तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरिएको छ। स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले चितवन मेडिकल कलेजसँग स्वास्थ्य सम्झौता गरेको हो ।
सम्झौता अनुसार आँबुखैरेनी गाउँपालिकाका नागरिकले चितवन मेडिकल कलेजबाट उपलब्ध हुने उपचार सेवामा २० प्रतिशत छुट पाउने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
यस्तै प्रत्येक १५/१५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि पालिकाको माग बमोजिम चितवन मेडिकल कलेजले विशेषज्ञ डा. उपलब्ध गराउने सहमति भएको चुमानले बताए ।
पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउने चुमानले उल्लेख गरे ।
सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले हस्ताक्षर गरेका छन् । उनले भने, “यस सम्झौताले गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास लिएका छौ ।”










