शुक्लागण्डकीका जनजातिलाई मातृभाषामा कार्यक्रम चलाउने तालिम

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा आदिवासी जनजातिलाई मातृभाषामा रेडियो कार्यक्रम सञ्चालन गर्ने तालिम प्रदान गरिएको छ । नेपाल आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्ले छ दिने मातृभाषामा रेडियो कार्यक्रम तालिम प्रदान गरेको हो ।
तालिमको सोमबार समापन गर्दै नेपाल आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का सल्लाहकार संयोजक एवं शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य खिमबहादुर कुमालले सिकाइलाई व्यवहारमा उतार्नुपर्ने बताए ।
सरकारले लगानी गरेपनि पैसा जनताले तिरेको करबाट विनियोजन हुने उनको भनाइ थियो । आदिवासी जनजाती समुदाय नीति निर्माण तहमा नपुगेसम्म भाषा संरक्षणमा राज्यले ध्यान नदिने उनको तर्क थियो । शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्गसिंह थापाले पहिचानको संरक्षण गर्दै आदीवासी जनजातिको पक्षमा बोल्नुपर्नेमा जोड दिए ।
आदीवासी जनजाती महासंघ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव एवं कार्यपालिका सदस्य विमल जिसीले मातृभाषा संरक्षणमा उर्जा थप्नुपर्ने बताए । भाषा जगेर्ना र जनमानसमा ल्याउनुपर्नेमा उनको जोड थियो । विद्यालयस्तरमा शिक्षा दिनलाई राज्यसत्ता समक्ष आवाज पु¥याउनुपर्नेमा जिसीको जोड छ।
कार्यक्रम संयोजक बिर्सना श्रेष्ठले मातृभाषा जोगाउने उद्देश्यले कार्यक्रम गरेको बताइन् । अरुलाई पनि आफ्नो भाषा संस्कारबारे बुझाउनुपर्ने उनको तर्क छ । भेषभुषा, संस्कार सँस्कृती जोगाउन आदावासी जनजाति समुदाय अग्रसर रहेको उनले सुनाइन् ।
आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का उपाध्यक्ष कूलकुमार कुमालको अध्यक्षतामा सञ्चालित तालिममा गुरुङ, मगर, नेवार, तामाङ, कुमाल, भुजेल समुदायका ९ जनाको सहभागिता रहेको सचिवालय सदस्य अमरराज थापाले जानकारी गराए। तलिमका सहभागीले अब कला, संस्कृति र भाषा संरक्षणमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।










