तनहुँको जनसंख्या वृद्धि दर “ऋणात्मक”

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको जनसंख्या ३ लाख २१ हजार १५३ रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार तनहुँमा १ लाख ५० हजार ९४ पुरुष र १ लाख ७१ हजार ५९ महिलाको जनसंख्या रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आईतबार दमौलीमा आयोजना गरेको राष्ट्रिय जनगणनाको नजिता अनुसार तनहुँमा पुरुषको भन्दा महिलाको संख्या २० हजार ९६५ बढि रहेको छ । तनहुँका ८८ हजार ५८३ घर परिवारमा जनता बसोबास गर्छन् । तथ्याङ्का अनुसार तनहुँमा २०६८ भन्दा २०७८ मा २१३५ जनसंख्या कमी देखिएको छ ।

यस्तै, तनहुँको जनसंख्य वृद्धि दर ऋणात्मक देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा तनहुँको जनसंख्या वृद्धि दर घट्दो क्रममा गएको देखाइएको छ । तथ्याङ्क कार्यालय कास्कीले आइतबार दमौलीमा आयोजना गरेको नेपालको बाह्रौ राष्ट्रिय जनगणना २०७८ को जिल्लास्तरीय नतिजाको अन्तरक्रियामा गण्डकी प्रदेशका जिल्ल्ला मध्ये सबैभन्दा बढी वार्षिक वृद्धिदर कास्की जिल्लामा (१.९०%) र सबैभन्दा कम बार्षिक जनसंख्या वृद्धिदर मनाङ जिल्लामा (-१.३९%) रहेको कास्कीका निर्देशक जगुलाल बस्यालले जानकारी गराए ।

गण्डकी प्रदेका ३ जिल्लामा मात्र वार्षिक जनसंख्या बृद्धि दर बढेको देखिन्छ । तनहुँ जिल्लाको -०.०६ प्रतिशत जनसंख्या बृद्धि दर रहेको निर्देशक बस्यालले बताए । सार्वजनिक तथ्याङ्क अनुसार गण्डकी प्रदेशको गोरखा -०.७४ प्रतिशत, मुस्ताङ ०.६९ प्रतिशत, म्याग्दी -०.५७ प्रतिशत, लमजुङ -०.७० प्रतिशत, नवलपरासी (पूर्व) १.८६ प्रतिशत, स्याङजा -१.२८, पर्वत -१.०९ प्रतिशत र बागलुङ -०.७२ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर रहेको देखाइएको छ ।

यस्तै, गण्डकी प्रदेश अन्तर्गत औसत परिवार सदस्य संख्या सबैभन्दा बढी नवलपरासी(पूर्व जिल्लामा ४.०३ जना) र गोरखा जिल्लामा सबैभन्दा कम ३.४९ जना रहेको देखिएको छ । तनहुँमा ३.६३ जना औसत परिवार सदस्य संख्या रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँमा ६७ वटा जात/जातिहरु भेटिएका छन् । वि.सं. २०६८ मा ६० वटा रहेकामा रानाथारु, भुमिहार, सुरेल, पुन, रोनियार, बनियाँ र केवरत गरी ७ वटा थपिएका छन् । सबै भन्दा बढी जनसंख्या मगर ८३ हजार ६३९ जना (२६.०४ प्रतिशत) रहेको छ भने सबै भन्दा कम जनसंख्या राजपुत जातिको जम्मा १० जना रहेको छ । यस्तै, जनगणनामा कुसुण्डा जातीको गणता र तथ्याङ्क समावेश गरिएको देखाइएको छैन ।

राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँ जिल्लामा ४१ वटा मातृभाषाहरु भेटिएका छन् । वि.सं. २०६८ मा रहेका २८ वटा मातृभाषा कायम राखी १३ वटा मातृभाषा थपिएका छन् । सबै भन्दा बढी बोल्ने मातृभाषा नेपाली २ लाख १ हजार ३८७ जना (६२.७ प्रतिशत) रहेको छ भने सबै भन्दा कम चाम्लिङ, हृयाल्मो र अंग्रेजी मातृ भाषा बोल्ने जनसंख्या सबैको ११/११ जना रहेको देखाइएको छ ।

यस्तै, स्थानीय तह अनुसार तनहुँको आँवुखैरेनी गाउँपालिकाको जनसंख्या २२ हजार २५२ रहेकोमा जनसंख्या वृद्धिदर ०.६६ प्रतिशत रहेको छ । बन्दिपुर गाउँपालिकाको जनसंख्या १८ हजार ५३२ रहेकोमा -०.७४ प्रतिशत जनसंख्या वृद्धिदर रहेको छ । भानु नगरपालिकाको ४२ हजार ७९४ जनसंख्या रहेकोमा जनसंख्या वृद्धिदर -०.६५ प्रतिशत रहेको छ ।

भिमाद नगरपालिकाको जनसंख्या २९ हजार २४८ रहेकोमा जनसंख्या वृद्धिदर -०.६७ प्रतिशत, व्यास नगरपालिकाको जनसंख्या ७८ हजार ९३९ रहेकामा जनसंख्या वृद्धिदर १.११ प्रतिशत, देवघाट गाउँपालिकाको जनसंख्या १४ हजार ५८४ रहेकामा जनसंख्या वृद्धिदर -०.९७ प्रतिशत रहेको छ ।

घिरिङ गाउँपालिकाको जनसंख्या १४ हजार ३३४ रहेकामा जनसंख्या वृद्धिदर -२.८६ प्रतिशत, म्याग्दे गाउँपालिकाको जनसंख्या २३ हजार ५७८ रहेकोमा जनसंख्या वृद्धिदर ०.४५ प्रतिशत, ऋषिङ गाउँपालिकाको जनसंख्या १७ हजार ९१८ रहेकोमा जनसंख्या वृद्धिदर -३.५२ प्रतिशत रहेको छ भने शुक्लागण्डकी नगरपालिकाको जनसंख्या ५५ हजार ६२० रहेकोमा १.३२ जनसंख्या वृद्धिदर रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ मा तनहुँ जिल्लाको जनसंख्या ३ लाख २१ हजार १५३ रहेकामा ८६.३ प्रतिशतले धारा/पाइपको पानी उपभोग गर्दै आएका छन् । ढाकिएको इनार/कुवाको पानी उपभोग गर्ने जनसंख्या २.३ प्रतिशत, खुला इनार/कुवाको पानी उपभोग गर्ने जनसंख्या ३.६ प्रतिशत, मूल धाराको पानी उपभोग गर्ने ६.४ प्रतिशत, नदी/खोलाको ०.५ प्रतिशत, जार/बोतल ०.८ प्रतिशत र अन्य स्रोतको पानी उपोग गर्ने जनसंख्या ०.२ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

यस्तै, तनहुँमा ९७.२३ प्रतिशत जनसंख्याको पहुँचमा बिजुली बत्तीको पहुँच पुगेको छ । २.१९ प्रतिशतले सोलार/सौर्यउर्जा, ०.३३ प्रतिशतले मट्टीतेल, ०.०३ प्रतिशतले बायोग्यास उर्जा प्रयोग गर्छन भने अन्य स्रोत प्रयोग गर्नेको जनसंख्या ०.२२ प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कार/जीप/भ्यान साधान-सुविधाहरु प्रयोग गर्नेको जनसंख्या २.९ प्रतिशत, मोटरसाइकल/स्कूटर प्रयोग गर्ने २२.३ प्रतिशत, साइकल प्रयोग गर्ने ६.७ प्रतिशत, विद्युतीय पंखा प्रयोग गर्ने ५५.५ प्रतिशत, रेफ्रिजेरेटर प्रयोग गर्ने ३४.७ प्रतिशत, वासिङ मेसिन प्रयोग गर्ने जनसंख्या २.७ प्रतिशत, इअर कन्डिशन प्रयोग गर्ने ०.४ प्रतिशत र २.८ प्रतिशतले कुनै पनि सुविधा उपभोग नगर्ने तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै, सार्वजनिक तथ्याङ्क अनुसार तनहुँमा मगर समुदायको जनसंख्या बढि रहेको छ । तथ्याङ्क अनुसार २६.०४ प्रतिशत मगर, ११.४७ प्रतिशत क्षेत्री, ११.४२ प्रतिशत ब्राम्हण-पहाड, १०.९६ प्रतिशत गुरुङ, ८.२० प्रतिशत विश्वकर्मा, ७.६४ प्रतिशत नेवाः -नेवार), ४.९२ प्रतिशत मिजार, ३.६९ प्रतिशत परियार, २.७२ प्रतिशत कुमाल र २.३९ प्रतिशत ठकुरी जातजातिको जनसंख्या रहेको छ।

तथ्यांकका अनुसार तनहुँ जिल्लामा ६७ वटा जातीका बासिन्दा बसोबास गर्छन् । त्यसैगरि हिन्दु धर्मावलम्बीको संख्या ८४ प्रतिशत, बौद्ध धर्म मान्नेको संख्या ९.७३ प्रतिशत, क्रिष्चियन धर्म मान्नेको संख्या २.३ प्रतिशत तथा इस्लाम धर्म मान्नेको संख्या १.५६ प्रतिशत रहेको छ । तनहुँका पुरुष ३३३३९ र महिला ४०३३ गरि ३७३७२ जना बिदेशमा कार्यरत रहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको अध्यक्षतामा आयोजित जिल्लास्तरीय नतिजाको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वग्लेले आधिकारिक तथ्याङ्क लिने/दिने जिम्मेवारी निकाय अब स्थानीय पालिका बन्नुपर्ने बताए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले १०/१० वर्षमा गर्ने राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्कको आधारमा मुलुकका तीन वटै तहका सरकारले नीति तथा कार्यक्रम बनाएर कार्यान्वनमा ल्याउनेपर्ने बताउँदै प्रमुख वाग्लेले भने, ‘राष्ट्रिय जनगणना २०७८ ले देखाएको तथ्याङ्काले जनसंख्याको घट्दो वृद्धिदर चिन्ताजनक रहेको र युवा जनशक्तिको बढ्दो जनसंख्यालाई मुलुकभित्रै रोजगारीको वातावरण सृजना गरी लाभ लिन सक्नुपर्दछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker