म्याग्देका जनप्रतिनिधिलाई योेजना तर्जुमा प्रशिक्षण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको साझेदारी र म्याग्दे गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुका लागि योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक प्रशिक्षण दिएको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकारका विषयमा जानकारी मिल्नेमा विश्वास व्यक्त गरे ।
यस्तै, अभिमुखीकरण कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले अभिमुखिकरण कार्यक्रमले जनप्रतिनिधीलाई काम कर्तव्य र अधिकारीको बारेमा शुसुचित हुने अवसर प्राप्त गर्ने बताए । जनप्रतिनिधिहरुले जनताका कामका बारेमा जानकारी लिने र कार्यन्वयन गर्ने हो भने जनताले सहज सेवा पाउने समेत विश्वास व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जनप्रतिनिधि सधै अनभिज्ञ बन्दा कार्यसम्पादनमा कठिनाई आएको र यसको व्यवहारिक कार्यान्वयनमा प्रशिक्षण फलदायी हुनेमा विश्वास व्यक्त गरे ।
स्थानीय विकास प्रशिक्षणका उपनिर्देशक हरिकृष्ण कोइराला, श्रोत व्यक्ति उदय खनाल लगायतले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई जनप्रतिनिधिको हक अधिकार विषयमा सहजिकरण गर्ने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
दुइ दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा स्थानीय तहको काम कर्तव्य र अधिकार, वडा समिति र वडाध्यक्षको काम कर्तव्य र अधिकार, संघ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्धलगायतका विषयमा सहजिकरण गरिने भएको छ ।
स्थानीय तहको राजश्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण, स्थानीय तहमा उपभोक्ता समितिको गठन, काम कर्तव्य र अधिकार, व्यवहारिक समस्या केन्द्रित छलफल र सार्वजनिक खरिद, विकास योजना, भवन निर्माण सम्वन्धी आचार संहिता तथा मापदण्ड कार्यक्रम, मुल्याङ्कन लगायतका विषयमा अभिमुखिकरण गरिने भएको छ ।
यस्तै, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, मध्यमकालिन खर्च संरचन, सकारात्मक सोच र स्थानीय तहमा सुशासन प्रवर्द्धन, स्थानीय तहको असल अभ्यास र संघ र प्रदेश र अन्तरसम्बन्धका विषयमा सहजिकरण गरिएको अधिकारीले बताए ।










