अनुजालाई दुई वर्षका लागि शैक्षिक सामग्री सहयोग

दमौली : तनहुँको व्यास नगरपालिकाको उदय माध्यमिक विद्यालय मा कक्षा ३ मा अध्ययनरत अनुजा गुरुङलाई दुई वर्षका लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्री सहयोग प्रदान गरिने भएको छ ।
आफ्नो हजुरआमा मनमाया गुरुङसँग बस्दै आएकी अनुजालाई कक्षा ३ र ४ अध्ययन अवधिभर आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराइने सामाजिक अभियान्ता सुदिप गफ्फारले बताए ।
उनका अनुसार विद्यालय अध्ययनका लागि आवश्यक कापी, किताब, झोला, पोसाक तथा अन्य शैक्षिक सामग्री समावेश गरिने छ । आर्थिक तथा पारिवारिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग कार्यक्रम अघि बढाइएको अभियान्ता गफ्फरले बताए ।
यस सहयोगले अनुजाको अध्ययनलाई निरन्तरता दिन थप सहज हुने तथा शिक्षाप्रति उत्साह बढ्ने विश्वास गरिएको छ ।










