बुल्दीखोला सरसफाइ अभियान : “धेरै फोहर संकलन गर्नेलाई पुरस्कार”

दमौली : तनहुँको दमौलीस्थित बुल्दीखोलालाई स्वच्छ र सफा बनाउने उद्देश्यसहित बुल्दीखोलामा सरसफाइ अभियान सञ्चालन गरिएको छ । व्यास नगरपालिका–१ र २ वडाको सिमा भएर बग्ने बुल्दीखोलालाई स्वच्छ बनाउन र सर्वसाधारणलाई सचेतना प्रदान गर्ने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
सरसफाइ अभियान अन्तर्गत बुल्दीखोलामा धेरै फोहर संकलन गर्नेलाई पुरस्कार प्रदान गरिने सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक अभियान्ता सुदीप गफ्फारले जानकारी दिए । आगामी शनिबार हुने सरसफाइ अभियानका क्रममा धेरै फोहर संकलन गर्नेमध्येलाई पुरस्कृत गर्ने उनले जनाए ।
उनका अनुसार सरसफाईका क्रममा प्रथम हुनेलाई दश हजार रुपैयाँ नगद र दोस्रो हुनेलाई पाँच हजार रुपैयाँ नगद प्रदान गरिने छ । उनले भने, ‘यो केबल फोहर संकलन गर्ने र मनोरञ्जनमात्रै होइन। हाम्रो मुख्य उद्देश्य भनेको जनचेतना जगाउनु हो ।’ विगतको वर्षमा आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउँदै उनले अहिले त्यसैको निरन्तरता भएको उल्लेख गर्दै भने, ‘वर्षमा एकदिन प्रतियोगिता जस्तो गरी आयोजना भएपनि हामी नियमित मासिक रुपमा बुल्दीखोलामा सरसफाइ गरिरहेका छौ ।’
बुल्दी खोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित वृहत सरसफाई अभियान सञ्चालन भइरहेको गफ्फारले बताए । उनले भने, ‘भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोला प्रदूष्ति भएको अवस्था देखेपछि हामी निरन्तर सरसफाइ अभियानमा जोडिएका छौ ।’
अभियानका लागि हरेक टोल र क्लवसँग समन्वय गरिएको बताउँदै उनले एउटा टोलीमा १५ जना सहभागी हुन सक्ने जानकारी दिए । उनले भने, ‘सरसफाई अभियानमा टोल, विद्यालय, क्याम्पस, युवा क्लवसँग सहकार्य गर्नेछु । सरसफाई अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको छ ।’
यस्तै सरसफाइ अभियानका दिनको भिडिओहरु खिचेर पठाउनेहरुमध्ये धेरै पटक हेरिने भिडिओमध्ये प्रथमलाई पाँच हजार रुपैयाँ र द्वितीयलाई दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। गत वर्ष आयोजित कार्यक्रममा सात हजार दुई सय सात किलो फोहर संकलन भएको उनले जनाए ।










