सम्पादकीय : बन्दीपुरमा पर्यटकको भीड, व्यवस्थापनमा किन कमी ?

पहाडकी रानीका नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै होटल तथा घरबास भरिभराउ छन् । कोठा नपाएर कतिपय पर्यटक अन्यत्र फर्कनुपरेको अवस्था छ । पर्यटकको आगमनले बजारमा चहलपहल बढाएको छ, व्यवसायी उत्साहित छन् । तर, पर्यटकको मागअनुसार सामान्य आधारभूत सुविधा उपलब्ध गराउन नसक्नु बन्दीपुरको पर्यटन व्यवस्थापनका लागि गम्भीर प्रश्न बन्न थालेको छ । पर्यटक तान्न सक्ने गन्तव्यले उनीहरूलाई बसाउन नसक्नु विकासको सफलता होइन, व्यवस्थापकीय कमजोरी हो। बन्दीपुरमा होटल तथा होमस्टे गरी करिब एक हजार चार सय जनालाई बास बसाउन सक्ने क्षमता छ । करिब ८० होटल र चार होमस्टे सञ्चालनमा छन् । यति धेरै होटल तथा घरबास हुँदाहुँदै पनि पूर्ण क्षमतामा सेवा दिन नसक्नु विडम्बना हो । पर्यटकको चाप बढ्ने समय अनुमान गर्न नसकिने विषय होइन । हरेक वर्ष चाडपर्व र पर्यटकीय याममा पर्यटकको आगमन बढ्छ भन्ने जानकारी हुँदाहुँदै पनि खानपान र आवास व्यवस्थापनमा समयमै तयारी नहुनु स्थानीय सरकार र पर्यटनसम्बद्ध निकायका लागि गम्भीर समीक्षा गर्नुपर्ने विषय हो ।

पर्यटन भनेको पर्यटकको संख्या बढाउनु वा होटल भरिनु मात्र होइन । पर्यटकलाई सहज आवास, स्वच्छ खानेपानी, सरसफाइ, सुरक्षित वातावरण र गुणस्तरीय सेवा उपलब्ध गराउनु पनि पर्यटन विकासकै आधार हुन् । बन्दीपुरमा अहिले देखिएको समस्या सामान्य मौसमी चापको परिणाम भनेर पन्छिन मिल्दैन । पर्यटकलाई कोठा नपाएर अन्यत्र जानुपर्ने अवस्था आउनु भनेको बन्दीपुरले प्राप्त गर्न सक्ने आर्थिक अवसर गुमाउनु पनि हो । पर्यटकको बसाइ छोटिँदा होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन र साना व्यवसायले पाउने आम्दानीसमेत प्रभावित हुन्छ । बन्दीपुरको विशेषता होटल र रेस्टुरेन्टमा मात्र सीमित छैन । यसको वास्तविक सम्पत्ति ऐतिहासिक बजार, परम्परागत वास्तुकला, मौलिक संस्कृति, धार्मिक सम्पदा र प्राकृतिक सौन्दर्य हो । भक्तपुरे शैलीका घर, कलात्मक झ्यालढोका, ढुङ्गा बिछ्याइएका सडक र पुरानो बजारले बन्दीपुरलाई विशिष्ट पहिचान दिएका छन् । अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृंखलाको दृश्य, हरियाली डाँडाकाँडा र शान्त वातावरणले यसलाई प्रकृतिप्रेमी पर्यटकको आकर्षक गन्तव्य बनाएका छन् । आधुनिक सहरको कोलाहलबाट टाढा मौलिक नेपाली बस्तीको अनुभव लिन चाहने पर्यटकका लागि बन्दीपुर आफैँमा एउटा खुला सम्पदा हो ।

खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिरले धार्मिक पर्यटकलाई आकर्षित गर्छन् । सिद्धगुफा, मणिमुकुन्द सेन दरबार, मिनी ग्रेटवाल, तीनधारा, टुँडिखेल, रानीवन, रामकोट र सुनखरीजस्ता स्थलले बन्दीपुरको पर्यटकीय सम्भावनालाई थप फराकिलो बनाएका छन्। यी सम्पदाको प्रचारप्रसार र संरक्षणसँगै व्यवस्थित पर्यटन मार्ग निर्माण गर्न सके पर्यटकलाई केही घण्टा घुमाएर फर्काउने होइन, धेरै दिनसम्म बन्दीपुरमा बस्ने वातावरण बनाउन सकिन्छ । यसका लागि ग्रामीण पर्यटनलाई प्राथमिकतामा राख्न आवश्यक छ। बन्दीपुरको पर्यटनलाई पुरानो बजारका होटल र रेस्टुरेन्टमा मात्र सीमित राख्नु हुँदैन । आसपासका गाउँबस्तीमा रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्नुपर्छ । होमस्टेमार्फत स्थानीय खानपान, रहनसहन, कृषि, पशुपालन, कला र संस्कृतिको अनुभव पर्यटकलाई दिन सकिन्छ ।

गाउँमा उत्पादित तरकारी, फलफूल, दूध, घ्यू, स्थानीय परिकार र हस्तकलाका सामग्रीलाई पर्यटकसँग जोड्न सके पर्यटनको आम्दानी गाउँसम्म पुग्छ । यसबाट महिला, युवा, किसान र साना उद्यमीले आफ्नै ठाउँमा रोजगारी र आयआर्जनको अवसर पाउन सक्छन् । पर्यटनको लाभ केही होटल व्यवसायीमा मात्र सीमित हुनु हुँदैन । स्थानीय समुदायले पनि त्यसको प्रत्यक्ष लाभ पाउनुपर्छ । त्यसका लागि होमस्टे सञ्चालनमा सहजीकरण, स्थानीय उत्पादनको बजारीकरण, सीप तथा आतिथ्यसम्बन्धी तालिम र गाउँस्तरमा पर्यटकीय पूर्वाधार निर्माण आवश्यक छ । पर्यटनबाट हुने आम्दानी स्थानीय अर्थतन्त्रमा घुमिरहने वातावरण बनाउन सके मात्र ग्रामीण पर्यटनको उद्देश्य पूरा हुन्छ ।

अर्कोतर्फ, बन्दीपुरको मौलिकता जोगाउनु पनि उत्तिकै चुनौतीपूर्ण छ । पर्यटक बढे भन्दैमा जथाभावी संरचना निर्माण गर्ने, प्राकृतिक सम्पदा मास्ने र पुरानो बजारको स्वरूप बिगार्ने छुट कसैलाई हुनु हुँदैन । फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, पार्किङ, पदमार्ग, सूचना प्रणाली र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्छ । पर्यटन पूर्वाधारको नाममा बन्दीपुरको मौलिक पहिचान नै नष्ट हुने अवस्था आउन दिनु हुँदैन। अब बन्दीपुर गाउँपालिका र पर्यटनसम्बद्ध निकायले तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान दिनुपर्छ । खानेपानीको भरपर्दो स्रोत र वितरण प्रणाली विकास गर्नु पहिलो आवश्यकता हो । होटल तथा घरबासको सेवा गुणस्तर सुधार, पर्यटकको चापअनुसार पूर्वाधार व्यवस्थापन र बाह्रै महिना पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

चाडपर्व र पर्यटकीय याम आउनुअघि नै आवश्यक तयारी गर्ने प्रणाली विकास गर्नुपर्छ । पर्यटकको सङ्ख्या, बसाइ अवधि, खर्च र सन्तुष्टिबारे नियमित तथ्याङ्क राखेर योजना बनाउने अभ्यास पनि सुरु गर्नुपर्छ । बन्दीपुरमा पर्यटक आउन थालेका छन्, अब उनीहरूलाई किन रोक्न सकिएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ । पर्यटकको भीड देखाएर पर्यटन विकासको सफलता घोषणा गर्नु पर्याप्त छैन । पर्यटकले सहज सेवा पाएका छन् कि छैनन्, स्थानीयले आम्दानीको अवसर पाएका छन् कि छैनन् र बन्दीपुरको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सुरक्षित छन् कि छैनन् भन्ने आधारमा पर्यटन विकासको मूल्याङ्कन हुनुपर्छ । बन्दीपुरको आकर्षण जोगाउँदै पर्यटकको बसाइ लम्ब्याउने र पर्यटनको लाभ गाउँगाउँसम्म पु¥याउने जिम्मेवारी स्थानीय सरकार र सरोकारवालाको हो । पर्यटकको भीडलाई दिगो आर्थिक अवसरमा बदल्न नसके बढ्दो लोकप्रियताको अर्थ अधुरै रहनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker