बन्दीपुरमा राष्ट्रिय स्तरको व्यवसायिक बाख्रापालन तालिम

बन्दीपुर : तनहुँको बन्दीपुर स्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा राष्ट्रिय स्तरको व्यवसायिक बाख्रापालन तालिम आइतबारदेखि सुरु भएको छ। माघ २० गते समापन हुने यस तालिममा देशभरका सातै प्रदेशबाट २० जना किसान सहभागी भएका छन् ।
आठ दिने आवासीय तालिम अन्तर्गत किसानहरूलाई प्रयोगात्मक विधिहरू मार्फत बाख्रापालन सम्बन्धी विभिन्न ज्ञान प्रदान गरिँदैछ। तालिममा रोग भ्याक्सिन, दाना व्यवस्थापन, प्रजनन विधि, र खोरको व्यवस्थापनलगायतका विषयमा व्यावहारिक अभ्यास गराइने छ ।
कार्यक्रमको उद्घाटनसत्रमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके कृषकहरूले राम्रो आम्दानी गर्न सक्ने धारणा व्यक्त गरे । उनले नेपाल कृषिप्रधान देश भएकाले यस्तो तालिमले किसानहरूलाई थप प्रोत्साहन गर्ने र बताए । उनले राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर भएकोले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको पनि बताएका छन् ।
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुरका प्रमुख राजु कँडेलले तालिमले किसानहरूलाई नयाँ ज्ञान र सीप प्रदान गरी उनीहरूको व्यवसायलाई अझै प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरे ।










