तनहुँमा सामाजिक विकास कार्यालय स्थापना
भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशको शिक्षा, संसकृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमै हाल कार्यालय रहने गरी कार्यालय सञ्चालन गरिएको हो ।
कार्यालयको गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यालयको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यो कार्यालयमा अन्य कार्यालयका सेवाग्राही भन्दा फरक खालका सेवाग्राही आउने भएकाले संवेदनशिल भएर सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
यस कार्यालयबाट बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह हुने र सोही उद्देश्यका लागि कार्यालय स्थापना गरिएको बताउँदै मन्त्री श्रेष्ठले प्रदेशका ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी गराए ।
‘प्रदेश सरकार जनताप्रति उत्तरदायी हुन र जनतासंग नजिक रहेर काम गर्ने उद्देश्य सहित सामाजिक विकास कार्यालय स्थापना गरिएको हो’, उनले भने, ‘मुलुकका तीनै तहका सरकारसंग सहकार्य र सहअस्तित्वका आधारमा समन्वय गरी काम गर्नुपर्छ ।’ ‘सबै नागरिक स्वास्थ र शिक्षित भएमात्रै देश विकास सम्भव रहेकाले हरेक नागरिकलाई शिक्षित र स्वस्थ बनाउने प्रदेश सरकार प्रतिवद्ध रहेको छ’, मन्त्री श्रेष्ठले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले जिल्लास्तरमा कार्यालय नहुँदा सेवाग्राहीले सेवा पाउन गाह्रो भएको महशुस गरी कार्यालय स्थापना गरेकामा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरिन । यस्तै, गण्डकी प्रदेश सभा सदस्य डोबाटे विक र सरिता गुरुङले जिल्लामा कार्यालय नहुँदा मन्त्रालयको सेवा लिन पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै आगामि दिनमा सामाजिक सुरक्षाका क्षेत्रका सेवा लिन सहज हुने विश्वास व्यक्त गरे ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधानको मर्म अनुसार धेरै कार्यालयको काम स्थानीय तहले गर्ने भनिएतापनि त्यसको सफल कार्यान्वयन हुन नसकेको बताए । सामाजिक क्षेत्र, संस्कृति संरक्षण र सम्बर्द्धनका लागि कार्यालयले काम गर्नुपर्ने बताउँदै उनले शिक्षा क्षेत्रमा राज्यको ठूलो लगानि भएको तर त्यसबाट यथोचित लाभ लिन नसकिएको हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ध्यान दिन जोड दिए ।
मन्त्रालयका महाशाखा प्रमुख तोयनाथ लम्सालले हालसम्म गण्डकी प्रदेशका पाँच जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको बताए । उनले बुधबारै गोरखा र विहीबार नवलपुरमा कार्यालय स्थापना गरिने जानकारी गराए । यस कार्यालयबाट हिंसापीडित महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा सेवा दिन कार्यालयका प्रमुख बुद्धिसागर घिमिरेले बताए । व्यास-३ स्थित सामाजिक विकास मन्त्रालय मातहतको महिला विकास कार्यालयको अलपत्र भवनलाई चाँडै सम्पन्न गरी सामाजिक विकास कार्यालय सोही भवनबाट सञ्चालन गर्ने तयारी गरिएको प्रमुख घिमिरेले बताए ।










