइन । कुनै एक दिन २०/२५ जना ऋषिहरुका साथ पराशर ऋषि चेपेको शिर दूधपोखरीमा च्यवन ऋषिलाई भेटेर दमौलीको व्यास प्रयागमा आए । पराशर आफ्नो कुटीमा जान नदी तर्नु पर्दथ्यो । त्यही बेला मत्स्योदरी डुङ्गा लिएर ऋषिहरुलाई नदी पार गर्न तयार भइन । पराशर ऋषिको आग्रहलाई टार्न नसकेकी मत्स्योदरीले पराशरऋषिसंगको संसर्गले नियोग विधिबाट सेतीमादी र बुल्दी नदीको त्रिवेणीमा महर्षि वेदव्यासलाई जन्म दिएकी थिइन । कन्या अवस्थामै व्यासलाई जन्म दिएकोमा घर बाहिर निस्कन, घुमफिर गर्न मन लागेन। मत्स्योदरी विरक्त हुँदै गइन । जन्मना साथ महर्षि वेदव्यासले आमालाई आफ्नो दिव्यरुपको दर्शन दिंदै वर माग्न आग्रह गरे ।
महर्षि वेदव्यासले माता मत्स्योदरीको लागि गुफा बनाई १०८ तीर्थस्थलहरुको पानी जम्मा गरी सोहीस्थानमा ध्यान मग्न रहने व्यवस्था मिलाइ दिएका थिए । माता मत्स्यगन्धाले तत्कालै आफ्नी आमाको बसाइलाई व्यवस्थित गरी दिन छोरा व्याससंग अनुरोध गरिन । महर्षि वेदव्यासले गण्डकी कोशी कर्णाली गंगा सरस्वती कावेरी समेत १०८ तीर्थस्थलहरुको जल ल्याइ छाव्दी कुण्डमा जल भरी दिएर हजुरआमाको स्मारकको रुपमा छाब्दी बाराही मन्दिर बनाइ दिएका हुन भनिन्छ । उनै वाराहीमाई वि.सं. १८०० साल जेठ महिनामा जहरसिंह आलेको घर आइ आफु छाव्दी वाराहीमाइ भएकोले आफ्नो पूजा गरेमा तिम्रो र तिम्रो परिवारका साथसाथै पूजा गर्न आउने भक्तहरुको पनि फलिफाप हुने विश्वास दिलाउँदै अन्तरध्यान भएको वाराहीमाईको उत्पत्ति कथा सुन्नमा पाइन्छ । वि.सं. १९१३ मा राजा सुरेन्द्रले पुजारी जहरसिंह आलेलाई लालमोहर गरी दिएका थिए । छाव्दी वाराहीकुण्डमा रजबाम र कत्ले माछाहरुलाई माछी देवीको रुपमा पूजा गर्ने परम्परा रहेको छ । कुण्डका माछाहरु मरेमा पुजारीले १३ दिनसम्म झोपो हालेर काजक्रिया गर्ने परम्परा यद्धपि रहेको पाउँदछौं ।

छाङ्गा छहरा र क्यानोनिङ (छाङ्गारोहण)
छाब्दी वाराही मन्दिर भन्दा ३ कि.मि उत्तर रासी भञ्ज्याङ र सोही भञ्ज्याङको केही दुरी तल छाब्दी पातले छाङ्गाडी रहेको छ । केही वर्षअगाडि बन्दीपुर विमलनगरका लालप्रसाद श्रेष्ठले कसरी क्यानोनिङ गर्ने हो सो बारे सिकाउने काम पनि गरेका थिए । डोरीका माध्यमले उक्त छाङ्गामा छाङ्गारोहण गरिएको थियो। अहिले छाङ्गा आरोहण गर्ने कार्य स्थगित भएको पाउँदछौं । झरझर झरी रहेको पानीमा डोरीको सहायताले छाङ्गा आरोहण गर्दा र छाङ्गाबाट डोरीको माध्यमले तल झर्दाको आनन्द छुट्टै हुन्छ । बलिया डोरीहरुका सहायताले अग्ला पहराबाट खस्ने छहराको चिसो पानीमा खेलिने जोखिमपूर्ण तथा साहसिक खेललाई छाङ्गारोहण भन्ने गरिन्छ। हरेक स्थानीय निकायहरुले सम्भावनायुक्त स्थानहरुमा साहसिक पर्यटनको अनुभव दिलाउन क्यानोनिङ खेलको अवधारणको विकास गर्नु आजको आवश्यकता बन्दै गएको छ ।
स्वदेशी होस या विदेशी पर्यटकहरुलाई आकर्षित गर्नका लागि पनि अहिले आएर नयाँ नयाँ खेलको अवधारणको सुरुआत हुँदै आएको पाएका छौं । बालबच्चा तथा बुढापाकाहरु साहसिक खेल खेल्ने, खेल्न नसकेता पनि साहसिक खेलहरु हेर्न भने त्यत्तिकै उत्सुक देखिन्छन् र त्यस्तो ठाउँमा दर्शनार्थी बन्न पुग्ने गर्दछन् । छाङ्गा आरोहण तथा कडा चट्टान आरोहण खेलहरु प्रायः युवापुस्ताहरुको रोजाई हुने गर्दछ । स्थानीय निकाय तथा स्थानीय संघ संस्थाहरुले यस खेलको प्रबन्ध गर्न सकेमा धेरै भन्दा धेरै फाइदा लिन सक्दछन् । हुन त छाब्दी विकास कोषले क्यानोनिङ खेललाई व्यवस्थित गर्न सक्यो भने छाब्दीमा आउने पर्यटकहरु वृद्धि हुन सक्छन् । पर्यटकहरुको चाप बढदै गएमा स्थानीय यूवाहरुको रोजगारीको सुअवसर बढ्दै जाने कुरामा दुइमत नहोला ।
यही छहराको पानी धमिलो रहँदा कुण्डको पानी समेत धमिलो देखिने हुँदा यही छाङ्गाको पानी छाब्दी कुण्डमा जाने जनविश्वास रहेको छ । आज भन्दा २० वर्ष पहिले विमलनगरका लालप्रसाद श्रेष्ठले यस छहरामा आई क्यानोनिङको सफल परीक्षण गरेको कुरा यहाँका स्थानीय निवासी किरण आलेले हामीलाई बताए । छाङ्गासंगै यहाँ अद्रिका गुफा, छाङ्गा भन्दा केही तल अद्रिका अप्सराको खण्डहर मन्दिर र झाँक्रीको थान समेत रहेको छ । यस छाङ्गाको पानीलाई बाँध बाँधी छाङ्गा कुण्डमा बनाउन सकेमा छहरा सहितको कुण्ड स्नानमा रम्ने सखासखीहरुको यहाँ भिड लाग्ने सम्भावना देखिन्छ ।
अन्त्यमा, छाव्दी विकास कोष र व्यास नगरपालिकाको संयुक्त तत्व वधानमा छाङ्गा र अद्रिका गुफासम्म जाने कच्ची मोटरबाटो र पैदले सिंढी मार्ग बनाइएको भएता पनि पर्याप्त पूर्वाधार निर्माण गर्न बाँकी नै देखिन्छ। यहाँ सत्तल, पाटी पौवा, जलकुण्ड र वनभोज थलो तयार भएमा आन्तरिक पर्यटन निश्चित नै मौलाउने देखिन्छ। नेपालको अहिलेको परिवेशलाई हेर्ने हो भने पर्यटन विकास नै आर्थिक संमृद्धीको पाटो देखिन गएको अवस्था हो । यस विषयमा स्थानीय निकाय बेलैमा चनाखो हुनु जरुरी छ भने स्थानीयबासीहरु पनि स्वयं जागरुक बन्नु पर्ने बेला आएको छ । सबैको ध्यान जाओस हाम्रो पनि यही शुभेच्छा छ ।










