विश्व वातावरण दिवसका अवसरमा भानुमा वृक्षारोपण

भानु : “प्लाष्टिक प्रदुषण न्यूनिकरण, हाम्रो दायित्व” भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी आज विश्व वातावरण दिवस मनाइदै छ । यस दिवसका अवसरमा तनहुँको भानु नगरपालिकाले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु–४, पुरनडिहीमा वृक्षारोपण गरेको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष राम कुमार श्रेष्ठ नेतृत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै जलवायु परिवर्तनको असर बढ्दै गईरहेकाले वृक्षारोपण अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा उपप्रमुख उमा गोतामेले अबका दिनमा वृक्षारोपण अपरिहार्य रहेको बताउँदै आफ्ना बालबालिकालाई वृक्षारोपण गर्न प्रेरित गर्नुपर्नेमा जोड दिइन् ।
वृक्षारोपण कार्यक्रममा ११ जातका करिब २ सय बोटबिरुवाहरू रोपिएको थियो । आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई हरियाली र पर्यावरणीय दृष्टिले समृद्ध बनाउन वृक्षारोपण कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

उक्त कार्यक्रममा शशस्त्र प्रहरी बल २३ नं. गण मनकामना भानुका गणपति शसस्त्र प्रहरी उपरीक्षक अशोक कुमार लम्साल, डिभिजन वन अधिकृत शरद कुमार अधिकारी, जिल्ला वन अधिकृतहरु नविन विक, राज कुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, नगरपालिका कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी, टोल विकास संस्थाका सदस्यहरू र स्थानीयबासीहरूको सहभागिता रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी अधिकृत कृपाहरि लौडारीले जानकारी गराए ।










