बाँझिएको खेतबारीमा सोलर प्रविधिबाट सिंचाई : व्यवसायिक रुपमा आलु र लसुन खेती

नारायण खड्का/भानु

तनहुँको भानु नगरपालिका-८ बगालेफाँटका कृषकहरुले सोलरको माध्यमबाट खेतबारीमा सिंचाई गरेका छन् । सामुहिक रुपमा आलु र लसुनखेती गरेका यहाँका कृषकहरुले आफ्नो खेतबारीसम्म सिंचाई सुविधा नभएपछि सोलरको माध्यमबाट पानी तानेर सिंचाई गरेका हुन्।

सिंचाई सुविधा र युवा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै गएको छ । युवापुस्ताले कृषि क्षेत्रलाई मुख्य पेशाका रुपमा अंगाल्न नसक्दा पनि उर्वर भूमि बाँझिदै गएका छन् ।

खेती नगरिदा बाँझिदै गएको खेतबारीमा सोलर प्रविधिबाट सिंचाईको व्यवस्थापन गरी भानु-८ स्थित बगालेफाँटका ९ जना कृषकले अहिले व्यवसायिक रुपमा आलु र लसुन खेती गरेका छन् ।

गाउँकै ३ जना महिला र ६ जना पुरुष गरी नौ जनाको समूह मिलेर ४० रोपनी क्षेत्रफलमा आलु र १० रोपनी क्षेत्रफलमा लसुन खेती गरेका छन् । उक्त बारीसम्म नजिकैको खोलाबाट सोलरको माध्यमबाट सिंचाई सुविधा पुर्‍याएको नेमुनी कृषक समूहका अध्यक्ष सिताराम बजगाईले बताए ।

‘खेतीदेखि पानीको श्रोत तल भएको हुँदा हिउँदको समयमा सहज रुपमा सिंचाई सुविधा नहुँदा खेतबारी बाँझिएका थिए’, उनले भने, ‘अहिल सोलर प्रविधिको प्रयोग गरी बाँझिएका खेत बारीमा आलु, लसुन, तोरी लगायतका हिउँदे खेती गरेका छौं ।’

निर्वाहमुखी रुपमा खेती गर्दै आएको यहाँका कृषकले अहिले समूहमा आवद्ध भई व्यवसायीक रुपमा हिउँदे तथा बर्खे खेती गर्न थालेका छन् । मुस्किलले दुइ खेती गर्दै आएका यहाूका कृषक अहिले सोलर प्रविधिको सिंचाई सुविधा भएसंगै बाँझिएको खेतबारीमा तीन खेतीसम्म गर्न थालेको अध्यक्ष बजगाइले बताए ।

‘धान खेती गरी बाँझै रहेने खेतमा उनीहरुले अहिले एमयस४२३ प्रजातिको निलो आलु ४० रोपनी क्षेत्रफलमा रोपिएको छ’, उनले भने, ‘हिउँदको समय खेत बाँझै रहन्थ्यो । मकै खेती गर्दा बाँदर लागेरे थन्काउनै पाइदैन थियो ।

अहिले सामुहिक रुपमा खेती गर्दा सिंचाइको सुविधा पनि भएको छ, रेखदेख, गोडमेल जस्ता कार्यमा पनि सहज भएको हुँदा हामीले वर्षा तीन खेतीसम्म गर्न थालेका छौं ।’

उनीहरुले हालसम्म करिव १२ लाख रुपैयाँ खर्च गरी ४ टन आलुको बिउ र २५० केजी लसुन रोपेका छन् । यसबाट करिव ४५ टन आलु र ३ टन लसुन उत्पादन गर्ने लक्ष्य रहेको कृषक फणिन्द्र बगालेले बताए । व्यक्तिगत रुपमा खेती गर्दै आएका बगालेफाँटका कृषकहरु कम मेहनतमा उत्पादन धेरै हुनेभएपछि सामुहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

‘अघिल्ला वर्षहरुमा थोरै क्षेत्रफलमा निर्वाहमुखी गरिएको खेतीलाई अहिले आमदानीसंग जोड्नका लागि व्यवसायिक रुपमा समूह बनाई ठुलो क्षेत्रफलमा गरेका छौं’, बगालेले भने, ‘स्वादेशमा रोजगार छैन भन्दै विदेशियका दाजुभाईको माझ उदाहरण होस भनि बाँझो खेतमा सामुहिक खेती सुरु गरेका हौं ।’

उनले भने, ‘स्थानीय दाजुभाईहरु पनि गाउँघरमा काम नि छैन पैसा नि छैन भन्ने तर, भएको खेतबारी बाँझो छाडी विदेशियका छन् । गरे के सम्भव छैन भन्ने उदाहरणका लागि पनि यो काम सुरु गरेका छौं, अहिले यो कार्य यस क्षेत्रमा उदारणीय बन्दै गएको छ । विभिन्न ठाउँबाट हाम्रो यो खेती अध्ययन अवलोकनका लागि आउने क्रम पनि बढेको छ ।’

यस्तै, हिउँदको समयमा बाँझो रहने करिव १० रोपनी खेत भाँडामा लिएर लसुन खेती गरिएको कृषक विसम्बर सेढाइले बताए । उनले भने, ‘धेरै समयदेखि खेती नगरिएको यो खेत त्यसै बाँझो रहेको थियो । आफ्नै घरछेउछाउका खेतबारी बाँझो राख्नु भन्दा समूहमा मिलेर खेती गर्दा आम्दानी पनि हुने हुँदा सुरु गरेका हौं ।’

उनीहरुले करिव २५० केजी लसून लगाएका छन् र यसबाट ३ टन बराबर उत्पादन गर्ने लक्ष्य राखेका छन् । गाउँका युवा जनशक्तिको मन गाउँमै रोक्न खेती सुरु गरेपनि विभिन्न समस्यबाट गुज्रिन परेको कृषक तारादेवि भट्टराइ बताउँछिन् । ‘सामुहिक रुपमा खेती त सुरु गरियो तर सिंचाईको सुविधा नहुँदा धेरै समस्य भयो’, उनले भनिन्, ‘अहिले अकिस्टा नेपालको सहयोगमा सोलरबाट सिंचाई सुविधा प्राप्त भएको छ ।

घाम नलागेको समयमा सिंचाईमा केही बाँधा उत्पन्न हुने भएपनि यो प्रविधि हाम्रा लागि बरदान सावित भएको छ ।’ नीजि संस्थाको सहयोगमा गरिएको सामुहिक खेतीमा भोलिका दिनमा स्थानीय सरकार तथा सरोकारबाला निकायको साथ सहयोग प्राप्त भए थप व्यवस्थित गरी व्यवसायिक रुपमा अगाडि बढाउन सकिने स्थानीय कृषकहरु बताउँछन् ।

तनहुँको भानु-८ बगालेफाँटका कृषकले सोलर प्रविधिबाट सिंचाई गरी सामुहिक रुपमा गरेको व्यवसायिक लसुन खेती । कृषकले करिब १० रोपनी क्षेत्रफलमा लसुन खेती गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ

यस्तै यहाँका कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउन अकेस्टा नेपाल नामक संस्थाले प्राविधिक सहयोग उपलब्ध गराउँदै गाएको छ । संस्थाले एक जना कृषि प्राविधिक नै खटाएको छ । खेतीमा आवश्यक पर्ने बिउविजन, मल, औषधी, औजार सिंचाईको सुविधा सोलर प्याल लगायतका कृषि सामाग्रीहरु संस्थाले सहयोग गरेको कृषि प्राविधिक सुनिल थापा मगरले बताए ।

‘हामीले यहाँको माटो परीक्षणका लागि पठाएका थियौ, आलु खेतीका लागि उपयुक्त रहेछ’, उनले भने, ‘विशेषता विदेशियका युवाहरुलाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्नका लागि पनि हामीले सामुहिक खेतीतर्फ कृषकहरुलाई आकर्षित गरेका हौं ।’ उत्पादित कृषि उपजको बजारीकरणपश्चात सम्पुर्ण लागत कट्टा गरी भएकोे मुनाफाको ६० प्रतिशत समूहमा आवद्ध कृषकलाई र ४० प्रतिशत संस्थाले लिने गरी सझेदारीमा आलु र लसुन खेती गरेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker