सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण झण्डै छ महिनायता सुनसान बनेको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको यो पदमार्ग अघिल्लो वर्ष चैतदेखि जारी बन्दाबन्दीपछि सुनसान बनेको थियो ।

बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्र सञ्चालनमा आएका कारण पछिल्लो समयमा पदमार्ग क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले पदयात्रा मार्ग र यसका सम्भावनालाई उजागर गर्दै अधिकतम पर्यटकलाई उक्त क्षेत्रमा पु¥याउने दीर्घकालीन सोचका साथ पूर्वाधार विकासका कामलाई पनि उच्च प्राथमिकतामा राखेको छ ।

पदमार्ग क्षेत्रमा पर्ने धार्मिक एवम् ऐतिहासिक स्थल, दृश्यावलोकन स्थल, घरवासलगायत विषयलाई समेटेर विस्तृत गुरुयोजना बनाइएको उहाँले बताउनुभयो । समितिले पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्की लगायतको संरक्षण र उपयोग गर्दै यहाँको पर्यटकीय विकास गरिरहेको गुरुङले बताउनुभयो ।

पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको समितिले पूर्वाधार एवम् स्थानीयवासीको क्षमता विकासका साथै अध्ययन अनुसन्धानको पाटोलाई निरन्तरता दिने तयारी गरेको छ । छवटा प्रमुख उद्देश्यका साथै अन्य २४ वटा रणनीतिक उद्देश्यसहित पाँच वर्षको अवधिमा विभिन्न ९२ वटा कार्यक्रम सञ्चालन गर्ने विषयलाई समितिले गुरुयोजनामा समेटेको छ ।

पदयात्रा मार्गमा पर्यटक लक्षित होटेल ता रेष्टुरेन्ट खोल्ने क्रमले पनि गति लिएको र हाल १७ वटा होमस्टे सञ्चालनमा आइसकेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो । प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस क्षेत्रमा प्रचलित मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाटु, ब्राम्ह्ण, क्षेत्रीको बालन लगायतका संस्कृतिको संरक्षणलाई पनि जोड दिएको उहाँले बताउनुभयो ।

विश्वमा नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर यस क्षेत्रमा पर्याप्त पाइने र चरा पर्यटनमा रुचि राख्नेहरूका लागि पनि यो पदमार्ग आकर्षक गन्तव्य बन्दै गएको उहाँको भनाइ छ । पदमार्गमा आउने पर्यटकलाई आफू पुग्ने स्थानको जानकारी होस् भन्ने उद्देश्यका साथ अघिल्लो वर्ष विभिन्न ४० स्थानमा सङ्केत दिने सूचना पाटी राखिसकिएको छ । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ समेतलाई लक्षित गरी पूर्वाधार निर्माण अघि बढाइएको भए पनि एकाएक रुपमा फैलिएको कोरोना भाइरसले विकास निर्माणमा प्रभाव पारेको महासचिव गुरुङको भनाइ छ ।

झण्डै छ महिनाभन्दा बढी सुनसान बनेको पदमार्ग क्षेत्रमा कोरोना सङ्क्रमणका बाबजुद सुरक्षा मापदण्ड पालना गर्दै पूर्वाधार विकासका धेरै काम गर्न सकिएको उहाँले बताउनुभयो । आन्तरिक पर्यटकको आगमनले पुनः उत्साहित बनाएको बताउँदै उहाँले पर्यटक लक्षित पूर्वाधार एवम् अन्य कार्यक्रमलाई अघि बढाउँदै जाने बताउनुभयो ।

सन् २००० बाट खुलेका कारण मिलेनियम (सहस्राब्दी)पदमार्ग नामकरण गरिएको यस पदमार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छुन्छ । कूल ६ रात ७ दिनमा यात्रा गर्न सकिने यस पदमार्गको कोल्माकोट, भैंसेगौंडा, फारथुँ, बुढाकोट लगायतका स्थानबाट एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ«े, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । पदयात्रा मार्गका १७ गाउँमा सञ्चालित सामुदायिक होमस्टेमा स्थानीय परिकारको स्वाद लिन पाइने मिलेनियम ट्रेक व्यवस्थापन समितका सदस्यसमेत रहेका मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो । “पछिल्ला दिन होमस्टेमा समूहगत रुपमा आन्तरिक पर्यटक आउने क्रम बढिरहेको छ, लामो समयसम्म रोकिएका पर्यटकीय गतिविधि आगामी दिनमा राम्रैसँग बढ्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker