फागुन १२ गतेबाट चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा यही फागुन १२ गतेबाट चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव गरिने भएको छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइले महोत्सव आयोजना गरेको हो ।
महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य राखेको आयोजकले जनाएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने भएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको अध्यक्ष भिकेले बताए ।
महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरिएको छ। महोत्सवको सफल सञ्चालनका लागि आर्थिक व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, प्रचारप्रसार, सुरक्षा र सञ्चालन समिति लगायतका उपसमितिहरू गठन गरी जिम्मेवारी तोकिएको छ ।
व्यवसायी, सरोकारवाला निकाय स्थानीयवासीहरूको सहयोगमा महोत्सवलाई भव्य बनाउनका लागि तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ ।










