तनहुँको भानुमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते

तनहुँको भानु नगरपालिका–१ अंधेरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नारायणगढबाट लमजुङको बेसीशहर तर्फ जाँदै गरेको बस डुम्रे बेसीशहर सडकखण्डको भानुमा शुक्रबार साँझ दुर्घटना हुन पुगेको थियो ।
बेसीशहर तर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । दुर्घटनापश्चात् बस चालक फरार रहेको उनले बताए ।
बस सडकबाट बायाँसाइडमा पल्टिएको थियो । दुर्घटनाका घाइतेहरुको नेपाली सेनाको रुरु भैरवदल गण, मनकामना सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय भानुका प्रहरीहरुले उद्धार गरेका थिए ।










