तनहुँमा नियमित बजार अनुगमन र खाद्य नमुना संकलन

दमौली : तनहुँमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खाद्य पदार्थको नमूना संकलनलाई तीव्र पारिएको छ । उपभोक्तालाई स्वच्छ खाद्य पदार्थको आपूर्ति गराउने उद्देश्यसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले नियमित रूपमा खाद्य पदार्थको नमुना सङ्कलन गर्दै आएको हो ।

पाँच वर्षदेखि नियमित रूपमा खाद्य पदार्थको नमूना सङ्कलन गरी परीक्षण गर्न थालिएको कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी दिए । उनले भने, “कार्यालयले नियमित रूपमा बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा खाद्य पदार्थको नमूना सङ्कलन गरी परीक्षण गरिन्छ । यसले उपभोक्तालाई स्वच्छ खाद्य पदार्थ उपयोग गर्न पाउने हक सुनिश्चित गर्न मद्दत गरेको छ ।”

आचार्यले आर्थिक वर्ष २०८१/८२ मा एक सय २४ नमूना सङ्कलन गरिएको बताउँदै तीमध्ये नौ वटा नमूना प्रतिकूल देखिएको जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा एक सयमध्ये नौ वटा प्रतिकूल, आव २०७९/८० मा ११३ मध्ये १८, आव २०७८/७९ मा ११० मध्ये १८ र आव २०७७/७८ मा १०२ नमूना संकलन गरिएकामा सात वटा प्रतिकूल देखिएका हुन् ।

आव २०८१/८२ मा तेल तथा घ्यूजन्यका १०, फल तथा सागपातका १८, मसलाका नौ, चियाकफीका छ, नूनका तीन, खाद्यान्न दलहनका ४१, प्रशोधित पिउने पानीका १३, गुलियो पदार्थका तीन, कन्फेक्सनरीका सात, हलुका पेयपदार्थका चार, अन्यका छ र अन्नमा आधारित खाद्यान्नका चार वटाको नमूना सङ्कलन गरिएको आचार्यले जानकारी दिए । कार्यालयले सो आवमा १७ वटा मुद्दा दायर गरेको थियो । उनले भने, “१३ वटा मुद्दा क्षेत्राधिकार रहेको कार्यालयमा प्रेषित गरिएका छन् ।”

कार्यालयले सोही वर्ष ८० खाद्य बजार अनुगमन गर्ने लक्ष्य राखेकामा १४४, चार दाना बजार अनुगमन गर्ने लक्ष्य राखेकामा १३, ५० होटल रेष्टुरेन्ट अनुगमन गर्ने लक्ष्य राखेकामा एक सय छ, २४ खाद्य उद्योग अनुगमन गर्ने लक्ष्य राखेकामा २२४, चार हाटबजार मेला महोत्सव अनुगमन गर्ने लक्ष्य राखेकामा पाँच, १२ संवेदनशील खाद्य पदार्थ अनुगमन गर्ने लक्ष्य राखेकामा ३४, आठ खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी उजुरी तथा गुनासो सम्बोधन गर्ने लक्ष्य राखेकामा २२ प्रगति हासिल गरेको जनाएकोछ ।

तनहुँसहित मनाङ, लमजुङ, गोरखा र नवलपुर कार्यक्षेत्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ। व्यास नगरपालिका–१० बैरेनीमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जनाउँदै प्रमुख आचार्यले जग्गा प्राप्त भएपछि बाँकी प्रक्रिया अघि बढाइने बताए ।

कार्यालयले खाद्य तथा दाना उद्योगहरू नियमित निरीक्षण, नियमन गर्ने, अनुमतिपत्रका लागि सिफारिस गर्ने, खाद्य, दाना बजार, होटल, रेष्टुरेन्ट, हाटबजार, मेला महोत्सवलगायत सेवामूलक क्षेत्रमा स्वच्छतासम्बन्धी अनुगमन तथा निरीक्षण गर्ने, खाद्य तथा दाना पदार्थको नमूना सङ्कलन गरी जाँच र विश्लेषणका लागि प्रेषित गर्ने, कैफियत प्राप्त नतिजा उपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा तथा अनुसन्धान अभियोजन गर्ने, खाद्य स्वच्छता, गुणस्तर र पोषणसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रदेश र स्थानीय तहसँगको समन्वयमा सम्पन्न गर्नेलगायत काम गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker