राजनीति र सुरक्षाको सम्बन्ध

लक्ष्मी श्रेष्ठ

मानव सभ्यताको विकाससँगै राजनीति र सुरक्षा एक–अर्काबाट अलग गर्न नसकिने दुई आधारस्तम्भ बनेका छन् । राजनीति भनेको शासन गर्ने कला, नीति निर्माण गर्ने प्रक्रिया र जनताको आकाङ्क्षा पूरा गर्ने माध्यम हो भने सुरक्षा भनेको नागरिक, समाज र राष्ट्रलाई आन्तरिक तथा बाह्य सम्भावित खतराबाट जोगाउने व्यवस्था हो । मुलुकमा राजनीति स्थिरता नभएसम्म सुरक्षामा कमजोरी आउँछ, र सुरक्षा कमजोर भए राजनीति अस्थिरता हुन्छ । यसरी हेर्दा राजनीति र सुरक्षा अविभाज्य सम्बन्धमा गाँसिएका छन् । सो कुरा इतिहासदेखि वर्तमानसम्म देख्न सकिन्छ ।

एकातर्फ राजनीति नै सुरक्षा नीतिको दिशा निर्धारण गर्ने माध्यम हो । मुलुकमा कस्तो प्रकारको रक्षा व्यवस्था हुने, सुरक्षा निकायहरूको संरचना कस्तो हुने, कुन खतरा राष्ट्रिय सुरक्षाका लागि प्राथमिक मानिने भन्ने प्रश्नमा अन्तिम निर्णय राजनीतिक नेतृत्वले नै गर्छ । यसरी हेर्दा राजनीति नै सुरक्षा प्रणालीको मेरुदण्ड हुन्छ । तर अर्कोतर्फ सुरक्षा बिना राजनीति पनि स्थिर रहन सक्दैन । जनताले शान्ति र सुरक्षाको अनुभूति नगरीकन लोकतान्त्रिक अभ्यास सफल हुँदैन । नेपालको ‘जेन–जी’ आन्दोलन यसको ज्वलन्त उदाहरण हो । अपराध, आतंकवाद, दण्डहिनता वा असुरक्षाको वातावरण बढेमा राजनीतिक प्रणाली नै संकटमा पर्न सक्छ । इतिहासमै हेर्दा पनि असुरक्षा बढ्दा शासन परिवर्तन, विद्रोह वा युद्धको स्थिति उत्पन्न हुने गरेका छन् । राजनीति र सुरक्षाको सम्बन्ध सधैं सकारात्मक मात्र हुँदैन । कहिलेकाहीँ राजनीतिक स्वार्थका लागि सुरक्षा संयन्त्रलाई प्रयोग गर्ने प्रवृत्ति पनि देखिन्छ । यसले सुरक्षा निकायको विश्वासनीयता घटाउँछ र लोकतन्त्रलाई कमजोर बनाउँछ । त्यसैले सुरक्षा संस्थालाई निष्पक्ष, व्यावसायिक र राष्ट्रहितमा केन्द्रित राख्नु राजनीतिक नेतृत्वको उत्तरदायित्व हो ।

आजको विश्वमा सुरक्षा केवल सैन्य वा भौतिक मात्र नभई आर्थिक, सामाजिक, वातावरणीय र साइबर क्षेत्रमा पनि फैलिएको छ । यसलाई सम्बोधन गर्न गहिरो राजनीतिक दृष्टि, दीर्घकालीन रणनीति र जनताको सहभागिता आवश्यक पर्छ । राष्ट्रको सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, आपसी विश्वास र शान्तिपूर्ण सहअस्तित्वमा राजनीति र सुरक्षा दुवैको योगदान अपरिहार्य हुन्छ। राजनीति स्थिर भए मात्र सुरक्षा प्रभावकारी हुन्छ, र सुरक्षा सुनिश्चित भए मात्र राजनीति जनउत्तरदायी र सबल बन्न सक्छ । यी दुवैलाई सन्तुलित रूपमा अघि बढाउन सके राष्ट्रले शान्ति, समृद्धि र प्रगतिपथमा कदम चाल्न सक्छ । राज्य सञ्चालन, जनताको सुरक्षाबोध, र राष्ट्रिय हितबीचको गहिरो अन्तरसम्बन्ध नै राजनीतिक सुरक्षा हो ।

राजनीतिक नेतृत्वले मुलुकको रक्षानीति, आन्तरिक सुरक्षाको स्वरूप, कानुन व्यवस्था र सुरक्षा निकायहरूको संरचना तय गर्छ । कुन कुरा राष्ट्रिय सुरक्षाका लागि खतरा हो भन्ने मूल्याङ्कन पनि राजनीतिक तहबाट नै हुन्छ । राजनीतिक स्थायित्वका लागि शान्ति, कानुनको पालना, र नागरिकको शारीरिक–मानसिक सुरक्षा जरुरी हुन्छ । असुरक्षा (जस्तै आतंकवाद, अपराध, दण्डहीनता) बढे राजनीति अस्थिर हुन्छ । सुरक्षा संस्थाको राजनीतिकरणले भने दीर्घकालीन अस्थिरता निम्त्याउँछ । सीमा सुरक्षा, कूटनीतिक सम्बन्ध, आन्तरिक विद्रोह वा द्वन्द्व समाधान, साइबर सुरक्षा जस्ता क्षेत्रमा राजनीति नै निर्णायक हुन्छ। राम्रो राजनीतिक दृष्टि भए मात्र समग्र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न सकिन्छ । राजनीति स्थिर हुँदा सुरक्षाको स्तर उकासिन्छ । सुरक्षा सुनिश्चित हुँदा मात्र लोकतान्त्रिक अभ्यास सफल हुन्छ । राजनीति बिना सुरक्षाको स्पष्ट दिशा हुँदैन र सुरक्षा बिना राजनीति स्थिर रहँदैन ।

राजनीतिले मुलुकको सुरक्षा नीतिलाई मार्गनिर्देशन गर्छ । जस्तै वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि सुरक्षा संयन्त्रको पुनर्गठन गर्न राजनीतिक नेतृत्वले ठुलो भूमिका खेलेको थियो । त्यतिबेला प्रहरीको संरचना, सेना र नागरिक प्रशासनबीचको सम्बन्ध राजनीतिक तहबाट नै निर्धारण गरिएको थियो । त्यसैले रक्षा नीति, परराष्ट्र नीति र सुरक्षा रणनीति प्रत्यक्ष रूपमा राजनीतिले तय गर्छ । राजनीति बिना सुरक्षा संयन्त्रले दीर्घकालीन दृष्टिकोण पाउन सक्दैन । नेपालको माओवादी जनयुद्ध (२०५२–२०६२) को समयमा असुरक्षा र द्वन्द्व बढ्दा संसद् विघटन, आपतकालीन शासन, र राजतन्त्रको पुनः उदय हुन पुग्यो । श्रीलंकामा लामो समयसम्म चलेको तमिल विद्रोहका कारण राजनीति अस्थिर रह्यो। अफगानिस्तानमा सुरक्षा कमजोर हुँदा लोकतान्त्रिक राजनीति स्थिर हुन सकेको छैन ।

सकारात्मक पक्षसँगै राजनीति र सुरक्षाको नकारात्मक पाटो पनि छ । राजनीतिक दलहरूले प्रायः आफ्नो सत्ता जोगाउन सुरक्षा निकायलाई प्रयोग गर्ने प्रवृत्ति देखिन्छ । नेपालमै चुनावका बेला प्रहरी वा प्रशासनलाई राजनीतिक दबाबमा प्रयोग गर्ने आरोप प्रायः सुनिन्छ । तानाशाही मुलुकहरूमा सेना र प्रहरीलाई जनताको विरोध दमन गर्न प्रयोग गरिन्छ, जसले दीर्घकालीन अस्थिरता जन्माउँछ । यसैले सुरक्षा संयन्त्रलाई दलगत राजनीतिबाट टाढा राखेर राष्ट्रहितमा मात्र प्रयोग गर्नु जरुरी हुन्छ ।

आज सुरक्षा केवल सीमा रक्षा वा सेना–प्रहरीमै सीमित छैन । आर्थिक, सामाजिक, पर्यावरण, साइबर सुरक्षा आदि यसका क्षेत्रहरु हुन् । बेरोजगारी, गरिबी र असमानताले राजनीतिक अस्थिरता ल्याउँछ । जस्तै अरब मुलुकहरूमा भएको “अरब स्प्रिङ” आन्दोलन आर्थिक असमानताकै कारण उत्पन्न भएको थियो। जातीय, धार्मिक वा सांस्कृतिक असमानताले पनि सुरक्षा चुनौती सिर्जना गर्छ । नेपालमा मधेश आन्दोलनले यही कुरा देखाएको थियो । अहिलेका दिनमा साइबर आक्रमण राष्ट्रको राजनीतिक स्थायित्वकै लागि खतरा हुन सक्छ । अमेरिकामा भएको “इलेक्सन ह्याकिङ” वा भारत–पाकिस्तानबीचको साइबर द्वन्द्व यसका उदाहरण हुन् । जलवायु परिवर्तन, प्राकृतिक विपत्ति वा संसाधनको अभावले पनि राजनीति अस्थिर बनाउन सक्छ । अफ्रिकाका केही देशमा पानीको अभावले संघर्ष र विद्रोह उत्पन्न भएको छ । यसरी, सुरक्षाको दायरा फराकिलो बन्दै गएकाले राजनीतिक नेतृत्व अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।

नेपाल जस्तो भौगोलिक दृष्टिले संवेदनशील देशमा राजनीति र सुरक्षा अझ नजिकसँग सम्बन्धित छन् । दुई ठूला छिमेकी भारत र चीनबीचको सन्तुलित सम्बन्ध कायम गर्नु राजनीतिक रूपमा जटिल भएपनि सुरक्षा दृष्टिले अपरिहार्य छ । आन्तरिक रूपमा जातीय, भाषिक, धार्मिक विविधता भएको नेपालमा राजनीतिक सहमति र समावेशी नीति नै सामाजिक सुरक्षा सुनिश्चित गर्ने माध्यम हो । भूकम्प (वि.सं. २०७२) जस्ता प्राकृतिक विपत्तिमा पनि सुरक्षाको भूमिका महत्वपूर्ण देखियो । त्यस्तो अवस्थामा राजनीतिक नेतृत्वकै निर्णयले जनताको सुरक्षा सुनिश्चित ग¥यो । राजनीति स्थिर हुँदा मात्र सुरक्षा संयन्त्र प्रभावकारी हुन्छ । सुरक्षा सुनिश्चित हुँदा मात्र राजनीति स्थिर रहन्छ । यी दुवैलाई सन्तुलनमा राख्न सकिएन भने मुलुक अस्थिरतामा फस्छ ।

लोकतान्त्रिक राजनीतिक प्रणालीमा नागरिकको स्वतन्त्रता, अधिकार र सुरक्षा सुनिश्चित हुन्छ। राजनीति यदि निरंकुश वा भ्रष्ट भयो भने, नागरिक स्वतन्त्रता संकुचित भई मानव सुरक्षामा खतरा आउँछ । राजनीतिक दलबीचको संघर्ष, आन्दोलन वा द्वन्द्व बढ्दा देशमा असुरक्षा फैलिन्छ । सरकार बारम्बार बदलिँदा सुरक्षा नीतिहरू पनि परिवर्तन हुन्छन्, जसले गर्दा सुरक्षामा कमजोरी आउन सक्छ। यसले सामाजिक शान्ति र विकासलाई पनि प्रभावित गर्छ । छिमेकी मुलुकसँगको राजनीतिक सम्बन्ध राम्रो भएमा सुरक्षा बलियो हुन्छ । तर, सम्बन्ध बिग्रिए बाह्य हस्तक्षेप वा खतरा बढ्न सक्छ । विशेषतः राजनीति बाटो देखाउने ‘नक्सा’ हो भने सुरक्षा त्यो बाटो सुरक्षित राख्ने ‘ढाल’ हो । दुवैबीच सहकार्य भए मात्र राष्ट्र बलियो र स्थिर रहन्छ ।

राजनीति नै सुरक्षाको दिशा देखाउने मार्गदर्शक हो भने सुरक्षा नै राजनीतिक स्थायित्वको आधार हो । नेपालसहित विश्वका धेरै मुलुकहरूले यस सम्बन्धलाई बेवास्ता गर्दा अस्थिरता, द्वन्द्व र विकास अवरुद्ध भएको देखिन्छ। त्यसैले, राजनीति र सुरक्षा दुवैलाई राष्ट्रहितमा केन्द्रित गर्दै निष्पक्ष, पारदर्शी र दीर्घकालीन रणनीतिमा अघि बढाउनु आजको प्रमुख आवश्यकता हो । शान्ति, स्थायित्व र समृद्ध नेपाल निर्माण गर्न राजनीति र सुरक्षाबीचको सन्तुलन र सहकार्य अपरिहार्य छ ।

राजनीति सुरक्षाको दिशा, दायरा र नीति तय गर्ने आधारशिला हो । सुरक्षाको बलियो आधारबिना राजनीति असुरक्षित रहन्छ । सुरक्षा संयन्त्रलाई राजनीतिक स्वार्थमा प्रयोग गर्नु लोकतन्त्र र राष्ट्रिय सुरक्षाका लागि चुनौतीपूर्ण हुन्छ । सुरक्षाको नयाँ आयामलाई सम्बोधन गर्न राजनीतिक नेतृत्व अझ जिम्मेवार र दूरदर्शी हुन आवश्यक छ ।

समग्रमा, राजनीति सुरक्षाको मार्गदर्शक हो भने सुरक्षा राजनीतिक स्थायित्वको पूर्वशर्त हो । नेपालसहित विश्वका कैयौं उदाहरणहरूले देखाएको छ कि राजनीति र सुरक्षाको सन्तुलन कायम गर्न नसक्दा राष्ट्र अस्थिरतामा फस्छ । त्यसैले राजनीति र सुरक्षा दुवैलाई निष्पक्ष, राष्ट्रहितमुखी र दीर्घकालीन रणनीतिमा अघि बढाउनु आजको आवश्यकता हो । शान्ति, स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि यी दुईबीचको सहकार्य र सन्तुलन अपरिहार्य छ । राजनीति र सुरक्षा एउटै सिक्काका दुई पाटा हुन् । राजनीति भनेको राष्ट्रलाई सञ्चालन गर्ने बाटो हो भने सुरक्षा भनेको त्यो बाटो सुरक्षित राख्ने ढाल हो । त्यसैले, दुवैबीच सहकार्य र सन्तुलन आवश्यक छ । स्थिर राजनीति र बलियो सुरक्षा नै शान्त, समृद्ध र सुरक्षित समाजको जग हो । (लेखक जनज्योति क्याम्पस भिमादका उपप्रध्यापक हुनुहुन्छ)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker