हप्ताको ६ दिन कक्षा सञ्चालन गर्न व्यास नगरपालिकाको आग्रह

दमौली : तनहुँको व्यास नगरपालिकाले विद्यालय सञ्चालनमा देखिएको अन्योल अन्त्य गर्दै हालका लागि हप्तामा ६ दिन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । वैशाख ७ गतेबाट शिक्षा समिति र कार्यपालिकाको निर्णयअनुसार नियमित पठनपाठन सञ्चालन गर्ने भनिए पनि संघीय सरकारबाट २१ गतेदेखि मात्र पढाइ सुरु गर्ने र १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने निर्देशन आएपछि अन्योल सिर्जना भएको जनाएको छ ।
शिक्षक, प्रधानाध्यापक तथा सम्बन्धित संघसंस्थासँग वैशाख १६ गते भएको छलफलमा हिउँदे, बर्खे तथा अन्य बिदा कायम रहँदा पढाइ प्रभावित हुने निष्कर्ष निकालिएको थियो । हप्तामा ६ दिन पढाइ हुँदा ३३ घण्टा र ५ दिन हुँदा २७ घण्टा मात्र हुने भएकाले विद्यार्थीको हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रमुख बैकुण्ठ न्यौपानले जानकारी गराएका छन् ।
यस्तै, फोहोर व्यवस्थापनमा देखिएको समस्याप्रति पनि नगरपालिकाले नागरिकसँग सहयोग मागेको छ । दैनिक संकलन हुने फोहोरमध्ये पुनःप्रयोगमा जाने र कुहिने फोहोर व्यवस्थापनमा समस्या नभए पनि फ्याँक्नैपर्ने फोहोर व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ ।
फोहोर व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया दुई वर्षअघि सुरु भए पनि हालसम्म संघीय सरकारबाट अनुमति नआएको र व्यास–१ कमलडिहीस्थित निजी जग्गामा अस्थायी व्यवस्थापन गरिएको खाडल भरिसकेकोले वैकल्पिक स्थान खोजी भइरहेको नगरपालिकाले जनाएको छ । यस अवस्थामा केही दिन फोहोर आफैं वा टोल विकास संस्थामार्फत व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
यस्तै, पृथ्वीराजमार्ग पुनर्निर्माणपछि दमौली बजार क्षेत्रमा सवारी पार्किङ अव्यवस्थित बनेको भन्दै नगरपालिकाले त्यसको व्यवस्थापनका लागि पहल थालेको छ । भोर्लेटारतर्फ जाने सवारीको पार्किङ र बाइपास सडकमा ट्याम्पु स्ट्यान्डका कारण समस्या बढेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा ट्राफिक प्रमुख, जनप्रतिनिधि र व्यवसायीबीच वैशाख १५ गते बसेको बैठकले एकतर्फी सवारी सञ्चालन र पार्किङ व्यवस्थापनबारे अध्ययनपछि निर्णय लिने सहमति गरेको छ । हालका लागि व्यास–१ करङ्गकाठस्थित बसपार्कको अधिकतम उपयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले यी विषयमा आवश्यक दीर्घकालीन समाधानका लागि प्रक्रिया अगाडि बढिरहेको जनाउँदै सबै पक्षसँग सहकार्यको अपेक्षा गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker