बन्दीपुरको पर्यटनलक्षित बजेट तथा नीति : मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई रु तीन करोड

कृष्ण न्यौपाने

पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो ।

यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई आगामी वर्ष रु डेढ करोड बजेट विनियोजन गरिएको छ । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाललाई गाउँपालिकाले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको हो ।

वडा नं २ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । नयाँ–नयाँ गन्तव्य बनाउने लक्ष्यसहित शुरु गरिएको ग्रेटवाललाई पर्यटकीय हबका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

गत वर्षदेखि निर्माण शुरु गरिएको मिनी ग्रेटवाल निर्माण नसकिदै पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौं, मिनी ग्रेटवाल निर्माणका लागि सङ्घ सरकारले पनि यो वर्ष बजेट सहयोग गरेको छ”, उहाँले भन्नुभयो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि काम अगाडी बढाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । चालु आवमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ । “पर्यटन मन्त्रालयको बजेटबाट शुरुवाती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौं”, उहाँले भन्नुभयो । कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाख भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।

गाउँपालिकाले टुँडिखेलमा शिशाको भ्युटावर निर्माणका लागि पनि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ । उक्त केन्द्रबाट एकपटकमा १५ व्यक्तिले अवलोकन गर्न मिल्नेछ ।

शिशाको दृश्यावलोकन केन्द्र निर्माणका लागि करिब रु तीन करोड भन्दा बढी रकम आवश्यक पर्ने देखिएको छ । “सङ्घ र प्रदेश सरकारलाई पनि योजनाका बारेमा पटक पटक जानकारी गरायौ, चासो कम भयो”, उहाँले भन्नुभयो, “बजेटको सुनिश्चितता हुने बित्तिकै टेण्डर प्रकृयामा जान्छौ ।”

टेण्डर निकाल्नका लागि बजेटको स्रोत सुनिश्चित हुनुपर्ने भएकाले स्रोत जुटाएर मात्रै टेण्डर निकाल्न खोजिएको थापाले बताउनुभयो । “यो योजनाका बारेमा केही प्राविधिक समस्या थियो, त्यो हल भएको छ, विज्ञ समूह गठन गरेर यसको थालनी गर्ने सोच बनाएका छौ”, उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker