तनहुँमा चितुवा आतंक : आमाको काँखबाटै चितुवाले खोस्न थाल्यो बालबालिका
नारायण खड्का/तनहुँ
तनहुँमा विगत पाँच वर्षदेखि देखिएको मानव वन्यजन्तु बीचको द्वन्द्व अझै अन्त्य हुन सकेको छैन्। द्वन्द्वका कारण ठूलो मात्रमा जनधन र वन्यजन्तु चितुवाको क्षति समेत भएको छ । रोकथामका लागि प्रयास भएपनि चितुवा आतंक रोकिन सकेको छैन । चितुवा आतंक रोकिनुको सट्टा झन बढ्न थालेको छ ।
घरघरमै चितुवा आएर विशेष गरी बालबालिकालाई आक्रमण गर्न थालेको छ । आइतबार राती करिब १२:३० बजेको समयमा घरको बरण्डामा सुतिरहेका आमा छोरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।
तनहुँको व्यास नगरपालिका-११ राम्चे स्थित पातीघारीमा घरको बराण्डमा सुतिरहेका आमाछोरालाई चितुवाले आक्रमण गरेको हो । आमाको काँखमा सुतिरहेको ९ वर्षीय छोरालाई चितुवाले टाउँकोमा पञ्जाले हिर्काएर घाइते बनाएको ४९ वर्षीय आमा दिलमाया गुरुङले बताइन् ।
‘हामी आमा छोरा गर्मी भएर नयाँ बन्दै गरेको घरको बराण्डमा सुतेका थियौं । झुपुक्का निधाएको मात्र के थियौं छोराले मेरो टाउँकोमा केले टोक्यो भन्दै रुन थाल्यो । त्यसपछि के हो भन्दै मैले निद्रामै हात हालउँदा चितुवाले मेरो हातमा समेत टोक्यो’, आमा दिलमायाले भनिन्, ‘त्यसपछि कराउँदै उठेर चितुवालाई भेतालेपछि चितुवा उम्केर भाग्यो । घरको भुइतलामा सुतेका श्रीमान लगायत घरका अन्य सदस्यहरु उठेर बत्ति बालेर कराउँदा चितुवा भागिसकेको थियो।’
घरमा आफ्नै काँखमा च्यापेर सुतेको छोरा समेत चितुवाले खोस्न आएपछि स्थानीय आतंकित भएका छन् । नयाँ बन्दै गरेको घरमा आमाछोरा सुतिरहेका थिए । घरमा झ्यालढोका राख्न नभएका कारण उनिहरु घरकै बराण्डमा सुतेका थिए ।
छोराको बायाँ कानमाथि टाउँकोमा ४ वटा नग्रा गढेको घाउँ छ भने आमाको वायाँ हात र हत्केलामा चितुवाले दाँत गाडेको दमौली अस्पतालका इमर्जेन्सी वार्डका अहेव महेन्द्र गौतमले जानकारी गराए । आमाछोराको अवस्था सामान्य रहेको र दमौली अस्पतालमा प्राथमिक उपचार गरी घर फर्किएका छन् ।
यस्तै, गत बुधबार (भदौ ८ गते) साँझ करिब ५:३० बजेको समयमा घरको आँगनमा खेल्दै गरेका बन्दिपुर गाउँपालिका-१ उपल्लोफाँटका ३ वर्षीय बालक सुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भिर घाइते बनाएको छ ।
आमा घर भित्र खाना बनाउँदै गरेकी र छोरा घरको पिढी र आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरी जंगल तर्फ लगेको थियो । तत्काल आमाले थाहापाएपछि हारगुहार गर्दै खेदेपछि चितुवाले बालक छोडेर भागेको थियो ।
चितुवाले घरको आँगनबाट करिब ५० मिटर माथी जंगल तर्फपुर्याएको छोरालाई २६ वर्षीय आमा लक्ष्मी परियारले ढुंगामुढा गर्दै खोसेकी छन् । चितुवाको आक्रमणबाट गम्भिर घाइते भएका बालकको स्वास्थ्य स्थितिमा अहिले सुधार आएको छ । गम्भिर घाइते सुलभलाई डुम्रे स्थित मोती मेडिकलमा प्राथमिक उपचार पश्चात चितवन मेडिकल कलेज पुर्याइएको छ । कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएको बताए । ‘बालकको घाँटीमा गम्भीर चोट लागेको रहेछ’, उनले भने, ‘श्वासनली र रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण बालकलाई बचाउन सकियो । चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको रहेछ, श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको हो ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर -ठाउँ-ठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो । देव्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ। बच्चालाई सघन उपचारकक्षबाट साधारणकक्षमा सारिएको छ ।
चितुवाको निसानामा बालबालिका
आफ्नै घर आँगनमा खेल्दै गरेका बालबालिका असुरक्षित बन्न थालेका छन् । तनहुँमा मानव र वन्यजन्तु बिच बढेको द्वन्द्वको चपेटामा बालबालिका पर्ने गरेका छन् । बन्यजन्तु चितुवाले घरआँगनमै आई खेल्दै गरेका तथा आमाको काँखमा बसेका बालबालिकालाई समेत आक्रमण गरी आफ्नो सिकार बनाउन थालेको छ ।
बन्दिपुर गाउँपालिका-१ वडीस्वाँरामा गत जेठ ३१ गते मंगलबार दिउँसो करिव ४ः४५ बजेको समयमा चितुवाले आँगनमै खेल्दै गरेका एक बालकलाई आक्रमण गरी प्रेम बगाले मगरका ४ वर्षीय छोरा सुप्रिमलाई चितुवाले आक्रमण गरी ज्यान लियो ।
उनीसंगै खेल्दै गरेकी ६ वर्षीय दिदी अचानक रुन कराउन थालेपछि नजिकै रहेकी आमा दौडदै आउँदा चितुवाले छोरो च्यापेर जंगलतर्फ उक्लदै गरेको देखिन्। तत्काल हारगुहार गरी पिछा गर्दा घरदेखि दुइ सय मिटर माथी छपेली सामुदायिक वनमा बालक मृत अवस्थामा भेटिएका थिए ।
बन्दिपुरको वडा नम्बर १ र ४ क्षेत्रमा चितुवा आतंक बढेको छ । चितुवाकै आक्रमणबाट स्थानीय ८ वर्षीया रियाना थापा घाइते भइन् । सो घटनाको ६ घण्टा बित्न नपाउँदै घरको पिढीमा सुतिरहेका ३५ वर्षीय भीमलाल गरञ्जालाई चितुवाले आक्रमण गरी घाइते बनायो ।
तनहुँमा केही समय रोकिएको चितुवा आतंक पुनः बढेपछि त्रास बढेको बन्दिपुर-१ का सुकबहादुर सुमे मगर बताउँछन् । उनले भने, ‘घरघरमै आएर चितुवाले आक्रमण गर्न थाल्यो । स-साना केटाकेटीलाई मात्रै होइन यो चितुवाले ठुलालाई पनि छाड्दैन ।’ आफ्नो घर र छरछिमेकमा पनि विद्यालय जाने बालबच्चा रहेको बताउँदै उनले भने, ‘विद्यालय जाने समयमा सालघारी हुँदै रोडमा निस्कनु पर्छ, अब त बच्चाहरुलाई एक्लै विद्यालय पठाउन पनि डर हुने भयो ।’
तीन वर्ष अगडि छिमेकी भानु नगरपालिकाका बासिन्दा साँझ नपर्दै घरको झ्यालढोका लगाएर बसेको स्मरण गर्दै उनले भने, ‘तीन दिनभित्र चितुवाले ३ वटा घटना घटायो । चितुवाले यसरी नै आतंक मच्चाउन थाल्यो भने हामीपनि साँझ नपर्दै घरमा थुनिएर बस्नुपर्ने अवस्था नआउला भन्न सकिदैन।’
तनहुँमा पहिलो पटक २०७४ फागुन १ गते भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । त्यसयता जिल्लामा चितुवा आतंक बढ्दो छ। त्यस अगाडि चितुवाले घरपालुवा जनबारलाई आक्रमण गरेपनि मानिसलाई आक्रमण गरेको थाहा नपाएको स्थानीयहरु बताउँछन् । करिव पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट जिल्लामा १२ जना बालबालिकाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन् ।
जिल्लाको भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक बढि थियो । यस क्षेत्रमा केही न्युनिकरण भएपनि अहिले आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतंक देखिन थालेको छ ।
चितुवाको आक्रमणबाट २०७४ यता भानुमा ६, आँबुखैरेनीमा १, बन्दिपुरमा ३ र शुक्लागण्डकीमा २ गरी १२ जना बालबालिकाको ज्यान गएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । तनहुँमा मानव र वन्यजन्तु बीचको द्वन्द्व बढेपछि ३४ वटा चितुवा मृत अवस्थामा भेटिएका छन् भने १९ वटा चितुवा सुरक्षित नियन्त्रणमा लिई अन्यत्र स्थान्तरण गरिएको छ ।
द्वन्द्व न्यूनिकरणको प्रयास
मानव र वन्यजन्तुबिचको द्वन्द्व न्युनिकरणका लागि डिभिजन वन कार्यालय तनहुँ र सम्बन्धित पालिकाको समन्वयमा विभिन्न कामहरु भएपनि प्रभावकारी बन्न सकेका छैनन् । कार्यालयले चितुवा प्रभावित क्षेत्रका सामुदायिक वन लगायतका क्षेत्रमा फलाम तथा परम्परागत काठको खोरमा पासो थापेर चितुवा नियन्त्रणमा लिई अन्यत्र स्थान्तरण गर्ने, वन्यजन्तुलाई वनमै भुलाउन खानेपानीको श्रोत संरक्षण, पोखरी निर्माण फलफूलका बिरुवा रोपण लगायतका कार्य पनि गरेको छ। तर, चितुवा आतंक भने नियन्त्रणमा आउन नसकेको डिभिजन वन अधिकृत कोमलराज काफ्ले बताउँछन् ।
जिल्लामा पुनः चितुवा आंतक देखिन थालेपछि स्थानीबासीलाई बालबालिका एक्लै नछोड्न, घरवरापराका झााडी सरसफाई गर्न र वन जंगलमा घाँसदाउरा गर्न जाँदा समूहमा जान अनुरोध गर्दै आएको प्रमुख काफ्लेले बताए। उनले भने, ‘चितुवा निकै चनाखो प्राणी हो। साँझ र बिहान घरवरापराका झाँडीमा लुकेर सिकार गर्ने गर्छ । त्यसैले घर वरापराका झाँडी सफा राख्न, एक्लै बालबालिका नछोड्न आग्रह गरेका छौं ।’
चितुवाका आहारा प्रजाति मृग, बदेल, खरायो, वनकुखुरा आदि लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिका माथि आक्रमण गर्न थालेको डिभिजन वन अधिकृत काफ्ले बताउँछन् । ‘चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान होइन’, उनले भने, ‘चितुवा आतंक रोक्नका लागि चितुवालाई आवश्यक पर्ने खाना, पानी, चितुवाको आहार प्रजातिका खानेकुराको जंगलमै व्यवस्था गर्दै चितुवाको संरक्षण गर्ने कार्यक्रम अगाडि बढाइएको छ ।’
नेपाल सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । सो बामोजिम पीडित भएका परिवारलाई करिब एक करोड १६ लाख ६३ हजार ३६६ रुपैयाँ बढि राहत रकम वितरण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।










