तनहुँका १८ हजार बढी बालबालिकालाई पोलियो विरुद्धको आइपीभी खोप लगाइदै

तनहुँका १८ हजार भन्दा बढी बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने भएको छ। स्वास्थ्य कार्यालय तनहुँले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी आइपीभी खोप कार्यक्रमका विषयमा जानकारी गराएको छ ।

कार्यालयले २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी गरेको छ । कार्यालयका अनुसार जेठको १४ देखि २८ गतेसम्म दुइ चरणमा खोप लगाइने भएको छ । जसका लागि १० वटा स्थानीय तहमा ५२७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

डब्लूएचओ पोखराका प्रतिनिधि डा. राम शर्माले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका उक्त खोपबाट बञ्चित भएकाले यस पटक खोप अभियान सञ्चालन गरिएको बताए ।

उनका अनुसार, २०७० चैत १३ मा दक्षिण एशियाका सबै मुलुकमा पोलियोको बिरामी शून्य अवस्थामा रहेको घोषणा गरिएको थियो । तर, पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी देखा परिरहेकाले ती देशबाट पोलियो संक्रमण हुन सक्ने सम्भावना भएकाले खोपलाई निरन्तरता दिनुपरेको बताए ।

पोलियो भएकामध्ये ३ प्रतिशतलाई पक्षघात हुने र त्यसको उपचार नभएकाले संक्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ । जिल्लाका १८ हजार ५८१ जना बालबालिकाका लागि पहिलो चरणमा जेठ १४ गतेदेखि २८ गतेसम्म आइपीभी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शकरबाबु अधिकारीले बताए ।

विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन ५२७ स्थानमा खोप लगाइने उनले बताए । कुनै पनि बालबालिका आइपीभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित ४३५ जना स्वास्थ्यकर्मी तथा स्वयंसेवक खटाइने अधिकारीले जानकारी दिए । स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाउने उनले बताए । खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिने उनले बताए ।

खोप अधिकृत अधिकारीले भने, ‘विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो, नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार ७१२ जना बालबालिकालाई आइपीभी खोप लगाउने तयारी छ ।’

तनहुँमा पहिलो चरणमा व्यास, देवघाट, आँवुखैरेनी, बन्दीपुर र म्याग्दे गरी ३८ वटा वडाका ११५ केन्द्रमा जेठ १४ गतेदेखि २० गतेसम्म र दोस्रो चरणमा भानु, शुक्लागण्डकी, ऋषिङ, घिरिङ र भिमादका ४७ वडामा जेठ २२ गतेदेखि २८ गतेसम्म १२३ केन्द्रमा खोप अभियान सञ्चालन गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker