प्रतिनिधिसभा सदस्य निर्वाचन : ३४८७ उम्मेदवारमध्ये तनहुँमा उजुरी परेन, चार जिल्लाका पाँचविरुद्ध उजुरी

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएको उहाँले सुनाउनुभयो ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।

सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भर्पाई सम्बन्धित उजुरीकर्तालाई दिएको जनाइएको छ ।

निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । यसरी प्रकाशन गरिने सूचनामा जसकाविरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सो को सूचना पाएको मानिने व्यवस्था छ ।

आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उहाँले बताउनुभयो । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८७ को उम्मेदवारी दर्ता भएको छ ।

तनहुँमा उजुरी परेन

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत तनहुँ–१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको थियो । तर सो अवधिभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोग, नेपालको निर्देशनअनुसार सञ्चालन भइरहेको निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारविरुद्ध उजुरी नपरेपछि अब निर्वाचन कार्यक्रमअनुसार आगामी प्रक्रिया अगाडि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker