तनहुँको म्याग्दे गाउँपालिकाको वडा नं. ४ को सेवा आफ्नै भवनबाट
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाको वडा नं. ४ को सेवा आफ्नै नवनिर्मित भवनबाट प्रवाह गरिएको छ । नवनिर्मित भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष मायादेवी रानाले सोमबार उद्घाटन गरी सेवा शुभारम्भ गरेकी हुन् ।
भवनको उद्घाटन गर्दै अध्यक्ष रानाले सबैलाई पायक पर्ने गरी वडा कार्यलय भवन निर्माण भएको बताउँदै उनले डेराबाट घरमा सरेको जस्तो खुसिको अनुभव भएको बताइन् । गाउँपालिकाका सबै वडा आफ्नै कार्यकालमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको तर, कोभिड तथा निर्माण व्यवसायीका कारण वडा नं. ६ र ७ भवन निर्माण सम्पन्न हुन नसकेको बताइन्।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्रका आवश्यक संरचना बनाउन जग्गा खोज्ने क्रममा अन्य ठाउँमा भन्दा यो ठाउँ उपयुक्त लागेको बताए । १० शैयाको हस्पिटल, गाउँपालिकाको प्रशासनिक भवन यहि ४ नम्बर वडामा बन्नु यसैपनि वडाबासिका लागि खुसीको कुरा भएको भन्दै उनले अहिले वडाको नयाँ भवन निर्माण सम्पन्नसँगै उद्घाटन भइ सञ्चालनमा आउनु अर्को सुखद पक्ष भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ को दुबै बर्ष पुर्वाधार बर्षको रूपमा लिएको बताउँदै उनले ८७ लाख ५७ हजार रुपैयाँ मध्ये ४५ लाख ३० हजार ९२४ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको जानकारी गराए ।










