सम्पादकीय : सचेतना, सरोकार र प्रविधिको सही प्रयोग

“प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारासहित नोभेम्बर २५ देखि ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसाका विरुद्ध विश्वव्यापी रूपमा सञ्चालित यो अभियान कुनै साधारण सम्झना मात्र होइन, महिला अधिकार, न्याय र सुरक्षित समाज निर्माणका लागि सुरू गरिएको एक ऐतिहासिक सचेतनाको निरन्तरता हो । सन् १९८१ मा ल्याटिन अमेरिकाबाट सुरु भएको यो आन्दोलन डोमिनीकन गणतन्त्रका पेटिया, मिनार्मा र मारिया– तीन दिदीबहिनीको सामूहिक हत्याबाट प्रेरित छ। तत्कालीन तानाशाह त्रिजुलो सरकारको विरोधमा उभिएका यी तीन राजनीतिक कार्यकर्तालाई २५ नोभेम्बरमा निर्ममतापूर्वक हत्या गरियो। उनीहरूका समर्थकले सुरुवात गरेको विरोध आन्दोलन क्रमशः विश्वभर फैलियो र सन् १९९१ मा संयुक्त राष्ट्रसंघले २५ नोभेम्बरलाई ‘महिला विरुद्ध हुने हिंसा उन्मूलन दिवस’का रूपमा स्वीकृत ग¥यो । यसदिन विश्वका ७० भन्दा बढी देशमा यो अभियान एकसाथ मनाइन्छ, जसले लैङ्गिक हिंसा केवल कुनै समुदाय वा देशको समस्या नभई सम्पूर्ण मानवजातिको साझा चुनौती भएको सन्देश दिन्छ ।
नेपाल पनि यस अभियानको सक्रिय सहभागी हो, तर विडम्बना– यहाँ महिलामाथि हुने हिंसाका रूप, संख्या र प्रकृति अझै न्यूनिकरण हुन सकेका छैनन् । विभिन्न अध्ययनले देखाउँछ– विश्वभर प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छिन् । आश्चर्यजनक रूपमा, धेरैजसो हिंसा पीडितकै नजिकका, प्रेमी, पति वा आफन्तबाटै हुने गरेको तथ्य चिन्ताजनक छ। घरेलु हिंसा, यौनजन्य दुव्यवहार, सामाजिक बहिष्कार, मानसिक पीडा, सम्पत्तिमा पहुँच रोकावट, टेक्नोलोजीमार्फत गरिने साइबर हिंसा–सबैका विषयमा अहिले पनि हजारौँ घटना सार्वजनिक हुँदै आएका छन्, तर अकल्पनीय रूपमा धेरै घटना अझै घरभित्रै थुनेर बसाइएका छन् । १६ दिने अभियानले यिनै लुकेका पीडा उजागर गर्ने, पीडितलाई आवाज दिने र राज्य तथा समाजको जिम्मेवारी पुनः स्मरण गराउने काम गर्छ। यसै अन्तर्गत पहिलो दिन ‘सेतो रिबन अभियान’ सुरु गरिन्छ। अभियानकै क्रममा डिसेम्बर १ मा विश्व एड्स दिवस, डिसेम्बर ३ मा विश्व अपाङ्गता दिवस मनाइन्छ र अन्तिम दिन डिसेम्बर १० मा विश्व मानवअधिकार दिवस मनाउँदै यो अभियान समापन हुन्छ। यसले स्वास्थ्य, मानवअधिकार, समानता र मर्यादित जीवनका विषयलाई एउटै धरातलमा राखेर बुझ्न मद्दत गर्छ।
तर, पछिल्ला वर्षमा बढ्दो प्रविधि प्रयोगले हिंसाका स्वरूप बदलिएका छन्। सामाजिक सञ्जालमार्फत बदनाम गर्ने, ब्ल्याकमेल गर्ने, निजी तस्बिर दुरुपयोग गर्ने तथा अनलाइन ह्यारेस्मेन्टका घटना बढिरहेका छन् । धेरैजसो पीडितले परिवार, समाज वा प्रहरीसमक्ष उजुरी गर्नसहित सुरक्षा खोज्न पनि हिम्मत गर्न सकिरहेका छैनन्। सुरक्षा संयन्त्रले साइबर अपराधका जटिल स्वरूप बुझेर पीडितमैत्री प्रणाली निर्माण गर्न अत्यावश्यक छ। प्रविधिको सही प्रयोग– भएको हिंसा उजागर गर्न, प्रमाण सुरक्षित गर्न र कानुनी प्रक्रिया सहज बनाउन– अभियानको नाराजस्तै प्रभावकारी माध्यम बन्न सक्छ । नेपालमा दशकौँदेखि सरकार, संघसंस्था, महिला अधिकारकर्मी र नागरिक अभियन्ताले लैङ्गिक हिंसाविरुद्ध अभियान चलाउँदै आए पनि विभेद र दमनको संरचना सहजै टुट्न सकेको छैन । संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प गरे पनि व्यवहारमा धेरै चुनौती बाँकी छ। कतिपय घटना आफन्तबाटै, कतिपय जिम्मेवार पदमा बसेकाबाट हुने गरेको यथार्थ दुःखद छ। अपराधी कानुनको कठघरामा नआउने, राजनीतिक संरक्षण पाउने, शक्तिको दुरुपयोग हुने, आर्थिक प्रलोभन फैलिने, नातावाद–कृपावाद हाबी हुने– यी सबै प्रवृत्तिले पीडितको न्यायको बाटो रोकिदिन्छ ।
यसबाहेक, सामाजिक लाञ्छनाको डरले धेरै पीडित मौन बस्न बाध्य छन्। उनीहरूको मौनता अपराधीका लागि संरक्षणको कवच बन्छ, समाजका लागि कलंक, र राज्यका लागि असफलताको सूचक । मानिसले सबैभन्दा बढी विश्वास गर्ने आफन्तकै हातबाट हिंसा हुने क्रम बढ्नु अनि समाज दिनदिनै असुरक्षित हुँदै जानु गम्भीर चिन्ताको विषय हो । लैङ्गिक हिंसा अन्त्य राज्य, समाज र व्यक्तिगत चेतना– तीनै तहको साझा जिम्मेवारी हो। कानुन सशक्त हुनैपर्छ, तर त्यतिले मात्रै पुग्दैन। विद्यालयदेखि समुदायसम्म लैङ्गिक समानता र सम्मानबारे निरन्तर शिक्षा आवश्यक छ। स्थानीय तहदेखि केन्द्रसम्म सुरक्षित वातावरण, उजुरीका पहुँचयोग्य संरचना, सीपयुक्त प्रहरी, द्रुत न्याय सेवा– यी सबै अनिवार्य पूर्वशर्त हुन् । १६ दिने अभियान वर्षेनी मनाइन्छ, तर यसको प्रभाव निरन्तर रहनुपर्छ। उत्सव होइन, प्रतिबद्धता बन्नुपर्छ। नारामा होइन, व्यवहारमा देखिनुपर्छ। प्रविधिको सही प्रयोग, समाजको जागरण, राज्यको उत्तरदायित्व र हाम्रो व्यक्तिगत संवेदनशीलता– यिनै चार आधारले मात्र लैङ्गिक हिंसामुक्त नेपालको पहिचान स्थापित गर्न सक्छ । अभियानको सार पनि यही हो– हिंसा उन्मूलनका लागि आवाज उठाऔँ, प्रविधि सचेत रूपमा प्रयोग गरौँ र समानताको संस्कृतिसहित सुरक्षित समाज निर्माण गरौँ।









