सडकमै तगारो !

एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ । खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ । गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेस्याइएका दुइ वटा फलामे तगारा पार गर्नुपर्छ । यो कास्कीको चिप्ली गाउँको अवस्था हो । तगाराको माथिपट्टि सानो सूचना पाटी राखिएको छ । सूचनामा लेखिएको छ, “सवारीचालकज्यूहरु, कृपया तगारो लगाउनुहोला । यदि तगारो नलगाएमा जरिवाना रु पाँच सय तिर्नुपर्नेछ । तपाइलाई हेरालाले लुकेर हेरिरहनुभएको छ, धन्यवाद।”

सोही सूचना हेरेर सवारीचालकले पहिले आफ्नो सवारीसाधन रोक्छन्, तगारो खोल्छन्, सवारीसाधन छिराउँछन् र तगारो लगाएर गन्तव्यतिर लाग्छन् । मादी गाउँपालिका-६ स्थित चिप्ली हुँदै मादी-१ को पर्यटकीय गाउँ सिक्लेस जोड्ने सडकमा गाउँलेहरुले तगारो लगाउने गरेका हुन् ।

बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी-१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो । “चिप्ली, सिक्लेसलगायत यहाँका अरु गाउँमा पनि तगारो लगाउने चलन छ”, उहाँले भन्नुभयो, “चरनमा छाडिएका गाईबस्तु गाउँ छिर्नबाट रोक्न तगारो लगाइन्छ ।”

सवारीसाधनको आवातजावतमा तगारोले समस्या उत्पन्न गरेकाले अर्को विकल्प खोज्नुपर्ने वडाध्यक्ष गुरुङले बताउनुभयो । एउटै गाउँमा दुइपटकसम्म सवारीसाधन रोक्दै तगारो हटाएर यात्रा गर्नुपर्दा झन्झट हुने गरेको सवारीचालक बताउँछन् । “पर्यटकीय क्षेत्र पनि भएकाले सडकमा बाधा उत्पन्न हुँदा सकारात्मक सन्देश जाँदैन”, उहाँले भन्नुभयो, “तगारो लगाउनु स्थानीयवासीको बाध्यता भएपनि अब छुट्टै विकल्प खोज्नुपर्छ ।”

चिप्लीको सिद्ध युवा क्लबका अध्यक्ष नारायण गुरुङले आफैँले पनि गाउँ आवतजावत गर्दा सास्ती खेप्नुपरेको बताउनुभयो । “प्रवेशद्वार वा अन्य कुनै सजिलो विकल्प खोज्नुपर्छ, हामीले गाउँमा पनि यस विषयमा छलफल गरिरहेका छौ”, उहाँले भन्नुभयो, “यसको समाधानका लागि वडा कार्यालयले केही पहल गरोस् भन्ने हाम्रो माग छ ।”

पोखरा-सिक्लेस सडक स्तरोन्नतिसँगै सवारीसाधनको आवातजावत बढ्दै गएकाले तगारोले चालक र यात्रुलाई समस्या थपेको क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । “एकातिर समय खेर जाने, अर्कोतिर सवारीचालकलाई दुःख र झन्झट भइरहेको छ”, उहाँले भन्नुभयो, “परम्परागतरुपमा गाउँमा तगारो लगाउने चलन सडक आएपछि उपयुक्त देखिएको छैन, यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।” तगारो लगाउनु सडकको नियम विपरीतसमेत भएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत काहुँखोला-सिक्लेस-दूधपोखरी सडक अन्तर्गत उक्त खण्ड पर्दछ । मादी-१ को कोरी र कपुचे तालको पदयात्रामा जाने पर्यटक पनि सोही सडक ओहोरदोहोर गर्छन् । विजयपुरखोलाबाट थाकसम्म १० किमी सडक कालोपत्र भएपछि सिक्लेस, चिप्लीलगायत मादीका पर्यटकीय गाउँको यात्रा थप सहज बनेको छ ।

थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्रका लागि ग्रेड र सब-बेस मिलाउने काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । वडाध्यक्ष गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताउनुभयो ।

“अहिले पोखराबाट गाडीमा साढे दुइ घण्टामा आउन सक्छन्। कालोपत्र सडक सिक्लेससम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ”, उहाँले भन्नुभयो, “बाँकी सडक कालोपत्रका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।” पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ ।

प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको संगमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्‍याउने गरी चार वर्षघि उक्त आयोजना सुरु गरेको थियो । वडाध्यक्ष गुरुङले सडकले सिक्लेस सहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताउनुभयो । “सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्राउन सकिन्छ”, उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker