मुस्ताङको घरपझोङ गाउँपालिकाको टोलीद्वारा व्यासको अध्ययन भ्रमण

दमौली : मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनको नेतृत्वमा ३२ सदस्यीय जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन तथा अन्य प्रशासनिक र विकास गतिविधिहरूको अध्ययन तथा छलफल गरिएको छ ।
टोलीले व्यास नगरपालिकामा हाल सञ्चालनमा रहेको फोहोर वर्गीकरण कार्यक्रमको निरीक्षण गर्दै त्यसको प्रभावकारिता र विस्तार सम्भावनाबारे जानकारी लिएको थियो। व्यासले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै रूपमा संकलन गरेर प्रभावकारी तरिकाले व्यवस्थापन गरिरहेको छ, जसले स्थानीय स्तरमै दिगो विकासमा योगदान पु¥याएको जनाइएको छ ।
यी दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय केही महिना पहिले नै भै सकेको छ। यस सम्बन्धले दुई पालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई आपसी अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्दै दुबै पक्षको समृद्धि र विकासका लागि सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनले व्यासको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नेपालका विभिन्न स्थानीय तहहरूलाई उत्प्रेरणा दिन सक्ने उल्लेख गरे ।
व्यासका प्रमुख वैकुण्ठ न्यौपानेले भगिनी सम्बन्ध मार्फत दुबै नगरपालिकाबीचको सम्बन्ध अझ सुदृढ हुने र व्यास क्षेत्र र मुक्तिनाथ क्षेत्र बीच धार्मिक एवं पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । छलफलपछि टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र र अन्य विकासीय योजनाहरूको अवलोकन समेत गरेको छ ।










